अपांगता भएका विद्यार्थीलाई विभेद, मतदान गर्नबाट वञ्चित

सुर्खेत, १३ फागुन ।
त्रिभुवन विश्वविद्यालय (त्रिवी) अन्तर्गतका क्याम्पसहरूमा यही फागुन १८ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदैछ । तर उक्त चुनावमा अपाङ्गता भएका विद्यार्थीहरूले मतदान गर्न नपाउने भएका छन् । त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन कार्यविधिले केन्द्रको स्वीकृतिविना मतदान गर्न नपाउने भनेपछि सुर्खेतमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीले निर्वाचनमा सहभागी हुन नपाउने भएका हुन् ।
त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण परिषद्बाट स्वीकृत गरिएका विद्यार्थीहरू बाहेक अन्य विद्यार्थीहरूको मतदाता नामावली नै नआउने भएपछि सुर्खेत क्याम्पस शिक्षामा अध्ययनरत विद्यार्थीहरूले असन्तुष्टी व्यक्त गरेका छन् । उनीहरूले परिषद्बाट सिफारिस ल्याउनुपर्ने कुरा क्याम्पस प्रशासनले जानकारी नदिएको भन्दै जसरी पनि मतदान गर्न पाउने वातावरण मिलाउन माग गरेका छन् । लामो समयदेखि अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरूलाई मतदान गर्न पाउने अधिकारबाट विश्वविद्यालयले अपमान गरेको विद्यार्थी सीता ऐरीले बताइन् ।
‘विगत लामो समयदेखि हामी पढ्दै आयौं, हामी पनि त विद्यार्थी हौं,’ उनले भनिन्, ‘कि हामीलाई विश्वविद्यालयले विद्यार्थी होइनन् भन्नुप¥यो । होइन भने अपाङ्गता भएकालाई मात्र मतदाधिकारबाट वञ्चित गराइनु सरासर अन्याय हो ।’ उनले अपाङ्गता भएकालाई संरक्षण गर्नुपर्ने ठाउँमा विश्वविद्यालयले पाखा लगाउने कार्यविधि बनाएको आरोप लगाइन् । ‘कार्यविधिका बारेमा पहिल्यै जानकारी गराउनुपथ्र्यो,’ उनले भनिन्, ‘क्याम्पस प्रशासन र विश्वविद्यालय दुवैले यसको बारेमा जानकारी दिएनन् । अहिले मतदान गर्ने बेलामा आएर मतदान गर्ने अधिकारमा अंकुश लगाउने काम भएको छ ।’
विद्यार्थी कल्याण समितिबाट सिफारिस नभएका अपाङ्गता भएका विद्यार्थीहरूले स्ववियु निर्वाचनमा मतदान गर्न नपाउने भएपछि आक्रोशित बनेका छन् । उनीहरूले आफूहरूले मतदान गर्न नपाए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । ‘हामीलाई विश्वविद्यालयले विद्यार्थी मानेर परिचयपत्र प्रदान गरिसक्दा पनि मताधिकारबाट वञ्चित गराइनु सरासर अन्याय भएको छ,’ विद्यार्थी सीता ऐरीले भनिन् । शिक्षा क्याम्पसमा अध्ययनरत ३९ जना विद्यार्थीले परिषद्बाट सिफारिस नपाएकै कारण मतदानदेखि उम्मेदवार बन्ने कार्यबाट वञ्चित भएको जनाइएको छ । ‘अपाङ्गता भएका कोही विद्यार्थीहरूले उम्मेदवार बन्ने आकांक्षा समेत राख्नु भएको थियो,’ उनले भनिन्, ‘यसरी चुनावको संघारमा थाहा भएको कार्यविधिले हामीलाई अधिकार प्रयोगमा रोक लगाएको छ ।’
विद्यार्थीहरूले संविधानमा अपाङ्गता भएका विद्यार्थीहरूलाई निःशुल्क शिक्षाका साथै अन्य नागरिकभन्दा धेरै अधिकारको प्रत्याभूति गर्ने तर शिक्षा जस्तो मर्यादित क्षेत्रमा मताधिकारबाट वञ्चित गराइनु अन्याय भएको गुनासो व्यक्त गरेका छन् । उनीहरूले फागुन १५ गतेसम्म आफूहरूको मताधिकार सुरक्षित नगरिए अदालतसम्म पुग्ने चेतावनी दिएका छन् । कार्यविधिको बारेमा पहिल्यै जानकारी नदिएर क्याम्पस प्रशासनले अपाङ्गता भएका विद्यार्थीहरूमाथि धोका दिएको उनीहरूको आरोप छ ।
यता शिक्षा क्याम्पसका क्याम्पस प्रमुख टंक आचार्यले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरूका हकमा मतदाता नामावली बन्नका लागि विद्यार्थी कल्याण परिषद्बाट स्वीकृत हुनुपर्ने कार्यविधि रहेको बताए । विगत लामो समयसम्म त्रिविको स्ववियु चुनाव नभएको र कार्यविधि बारेमा आफूहरूलाई ढिलो गरी जानकारी भएकोले अपाङ्गता भएका विद्यार्थीहरू मताधिकारबाट वञ्चित हुने अवस्था आएको उल्लेख गरे । ‘नयाँ कार्यविधि भएकोले क्याम्पसमा ढिलो गरी जानकारी भयो,’ उनले भने, ‘अपाङ्गता भएका विद्यार्थीहरूले विद्यार्थी कल्याण परिषद्को स्वीकृती आवश्यक भन्ने कार्यविधिमा उल्लेख गरिएकोले अप्ठ्यारो स्थिति सिर्जना भएको हो ।’ छोटो समयमा सबै विद्यार्थीहरूको सिफारिस ल्याउन नसकिने भएकोले विद्यार्थी संगठनहरूबीचको सहमतिबाट उनीहरूको मताधिकारलाई सुरक्षित गर्ने कोशिस भए पनि सफल हुन नसकेको उनको भनाइ छ ।
त्रिविले विद्यार्थी संगठनहरूबीच सहमति हुन सकेको अवस्थामा विद्यार्थी कल्याण परिषद्बाट सिफारिस स्वीकृती नपाएका अपाङ्गता भएका विद्यार्थीहरूलाई निर्वाचनमा समावेश गराउन सकिने विकल्प दिएको थियो । तर सुर्खेतमा रहेका विद्यार्थी संगठनहरूबीच सहमति जुट्न नसकेपछि समस्या उत्पन्न भएको हो । विद्यार्थी संगठनहरूबीच सहमति जुटाउन पटक–पटक छलफल भए पनि आ–आफ्नै अडानका कारण सहमति जुट्न नसकेको विद्यार्थी संगठनका नेताहरूको भनाइ छ । यस क्षेत्रका त्रिविका सबै क्याम्पसहरूमा उक्त समस्या आएको छ ।

प्रकाशित मितिः   १४ फाल्गुन २०७३, शनिबार १६:५८