प्रेमदेवको कलालाई सलाम (कला)
समय अनि बिघ्न चिसो माघ महिनाको थियो । साँझपख सुर्खेत फाँटको वातावरण चिसो सिरेटोयुक्त थियो । यहाँसम्मकी गरम कपडा टोपी अनि जुत्ता मोजासँग सजिदा पनि चिसोको महसुस भइरहेको थियो । यसै पनि माघ महिना धार्मिक महिना हो भन्ने गरेको पनि पाइन्छ । सायद त्यसैले पनि होला, वर्षभरी आउने धार्मिक पर्वहरू माघ महिनामा नै हुने गर्दछन् र आजापूजा भजन किर्तनहरू पनि माघ महिनामै बढी हुन्छन् । अझ विशेष गरी माघ महिना श्रीस्वस्थानी वर्त कथाको लागि निकै चर्चित छ ।
यस्तैमा सुर्खेत उपत्यकाभित्रको वीरेन्द्रनगर १४ नयाँ गाउँ टोलमा माघ ११ गते विष्णु बिसीले आफ्नो नवनिर्मित घरको समापन तथा व्यवस्थापनको शिलशिलामा पूजाको आयोजना गर्नुभएको थियो । यो परम्परा नेपालमा सदियौंदेखि चल्दै आएको छ । नेपाल देवभूमि भनेर विश्वसामु चिनिएको कारण कुनै पनि शुभ घडी शुभ साइत आदिमा ईश्वरको आरधाना तथा पूजाअर्चना गरी समापन गर्ने यहाँको प्रमुख संस्कार मानिन्छ । दिनभरी पूजा चलिरहेको थियो । मानिसहरूको पनि निकै चहलपहल देखिन्थ्यो । मेरो घरबाट पनि आमा दाजुहरू त्यहाँ सामेल हुनुहुन्थ्यो । मैले योजना बनाएँ, दिनभरी मेरो पसलमा ड्यूटी दिने अनि साँझ भजनकिर्तनमा सामेल हुने । त्यसैले दिउँसो पूजामा म सामेल हुन सकिनँ । सामेल नहुनुको अर्को कारण मैले भजनकिर्तनलाई नै केन्द्रविन्दु बनाएको थिएँ ।
अनि साँझ म आफ्नो किराना पसल बन्द गरी पूजा स्थान पुगें । म त्यहाँ पुग्दा पूजाको समयावधि करिव सकिंदै थियो र छुटपुट कामहरू ब्राम्हणद्वारा भइरहेको थियो । अनि म पूजा स्थलमा राखिएको एउटा कुर्सीमा बसी ब्राम्हणका पूजाकर्महरू नियाल्न थालें । त्यत्तिकैमा मेरो सामु पञ्चामृत आइपुग्यो । जसलाई पूजास्थलको मुख्य प्रसादको रूपमा लिइन्छ । पञ्चतत्व मित्रित यो प्रसाद निकै स्वादिलो हुने गर्दछ । पञ्चामृतपछि मुख्य प्रसादको पालो थियो । प्रसादको रूपमा सुद्ध दुधबाट निर्मित सुमधुर खिर, रोटीहरू अनि स्वादिष्ट तरकारीहरू समावेश थिए । मैले त्यो पनि प्रभु प्रति भावविहल भएर ग्रहण गरेँ ।
अब विस्तारै साँझ छिप्पीदै अँध्यारो बढ्दै गएको थियो । किर्तन टोली आउँदै छन् भनि बारम्बार सुनिरहन्थ्यो । म पनि कतिबेला किर्तन टोली आइपुग्ला र बाजा र संगीतको तालमा भजन किर्तन श्रवण गर्न पाइएला भन्दै व्यग्र भएर चिया पिउँदै किर्तन टोलीको पर्खामा बसें । यत्रतत्र महिला, केटाकेटी, युवायुवतिहरूको चहल पहल पनि बढ्दै थियो । केही क्षणपछि मैले भजनकिर्तन टोली आएको चाल पाएँ । मौसम चिसो भएकाले किर्तन टोली विराजमान हुने ठाउँको मुनी पराल राखेर माथि कार्पेट विछ्याएर बस्ने व्यवस्था मिलाइयो । अनि विस्तारै भजन टोलीहरू सोही ठाउँमा आउँदै बस्दै गर्न थाले ।
सबै किर्तन टोली विराजमान भइसकेपछि किर्तन थाल्नु अगाडि पूजाको प्रसाद ग्रहण र चियापानका कार्यक्रम सुरु भयो । त्यतिबेला मैले सबै किर्तन टोलीहरूलाई राम्ररी नियालँे । हेर्दै जाँदा मैले एउटा छेउमा सुर्खेतका कलाकारिता क्षेत्रका नायक मानिने एक वयोवृद्ध तथा अनुभवी खारिएका कलाकार प्रेमदेव गिरीलाई देख्न पुगें । मैले उहाँलाई देख्ने बित्तिकै खुशीले पुलकित भएँ । साँच्चै भन्नुपर्दा मैले प्रेमदेव गिरी सो कार्यक्रममा आउने खबर पाएको थिइनँ । केवल किर्तन टोली आउने भन्ने मात्र सुनेको थिएँ । हुन त मैले प्रेमवेद गिरीको नाम धेरै पटक सुनेको भए पनि प्रत्यक्ष रूपमा उहाँको कलालाई हेर्ने र श्रवण गर्ने अवसर जुरेको थिएन । संयोगले सोही दिन आफ्नै आँखा अगाडि उहाँलाई देख्दा खुशीले प्रफुल्लीत हुनु कुनै नौलो कुरा थिएन । अनि म उहाँको अन्तरहृदयदेखि प्रफुटन हुने कला हेर्ने अथवा श्रवण गर्न आतुर भएँ । विस्तारै किर्तन टोली आ–आफ्ना कार्यक्रम प्रस्तुत गर्न तम्तयार भए । एक जना कार्की गरको व्यक्ति (मैले नाम बिर्सिएँ)ले छोटो मन्तव्य प्रस्तुत गरेर कार्यक्रमको सुरुवात गर्ने अनुमति माग्नुभयो । उहाँको धर्म र भगवान् प्रतिको छोटो वक्तव्य मलाई गहकिलो लागेको थियो । मलाई त्यहाँको अन्य कुराहरू भन्दा पनि मेरो ध्यान गिरीजी प्रति नै थियो । आज केही न केही नौलो देख्न पाइन्छ भन्नेमा म ढुक्क थिएँ । लगत्तै कार्कीजीले एउटा भजनको मिठो धुन छोड्नुभयो । हार्मुनियम, मादल लगायत अन्य संगीतका सरसामानको तालमा प्रथम भजनको ताल छोडियो । मादल गिरीजीकै हातमा थियो ।
मैले नियालेर उहाँको मादलको आवाज सुनिरहें । र उहाँका निकै स्फूतिका साथ चलिरहेका हातमा आफ्नो दृष्टि स्थिर गरें । त्यतिबेला नै मैले अनुभव गरिहाले कि तब पो कलाको महत्व हुने रहेछ । साँच्चै भन्नुपर्दा ४८ औं बसन्त पार गर्दाको अवधिसम्म मैले यति राम्रो बादल बाधक देखेको तथा सुनेको थिइन । मलाई निकै खुशी लाग्यो । मैले अघि गरेको अड्कल आज पक्कै पनि केही नौलो देख्न पाइन्छ भन्नेकुरा सत्यमा परिणत भइसकेको थियो र मैले उहाँको मादल बादन कलालाई सलाम गर्न थालिसकेको थिएँ ।
म एकोहोरो उहाँको हातमा हेरिरहेको थिएँ । मादलको आवाजको मिठो धुन कानमा घन्किरहेको थियो । मलाई साँच्चै उतिबेला बिन बजाइरहेको ठाउँमा जसरी आनन्दले नाग मदहोस् हुन्छ मेरो पनि त्यही हाल भएको थियो । यानिकी म नाग थिएँ र त्यो मदल मेरो लागि बिन थियो । त्यसपछि विस्तारै मेरो मानस पटलमा कलाक्षेत्रको महŒव, यसको गरिमा, औचित्य अनि पारदर्शीताका कुराहरू सलवलाउन थाले । मलाई राम्ररी थाहा भयो कि कला नभइकन कोही पनि कलाकार हुन सक्दैन । कलाले नै कलाकारको निर्माण गर्ने हो । कलाबिनाको जीवन प्रायः शून्य, उजाड प्रतित हुने मैले पाएँ र त्यो दिनदेखि म प्रतिवद्ध र समर्पित भएर कलाको सम्मान गर्न थालें । मलाई लाग्यो माघको धार्मिक महिनामा श्री स्वस्थानी वर्तकथाका महिमाले भनौं या परम दयालु भगवानका कृपाले भजन कृतन भइरहेको शुभघडीमा एउटा असाधारण कला हेर्ने र श्रवण गर्ने जुन राम्रो अवसर मलाई प्राप्त
भयो । त्यसका लागि म उनै भगवान्प्रति आभारी छु । तथा गिरीजीको कला कौसलको अझ उत्तरउत्तर प्रगतिको समेत कामना गर्दछु ।
साझा बिसौनी ।