‘दुध र घ्यू चोरेर खान्थें’

जनज्योति माध्यमिक विद्यालय कुनाथरी–४ बड्डिचौरका प्रधानाध्यापक हुन्, नारायणप्रसाद सिग्देल । तनहुँमा जन्मिएर सुर्खेतलाई कर्मथलो बनाइ शैक्षिक उन्नयनमा अहोरात्र खटिएका उनी उदाहरणीय शिक्षक पनि हुन् । अब्बल शिक्षक र कुशल प्रधानाध्यापकको पहिचान बनाएका सिग्देल वि.सं. २०२४ पुस २१ गते बुबा गुरुप्रसाद सिग्देल र आमा अम्बिका सिग्देलको जेठो छोराको रूपमा जन्मिएका हुन् । सिग्देलले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटेका छन् ः

मेरो जन्म तनहुको किउँ हुक्का गाविसमा भएको हो । बुबाआमाको जेठो सन्तानको रूपमा जन्मेको हुँ । हाम्रो परिवार ठूलो थियो । मेरो बुबाको ११ भाइ हुनुहुन्थ्यो । धेरै भाइबहिनी थियौं । गाई गोठालो, मेलापात जानुपथ्र्यो । बिहान साँझ सधैं मैले धाराबाट पानी बोक्नुपथ्र्यो । ठूलो भाँडोमा पानी बोक्न सक्दैन भनेर बुबाले सानो माटोको घैंटो ल्याइदिनु भएको थियो । केटाकेटीमा आफूलाई कसरी सजिलो हुन्छ भन्ने सोचहरू आउने रहेछन् । सोचाइमा कति तागत हुन्छ भन्ने कुरा मैले पानी बोक्नको झन्झटले घैंटो फुटाल्ने सोंच गराएर पानी बोक्नबाट मुक्त भएको थिएँ । घैंटो फुटेपछि पानी बोक्नु पर्दैन भनेर टाउँकोमा राखेको पानीको घैंटो फुटालें । एक जना दिदीसँग घैंटो टाउँकोमा राखेर उभिएर कुरा गरें । कुरा गर्दागर्दै टाउकोमा भएको घैंटो फुट्यो । पछि बुबाआमाले गाली त गर्नुभएको थियो दिदीलाई दोषी देखाएर आफु उम्किएँ । त्यस दिनपछि धेरै दिनसम्म पानी बोक्नु परेन् ।
सानो छँदा दुध र घ्यू चोरेर खाएको याद आउँछ । मेरो मामा र म घ्यू चोरेर खान्थौं । आमाले नौनी डल्ला बनाएर राख्नु हुन्थ्यो । हामीले नौनीको डल्ला चोरेर पाइन्टको पकेटमा राखेर मेला जान्थ्यौं । नौनी कम देखेपछि एक दिन आमाले थाहा पाएर गाली गर्नुभयो । आमाले दुध तताएर भाडामा नै राख्नुहुन्थ्यो । दुधमा तर लागेको हुने । भाडाले हालेर खाउँ भने आमाले थाहा पाइहाल्ने । हामीले गहुँको नललाई नाली बनाएर दुध मुखले तानेर खान्थ्यौं । जसले गर्दा तर बिग्रिन्थेन् । त्यसकारण आमाले दुध चोरेर खाएको थाहा पाउनुभएन् । चोर्ने काम त्यतिमै सीमित रहेन । गाउँमा एक हजुरआमा हुनुहुन्थ्यो । उहाँको बारीमा फलेको सुन्तला चोरेर खान्थ्यौ । म हजुरआमालाई गएर झुलाउँथे, साथीहरू सुन्तला चोर्न जान्थे । साथीहरूले सुन्तला चोरी नसक्ने बेलासम्म म हजुरआमासंग ढोकामा उभिएर कुरा गथेंँ । ती दिन सम्झना अहिले पनि रमाइलो लाग्छ, जब रातमा जुन उदाउँथ्यो हामी घरबाहिर निस्केर लुकामारी खेल्थ्यौं ।
आमासँग मामाको घर जान रमाइलो हुन्थ्यो । बाटोमा सुन्तला खाँदै जान्थ्यों । त्यो बेला २५ पैसाको २५ वटा दाना सुन्तला किन्न पाइन्थ्यो । २५ पैसा दिएपछि रुखमा चढेर सुन्तला टिप्थें । दुई÷तीन दाना बढी खाए पनि केही हुन्नथ्यो । हजुरबुबाले मिठाइ, चिनी राख्नुहुन्थ्यो । मलाई मिठाइ चिनी खान मनपर्ने । हजुरबुबाले खान दिनुहुन्थ्यो ।
विद्यालय जान आधा घण्टा जति लाग्थ्यो । बाटोमा चिप्लेटी खेलेको याद आउँछ । त्यसबेलामा अहिलेको जस्तो कापीकलम थिएन् । खरीले पाटीमा लेख्नुपथ्र्यो । मैले एक जना दिदीले गर्दा पढ्न पाएको हुँ । घरको काम गरेर पढ्न जानुपथ्र्यो । सधैं गोठोलो पनि जानुपर्ने । दिदीले गाईभैंसी हेरिदिनु हुन्थ्यों । म पढ्न जान्थे । वि.सं. २०३३ सालतिरको कुरा हो त्यसबेलामा तीन कक्षामा जिल्लास्तरीय परीक्षा थियो । परीक्षा दिन जानको लागि मैले डेढ घण्टा हिँड्नुपयो । आमाले यस साल सानै छस् अर्को वर्ष जालास भन्नुभयो । मैले पनि होला भनेर गइन । फेरि पनि ३ कक्षामा पढें । अर्को वर्षदेखि जिल्लास्तरीय परीक्षा पाँचमा गएर हुनेभयो । आमालाई छोरालाई पढाउनुपर्छ भन्ने चेतना थियो । बुबाहरूले बर्दियाको गोला गाविसमा जग्गा किन्नु भएको थियो । बर्दियामा अंकल बस्नुहुन्थ्यो । बुबाले छोरालाई पढाउनु भनेर अंकलसँग बर्दिया पठाउनुभयो । चार दिन लगाएर इन्डियाको बाटो भएर बर्दिया आइपुगियो । बुबाआमाको काख छोडेर आउँदा नरमाइलो लाग्यो । अंकल शिक्षक हुनुहुन्थ्यो । पढाइ बाहेक अरु समय राजापुर धान बेच्न जाने त्यसको पैसाले मट्टितेल किनेर ल्याउँथ्यौ । घाँस काट्ने गथ्र्यौं । बर्दिया आएपछि पढ्न आएको हुँ भन्ने सोच आउँथ्यो अनि पढ्न पर्छ भन्ने लाग्थ्यो ।
म सानैदेखि अन्याय सहन सक्दैनथें । कक्षामा साथीहरूको लिडर थिएँ । मेरो पढाइ राम्रो थियो । एक दिन पहिलो घन्टी सकिँदा पनि सर पढाउन आउनु भएन् । दोस्रो घण्टी लाग्दा अर्को सर पनि आउनु भएन् । त्यसपछि मैले सबै साथीहरूलाई बोलाएर घर जाने निर्णय गरें । शिक्षकले पढाउन नआए पनि हामी विद्यार्थी कक्षा कोठामा के गरेर बस्ने भनेर लाइन लागेर सबै साथीहरू घर गयौं । हामी घर गएपछि शिक्षकहरूको, विद्यालय व्यवस्थापन समितिको बैठक बस्यो । मलाई विद्यालयबाट निकाल्ने कुरा भएछ । पछि मेरो अंकल शिक्षक भएको कारण अंकलले कुरा मिलाउनु भएछ । साँझ घरमा पनि सबै परिवारको बैठक बस्यो ।
गोलामा कक्षा ८ सम्म पढेपछि अंकलले मलाई बग्नाह पढाउने सोच बनाउनु भएछ । त्यहाँ दिदी भिनाजुको घर थियो । अंकलले मलाई पढाउने जिम्मा लगेको कारण राम्रो ठाउँमा पढाउनुपर्छ भन्ने सोचेर होला उहाँले मलाई पढ्नको लागि बग्नाह पठाउनुभयो । जुन दिन म पढ्ने भनेर दिदी भिनाजुकोमा गएँ त्यसै दिन घरमा बुबा बित्नुभएछ । तनहुँबाट बर्दिया आउन चार दिन लाग्ने भएको कारण बुबा बितेको मैले नौ दिनपछि मात्र थाहा पाएँ । भर्खर स्कुल गएको थिएँ । नयाँ स्कुल । नयाँ उमंग थियो । चौथो दिन मलाई घर लैजानको लागि तनहुबाट बर्दिया आउँनुभयो । घरमा आमा बिरामी हुनुहुन्छ जान्छस् ? भनेर सोध्नुभयो । घर जाने भनेपछि म खुशी भएँ । उहाँहरू आँखाको इसाराले कुरा गर्नुहुन्थ्यो । म सानैदेखि चतुर थिए । भाव बुझ्थेँ । घरमा केही त भएको छ जस्तो लाग्थ्यो । चार दिन लगाएर हामी तनहुँ पुग्यौं । घर पुग्ने बेलामा बुबा बित्नुभएको नौ दिन भइसकेको थियो । घर नजिकको डाँडामा पुग्नेबेलामा आराम गर्न बस्यौं । झोलामा दुई वटा स्याउका दाना
थिए । एउटा स्याउ झोलाबाट तान्दा हातबाट खसेर धेरै तल गयौं । ल्याउन जाने सम्भव नै भएन् । बाँकी रहेको एउटा स्याउ मैले भाग लगाएँ तर बुबालाई भाग लगाइएन । घरमा मान्छे धेरै थिए । घर पुगेपछि बल्ल बुबा बित्नुभएको थाहा पाएँ । माइलो भाइ क्रिया बसेको थियो । मलाई देखेर सबै रुन थाल्नुभयो । मैले आमा, भाइहरूलाई सम्झाएँ । १ महिना घरमा बसेर बर्दिया आएँ । भाइहरूलाई पनि बर्दिया नै ल्याएर आएँ । आमा एक वर्षपछि बर्दिया आउनुभयो ।
बुबा बितेपछि जिम्मेवारी बढ्यौं । मैले ९ र १० कक्षा पढ्ने बेलामा आफै खर्च जुटाएर पढ्ने गर्थें । अन्टीले १० रूपैयाँ दिनुभएको थियो । त्यसबाट कुखुराको माउँ किनें । त्यसैबाट चल्ला बनाएर बेच्ने गर्थें र कहिले अण्डा बेच्थें । खर्च गरेको डायरीमा टिप्ने गर्थें । म सानैदेखि सहयोगी स्वभावको थिएँ । थारु गाउँमा बच्चाहरूलाई सहयोग गर्थें । पढाइ दिन्थें । गाउँमा धेरै पढेलेखेका हुन्थेनन् । चिठ्ठीपत्रहरू पढेर सुनाउने गर्थें । हजुरआमाहरूलाई माहाभारत, रामायण, श्रीस्वस्थानी ब्रतकथा लगायत धार्मिक ग्रन्थ पढेर सुनाउँथे । पीडा, संघर्ष र खुशी आत्मसाथ गरेर बित्यो मेरो बालापन ।

प्रस्तुतीः मुना हमाल

प्रकाशित मितिः   १६ फाल्गुन २०७३, सोमबार १६:११