एमालेको जिल्ला अधिवेशन फागुनमा

सुर्खेत: नेकपा(एमाले) सुर्खेतको अधिवेशन आगामी फागुनमा हुने भएको छ । शनिवार वीरेन्द्रनगरमा बसेको जिल्ला कमिटीको बैठकले फागुन ४, ५ र ६ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

आइतवार पत्रकार सम्मेलनको आयोजना गरेर दिइएको जानकारी अनुसार अधिवेशन सफल बनाउन विभिन्न समिति समेत गठन गरेर संयोजक तोकिएको छ । राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समितिको संयोजकमा अध्यक्ष अमृतबहादुर बिसी छन् भने प्रतिनिधि व्यवस्थान समितिको संयोजकमा उपाध्यक्ष कुलमणि देवकोटा रहेका छन् ।

यसबाहेक प्रचार प्रसार समिति, मञ्च व्यवस्थापन समिति, स्वयम्सेवक परिचालन समिति, अतिथि सत्कारलगायतका समिति पनि गठन गरिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए ।

अधिवेशनका लागि माघ २७ गते प्रतिनिधि छनोट हुनेछन् । वडास्तरका भेलादेखि पालिकास्तरीय भेला र जिल्ला कमिटी बैठकलगायतबाट प्रतिनिधिहरूको टुँगो लगाइने जनाइएको छ । एमालेको आठौँ जिल्ला अधिवेशन २०७८ पुसमा भएको थियो ।

प्रकाशित मितिः   २३ पुष २०८०, सोमबार १२:२४