सुर्खेतबाट महाअभियान सुरु हुँदै, बालविवाह नियन्त्रणको प्रयास

सुर्खेत, १४ फागुन ।
सुर्खेतलाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान पुनः सुरु हुने भएको छ । बालविवाहरहित समाज निर्माण गर्ने महाअभियान सुर्खेतबाट सुरु हुँदैछ । आज (आइतवार) उक्त अभियानको उद्घाटन हुँदैछ ।
दक्षिण एशियामै बालविवाह हुने मुलुकहरूमध्ये नेपाल सातौं स्थानमा रहेकोले बालविवाहविरुद्ध देशभरी नै महाअभियान सञ्चालन गरिने भएको छ । अन्तर्राष्ट्रिय लाइफ प्रशिक्षक नरबहादुर कार्कीले थालेको उक्त महाअभियान सुर्खेतबाट आइतवारदेखि सुरु भएको हो । जिल्ला बालकल्याण समिति सुर्खेतको आयोजनामा हुने अभियानको मुख्य प्रशिक्षक कार्की नै हुन् । कार्कीले बालविवाह विरुद्धको सचेतना अभियान सुरु गर्ने थाहा पाएपछि आफूहरूले सुर्खेतबाट नै सुरुवातको लागि आग्रह गरेको जिल्ला बालकल्याण समितिले जनाएको छ ।
केही समयअघि नै सुर्खेत नेपालमै बालविवाह हुने जिल्लाहरूमध्ये छैठौं÷सातौंसम्म पर्ने तथ्यांक सार्वजनिक गरेका थिए । यसरी ग्रामीण क्षेत्रमा बालविवाह बढ्दै जाने र नियन्त्रण गर्ने सरकारी नियकासम्म जानकारी नहुने भएकोले सचेतनाको अभियानबाट नियन्त्रण गरिने बालकल्याण समितिका बाल संरक्षण अधिकृत प्रेमप्रसाद आचार्यले बताए । ‘हामीलाई जिल्लाको बालविवाहको आधिकारिक तथ्यांक नआए पनि सुर्खेतमा बालविवाह निकै हुने गरेको पाइएको छ,’ उनले भने, ‘अब दण्ड जरिवानाका साथै स्थानीय समुदायका मानिसहरूलाई प्रशिक्षण दिएर सचेतना अभियानमा परिचालन गर्ने उद्देश्य रहेको छ ।’
कार्कीले देशभरी नै अभियान सुरु गर्न लागेकोले बालविवाहको दर निकै उच्च रहेको सुर्खेतबाट नै सुरु गर्न आफूहरूले आग्रह गरेकोले उक्त महाअभियान आजदेखि वीरेन्द्रनगरमा सुरु हुने आचार्यले उल्लेख गरे । ‘प्रशिक्षक कार्की सरले देशभरी अभियान थालनी गर्ने हामीले जानकारी पायौं,’ उनले भने, ‘यो महाअभियान प्रभावकारी बनाउन हामीले सुर्खेतबाट नै सुरु गर्ने लक्ष्य अनुसार आजदेखि सुरु हुँदैछ ।’ आइतवार र सोमवार हुने दुई दिने प्रशिक्षणमा सुर्खेत जिल्लाभरीका विभिन्न गाविस र नगरपालिकाबाट एक हजार तीन सय प्रशिक्षार्थीहरूको सहभागिता हुने बताए । प्रशिक्षणमा कार्कीले बालविवाह गर्दा मानसिक, शारीरिक र अन्य समस्याहरूका बारेमा जानकारी गराउने छन् । साथै पशिक्षार्थीहरूले बालविवाह न्यूनीकरणका लागि आम समुदाय, नागरिकले गर्नुपर्ने कर्तव्य, जिम्मेवारी बोध गराउने बताइएको छ ।
वीरेन्द्रनगरको जन माध्यमिक विद्यालयमा हुने प्रशिक्षणमा प्रत्येक गाविसबाट २० जना नागरिकको सहभागिता रहने स्वयम्सेवक तथा सालकोट गाविसका गाविस सचिव तिलकराम अधिकारीले बताए । गाविसका वडा नागरिक मञ्चका पदाधिकारी, राजनीतिक दलका स्थानीय प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रहरी र सरकारी तथा गैरसरकारी निकायका कर्मचारीहरूको सहभागिता रहने उनको भनाइ छ ।
सहभागीहरूलाई प्रशिक्षण पश्चात् बालविवाह न्यूनीकरणका लागि आ–आफ्नो ठाउँबाट सचेतना अभियानमा सहयोग पु¥याउने प्रतिबद्धता जनाउने छन् । साथै प्रशिक्षणमा पाएको ज्ञान स्थानीय स्तरमा विभिन्न अभियान, कार्यक्रम आयोजना गर्नुका साथै बालविवाहित जोडीलाई सानै उमेरमा विवाह गर्दा आइपर्ने समस्याका बारेमा जनचेतना फैलाउनेछ ।
महाअभियानका लागि हुने प्रशिक्षण कार्यक्रमको व्यवस्थापन गर्न जिल्ला विकास समितिबाट दुई लाख, वीरेन्द्रनगर नगरपालिकाबाट एक लाख, भेरीगंगा नगरपालिका, सुभाघाट गंगामाला नगरपालिका र महिला तथा बालबालिका कार्यालय सुर्खेतबाट ५०÷५० हजार रूपैयाँ आर्थिक सहयोग रहेको बताइएको छ । कार्यक्रममा सहभागी हुन आउनेलाई प्रत्येक गाविस तथा नगरपालिकाले आउने जाने खर्च व्यहोर्ने भएका
छन् । प्रशिक्षक कार्कीले सुर्खेत जिल्लामा कार्यक्रम सम्पन्न गरेपछि देशभरका जिल्लाहरूमा अभियानलाई अगाडि बढाइने छ ।
नेपालमै सबैभन्दा धेरै बालविवाह हुने जिल्लाको सूचीमा अग्रस्थानमा रहेको सुर्खेत जिल्लालाई बालविवाहमुक्त जिल्ला बनाउनका लागि महाअभियान थालिएको हो । बालविवाहको दर नियन्त्रण गर्न नसकिने अवस्थामा रहेको भन्दै बालविवाह नियन्त्रणका लागि बालविवाहविरुद्धको सचेतना महाअभियान आइतवारदेखि सुर्खेतमा सुरु हुँदैछ ।

प्रकाशित मितिः   १५ फाल्गुन २०७३, आईतवार १७:०८