उब्जनी हुँदैन, कालापहाडकै भर

भट्टेघारी (सुर्खेत), १५ फागुन ।
कुनाथरी–९ भट्टेघारीका चक्रबहादुर सुनारको परिवार नौ जनाको छ । आठ कठ्ठा जमिनको उब्जनीले वर्षभरी पुग्दैन । हरेक वर्ष खाद्यान्न अभाव झेल्नु परिरहेको छ । छोराहरू रोजगारीका लागि कालापहाड (भारत) गएका छन्, उनी गाउँमै मजदुरी गर्छन् ।
भट्टेघारीकै डिलकुमारी शाहीका श्रीमान् पनि रोजगारीका लागि भारत गएका छन् । तीन जना बालबच्चासहितको परिवार पाल्न डिलकुमारीलाई हम्मे–हम्मे परिरहेको छ । श्रीमान्ले पठाइदिएको पैसाले खाद्यान्न किनेर जीविकोपार्जन गर्नुपरिरहेको उनले बताइन् । भन्छिन्, ‘बारीमा उब्जनी हुँदैन, श्रीमान्ले कालापहाड गएर कमाएको पैसाले घर चलेको छ ।’ बारीमा उब्जनी कम हुँदा चक्रबहादुर र डिलकुमारीको जस्तै भट्टेघारीका दुई सय घरपरिवारले खाद्यान्न अभावको समस्या झेलिरहेका छन् । उनीहरूको आम्दानीको स्रोत भनेकै कालापहाड हो । यहाँका प्रायः सबै घरका पुरुषहरू मजदुरीका लागि कालापहाड गएका छन् ।
वि.सं. २०६४ सालमा बाढीले घरखेत बगाएपछि तरंगा–६ सिम्लेपानीबाट सिङ्गो बस्ती नै विस्थापित भयो । उक्त वस्तीलाई कुनाथरी–९ भट्टेघारीमा राखियो । परिवार संख्याको आधारमा जग्गा वितरण गरिएको हो । तर उक्त जग्गामा उब्जनी अत्यन्तै न्यून हुने गरेको छ । भट्टेघारीमा वर्षमा एउटा बाली मात्र लगाउने गरिएको छ । वर्षामा धान रोपिन्छ, हिउँदे खेती हुँदैन । वर्षको एक बालीले तीन महिना पनि खान पुग्दैन । जसले गर्दा जीविकोपार्जनका लागि भारत जानुको विकल्प नभएको उनीहरू बताउँछन् ।
भट्टेघारीमा सिँचाइको सुविधा छैन । वर्षाको आकाशेपानीले धान रोप्ने गरिएको छ । धानबाहेक न गहुँ हुन्छ न मकै । उब्जनी नहुँदा भोकमरीले सताउने गरेको चक्रबहादुर सुनार बताउँछन् । ‘जग्गा पनि थोरै छ, झन् उब्जनी नै हुँदैन’ उनले भने, ‘छोराहरूले इण्डियाबाट कमाएर नपठाए त दुई छाक टार्न पनि मुस्किल पर्छ ।’ सिँचाइ सुविधा नभएकै कारण खाद्यान्न उत्पादन कम हुने भन्दै सुनारले सिँचाइ कुला निर्माण गरिदिन सम्बन्धित निकायसँग माग गरेका
छन् । ‘सिँचाइ हुने हो भने यहीको उब्जनीले वर्षभरी पुग्ने थियो, भारत गएर हाडछाला घोट्न त पर्थेन’ उनले भने ।
भट्टेघारीमा अहिले करिब दुई सय परिवार छन् । जसमा केही विस्थापित भइ आएका हुन् भने केही पछि बसाइँ सरेर आएका छन् । वर्षौपछि खानेपानीको धारा पुगे पनि सिँचाइ कुलो नहुँदा खाद्यान्न समस्या झेल्नु परेको डिलकुमारी शाही बताउँछिन् । उनले आम्दानीको अरु कुनै विकल्प नभएपछि गाउँका अधिकांश पुरुषहरू मजदुरी गर्न भारत जाने गरेको बताइन् । ‘यहाँका सबैजसो पुरुषहरू पैसा कमाउन इण्डिया गएका छन्, गाउँमा महिला र बालबालिका मात्रै छन्’ शाहीले भनिन्, ‘सिँचाइ सुविधा भइदिए आफ्नै जमिनको उब्जनीले वर्षभरी खान पुग्नेथियो ।’
भारतका विभिन्न स्थानमा गएर कठिन परिश्रम गरी जीविकोपार्जन गरिरहेको भट्टेघारीका भोजेन्द्र हमालले बताए । उनले दुई छाक टार्नकै लागि भारत पुगेर रगत पसिना बगाउनुपरेको अनुभव सुनाए । उनी भन्छन्, ‘बर्खाको भेल छोपेर रोपेको धानले ६ महिना पनि खान पुग्दैन, कालापहाड नगइ त भोकै मरिन्छ ।’ भट्टेघारीमा सिँचाइको लागि कुलो निर्माणको काम सुरु भए पनि सम्पन्न भइसकेको छैन । उक्त कुल निर्माण भएर नियमित सिँचाइ सुविधा भएमा आफ्नै बारीको उब्जनीले जीविकोपार्जन गर्न सकिने विश्वासमा छन् यहाँका नागरिकहरू ।