स्ववियु निर्वाचनको चहलपहल
सुर्खेत, १५ फागुन ।
झण्डै ८ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन नजिकिँदै गर्दा देशभरका क्याम्पसहरूमा चुनावी चहल–पहल बढेको छ । ६ नम्बर प्रदेशमा सबैभन्दा ठूलो त्रिविको आंगिक क्याम्पसका रूपमा चिनिने सुर्खेत क्याम्पस शिक्षामा पनि विद्यार्थी नेताहरू भोट फकाउन व्यस्त रहेका छन् ।
विद्यार्थी नेताहरू अहिले आफ्नो पक्षमा चुनावी परिणाम ल्याउन विद्यार्थी भेटघाटदेखि घरदैलो हुँदै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहेका छन् । चुनावी प्रचारका क्रममा विद्यार्थी नेताहरूका पनि आ–आफ्नै दाबी र अडानहरू रहेको छ । पहिलो पटक स्ववियु निर्वाचनमा आफ्नो संगठनले भाग लिन लागेकोले निकै उत्साहका साथ सचिवमा उम्मेदवारी दर्ता गरेका भएका वैद्य माओवादी निकट अखिल क्रान्तिकारीका खड्क बुढा स्ववियु निर्वाचनले उत्साहित भएको बताउँछन् । अहिले देशका क्याम्पसहरूमा आफ्नो विद्यार्थी संगठनको दबदबा बढ्दै गएको नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारीको पनि छ । अरु विद्यार्थी संगठनहरू मत किनेर जित्ने गरेको आरोप लगाउँदै यो पटकको चुनावमा आफ्नो संगठनले ५० प्रतिशत जीत हासिल गरिसकेको दाबी गर्छन् सोही संगठनबाट अध्यक्षको उम्मेदवार बनेका धनबहादुर नेपाली ।
सुर्खेत क्याम्पस शिक्षामा करिब दुई हजार सात सय जना विद्यार्थी नियमित अध्ययनरत रहे पनि समयमै फारम नभर्दा एक हजार आठ सय ५७ जनाले मात्र निर्वाचनमा भोट खसाल्न पाउने भएका छन् । एमाले निकट अनेरास्ववियु पनि विगतको साख जोगाउन सक्रिय भएर चुनावी अभियानमा लागेको छ । देशैभरका विद्यार्थीका साझा एजेण्डा आफ्नो विद्यार्थी संगठनले सम्बोधन गर्ने भएकाले एक नम्बर संगठन बन्ने दाबी गर्छन् अध्यक्षका उम्मेदवार चक्र
शाही । निर्वाचनको मिति नजिकिएसँगै कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ पनि जितेको दाबीसहित चुनावमा होमिएको छ । विगत आठ वर्षको जस्तो अवस्था नरहेको भन्दै नेविसंघकै पक्षमा चुनावी परिणाम आउने उसको दाबी गर्छन् अध्यक्षका उम्मेदवार राजकुमार सिंजापति । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले पनि चुनावी परिणाम आफ्नो पक्षमा आउने दाबी गर्दै आएको छ । अध्यक्षका उम्मेदवार महेश जिसी यस पटक सुर्खेत क्याम्पस शिक्षाको परिणाम आफ्नो पक्षमा आउने दाबी गर्छन् ।
निर्वाचनको कडा आचारसंहिता बनेकोले यसपटक क्याम्पसहरूमा ठूला–ठूला साउण्ड सिस्टम बजेको भने सुनिदैन । तर विद्यार्थीहरूले चुनावी प्रचारका लागि सामाजिक सञ्जाल फेसबुकको पनि उत्तिकै उपयोग गरेका छन् ।
साझा बिसौनी ।