धुलाम्य सडकले स्वास्थ्यमा असर

सुर्खेत, १२ फागुन ।
वीरेन्द्रनगर–१६ निवासी प्रेमा वलीलाई रुघाखोकीले सताएको धेरै भयो । उनले उपचार नगरेकी पनि होइनन्, तर उपचारपछि पनि उनलाई सन्चो भएको छैन । श्वासप्रश्वास सम्बन्धी समस्याले उनी हैरान भएकी छन् । वीरेन्द्रनगरको धुलियाविटदेखि बाङ्गेसिमलसम्मको निर्माणाधीन चारलाइन सडक निर्माणको क्रममा उडेको धुलोले उनलाई बिरामी बनाएको हो ।
प्रेमा भन्छिन्, ‘यो चारलाइन सडक निर्माणमा ढिलाइ भयो, सडकमा उडेको धुलोले बिरामी नै बनायो । उपचार गराउँदा पनि सन्चो भएन, अहिले त श्वासप्रश्वासमा समेत समस्या देखिएको छ ।’ दिनभर पसलमा बस्ने भएका कारण धुलोले असर गरेको उनी बताउँछिन् । उनको स्वास्थ्यमा मात्र होइन, व्यापारमासमेत घाटा भएको छ । उनले सडक निर्माण सुरु गरेदेखि व्यापारमा घाटा हुने गरेको बताइन् । सडक निर्माण सुरु नहुँदा पहिले दिनमा १० हजारसम्मको व्यापार हुने प्रेमाको पसलमा अहिले दिनमा मुस्किलले पाँच हजारसम्मको व्यापार हुनेगर्छ ।
उनी भन्छिन्, ‘अहिले बाटो बनाउँदैछ, अझपछि पर्खाल पनि लगाउने भन्छन् । त्यसपछि त व्यापार नै नहुने त होला ।’ प्रेमा जस्तै वीरेन्द्रनगर–१६ निवासी चन्द्रा पराजुलीको समस्या पनि उस्तै छ । चारलाइन सडक निर्माण कार्य सुरु नहुँदासम्म दिनमा २५ हजारभन्दा बढीको व्यापार हुने चन्द्राको पसलमा अहिले दिनमा मुस्किलले १२÷१५ हजारको व्यापार पनि हुँदैन । उनले भनिन्, ‘धुलो बढी भएका कारण बाटो भन्दामाथिका ग्राहक बाटो काटेर तल आउँदैनन्, धुलोले सामान पनि फोहोर देखिने हुँदा ग्राहकहरू धेरै आउँदैनन् ।’ उनले थपिन्, ‘बरु बाटो बनाउने काम छिटो सकिएको भए हुन्थ्यो, खै कहिले सक्नेहुन् ? लुगा सुकाउन समेत पाइदैन ।’ पहिले एउटा साइड निर्माण गरेर गाडी हिँड्ने बाटो छोडिदिनुपर्ने भए पनि त्यसरी सडक निर्माण नगरिएको भन्दै उनले झन् समस्या भएको बताइन् ।
चारलाइन सडक निर्माणले व्यापारमा मात्र होइन, दिनभर जसो व्यापारका लागि पसलमा बस्ने महिला र बाटोमा खेल्ने बालबालिकाको स्वास्थ्यमा समेत असर गरेको छ । सडक निर्माण गर्दा ठेकेदारले वातावरणीय प्रभावलाई ध्यान नदिँदा स्वास्थ्यमा समस्या भएको स्थानीयहरू बताउँछन् । सडक निर्माणका क्रममा निर्माण कम्पनीले धुलाम्य सडकमा पानी हाले पनि बिहान र साँझ मात्र हाल्ने र गाडी धेरै चल्ने समयमा फेरि धुलो उस्तै उड्ने हुँदा नजिकका बासिन्दालाई श्यासप्रश्वासमा समस्या देखिएको छ । चार लाइन सडक एकैपटक दुवै साइडबाट निर्माण भइरहेको हुँदा स्थानीयहरूको स्वास्थ्यमा मात्र होइन व्यापारमा समेत समस्या देखिएको छ । धुलोका कारण नजिकका नागरिकहरूले आफूहरूको स्वास्थ्यमा प्रतिकूल असर परेको बताएका छन् । बिहान प्रयोग गरेको कपडा साँझ प्रत्येक दिन सफा गर्नुपर्ने अवस्था हुने गरेको गुनासो स्थानीयहरूको रहेको छ । स्थानीयहरूले धुलो उडिरहने हुँदा स्वास्थ्यमा प्रतिकूल असर परेकोले सडक निर्माणको काम तत्काल सम्पन्न गर्न आग्रह गरेका छन् ।
यता क्षेत्रीय सडक निर्देशनालय सुर्खेतका सव–इन्जिनियर रमेश वलीका अनुसार सडक निर्माण गर्दा अग्लो र होचो भएका कारण सबै बाटो एकैपटक भत्काएर निर्माण गर्नु परको हो । उनले भने, ‘सडक अग्लो र होचो भएका कारण मिलाउनको लागि पनि सबै बाटो एकैपटक निर्माण गर्न लागिएको हो ।’ वलीले स्थानीयको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै सडकमा धुलो नउडोस् भनेर पानी हाल्ने गरेको बताए । उनले थपे, ‘सबै माटो नै भएका कारण धुलो बढी उड्ने र गाडी धेरै चल्ने समयमा पानी हालेमा साना सवारी साधनलाई आवत जावतमा समस्या हुने भएकाले बिहान र बेलुका पानी हाल्ने गरेका हांै ।’ धुलियाविटदेखि सञ्चयकोषसम्म पहिलो ठेक्का आशिष निर्माण सेवा प्रालि भरतपुर चितवनले लिएको छ । २०७२ असार २८ गते सम्झौता गरी २०७४ असार ३० गतेसम्म सडक निर्माण गरिसक्नुपर्ने भनिएको सडक निर्माणको काम लगभग आधाभन्दा बढी सम्पन्न भएको छ । सव–इन्जिनियर वलीका अनुसार काममा ढिलाइ हुनुको कारण सडकका छेउमा रहेका बिजुलीका पोल, खानेपानीको पाइप, ढल लगायतलाई समयमा नै हटाउन नसक्नु हो । वलीले भने, ‘बिजुलीको पोल व्यवस्थापन विद्युतले, ढल निकास वीरेन्द्रनगरपालिकाले, खानेपानीको पाइपको झुप्रा बृहत खानेपानीले व्यवस्थापन गरिदिने हो भने तोकिएको समयमा सडक निर्माण गर्न सकिन्छ ।’
चारलाइन सडक निर्माणमा तीन किलोमिटर दुईसय मिटरको कालोपत्रे र पर्खाल पनि बनाइने वलीको भनाइ छ । आशिष निर्माण सेवा प्रालि भरतपुर चितवनले धुलियाविटदेखि सञ्चयकोषसम्मको पहिलो ठेक्का १४ करोड ३५ लाख ६४ हजार पाँच सय ८० रूपैयाँमा ठेक्का लिएको छ । त्यस्तै सञ्चयकोषदेखि सिद्धार्थ होटेलसम्मको सडक निर्माण कार्यको दोस्रो ठेक्का श्री स्वच्छन्द श्याम एण्ड शंकर जेभी सुर्खेतले लिएको छ । श्री स्वच्छन्द श्याम एण्ड शंकर जेभी सुर्खेतले २०७३ असार २७ गते सम्झौता गरी २०७५ असार २० गतेसम्म काम पूरा गर्ने गरी सम्झौता गरेको छ । सञ्चयकोषदेखि सिद्धार्थ होटेलसम्मको सडक निर्माणको काम पनि १५ प्रतिशत भन्दा बढी नै पूरा भइसकेको क्षेत्रीय सडक निर्देशनालयले जनाएको छ । भ्याट बाहेक १४ करोड ४० लाख ४१ हजार पाँच सय ९१ रूपैयाँमा दोस्रो ठेक्काको सम्झौता भएको छ ।
छिटो सक्न स्थानीयको दबाब यसैबीच चारलेन सडक निर्माण कार्य तीव्र नहुँदा स्थानीय व्यापार व्यवसाय र स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै स्थानीय आन्दोलित भएका छन् । बिहीवार वीरेन्द्रनगर–१८ यरीचौकका स्थानीयले सडक निर्माणमा ठेकेदारको लापरबाही र ढिलाईका कारण आवत–जावतका साथै स्वास्थ्यमा असर परेको भन्दै आन्दोलन गरेका छन् । सडक निर्माण भइरहेकोले दिउँसोको समयमा अत्याधिक धुलो उड्ने भएकोले व्यापार व्यवसायमा संकट आइपरेको उनीहरूको गुनासो छ । बिहीवार बिहान यरीचौकमा स्थानीय महिला, बालबालिका तथा अन्य सर्वसाधारणले मानव सांग्लो निर्माण गरी दुईघण्टा सडक अबरुद्ध पारेका थिए । प्रशासनले सडक निर्माणकर्ता ठेकेदारलाई तत्काल निर्माण कार्य तीव्र बनाइ जनतालाई धुलाम्म सडकमा हिँड्नुपर्ने बाध्यताबाट मुक्त गराउन माग गरेका छन् ।

प्रकाशित मितिः   १५ फाल्गुन २०७३, आईतवार १६:४६