शिलान्यास भयो तर बनेन अस्पताल

सुर्खेत: २०७७ मंसिर १२ गते नेपाल सरकारका तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले पश्चिम सुर्खेतको बराहतालमा तामझामका साथ अस्पताल भवनको शिलान्यास गरे । तर तीन वर्ष बितिसक्दा समेत उक्त भवन निर्माणको सुरसारसम्म भएको छैन ।

देशैभरका सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पु¥याउने सरकारको लक्ष्यअनुसार पहिलो चरणमा अस्पताल निर्माणको लागि बराहतालमा भवन शिलान्यास गरिएको थियोे । १५ शैड्ढयाको अस्पताल निर्माण गर्न पहिलो वर्ष एक करोड बजेटसमेत विनियोजन भएको थियो । तर न बजेट खर्च हुन सक्यो न भवन निर्माणको योजना कार्यान्वयनमा आयो । बरु जहाँ भवन निर्माणका लागि भनेर शिलान्यास गरिएको थियो, उक्त क्षेत्र सामुदायिक वनको भएको भन्दै जग्गामै विवाद सिर्जना भयो । हालसम्म पनि अस्पताल भवनका लागि जग्गाको टुँगो लाग्न सकेको छैन । जसले गर्दा योजना नै अलपत्र अवस्थामा पुगेको छ ।

त्यसयताका दुई आर्थिक वर्षमा सरकारले बजेट नै विनियोजन गरेन । चालु आर्थिक वर्षमा दायित्व भुक्तानी शीर्षकमा संघीय सरकारले २० लाख मात्रै पठाएको छ । आवश्यकताका आधारमा अस्पताल निर्माण छनोटमा परेपनि जग्गा प्राप्ति नहुँदा काम सुरु हुन नसकेको गाउँपालिकाले जनाएको छ । जग्गा विवादका कारण अस्पताल निर्माणको काम अन्योलमा परेको गाउँपालिकाका अध्यक्ष भिमबहादुर भण्डारीले बताए । जग्गा प्राप्तिको माग गर्दै संघीय मामिला मन्त्रालय हुँदै वन मन्त्रालयमा फाइल पेस गरेको उनले बताएका छन् ।

बराहताल गाउँपालिका वडा नं. ५ को तिलकाखाल महिला सामुदायिक वन क्षेत्रमा अस्पताल निर्माण गर्नेगरी शिलान्यास गरिएको थियो । हचुवाका भरमा स्थान छनोट गर्दा अस्पताल निर्माणको काम अघि बढ्न सकेन । प्रस्तावित क्षेत्र सामुदायिक वनको भएको भन्दै अनुमति पाएको छैन । जग्गा प्राप्तिको फाइल बोकेर सात पटक वन मन्त्रालयमा पुगेको गाउँपालिकाका अध्यक्ष भण्डारी बताउँछन् । उनका अनुसार वनको स्वीकृति नपाउँदा काम रोकिएको छ । उनले भने, ‘अहिलेसम्म वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) स्वीकृत हुन सकेको छैन । फाइल वन मन्त्रालयमा पुगेको छ । अस्पताल निर्माणमा वन बाधक बनेको छ ।’

सुविधा सम्पन्न अस्पतालको अभावमा सामान्य रोगको उपचारको लागि पनि वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पतालमा आउनुपर्ने बाध्यता छ, पश्चिम सुर्खेतका नागरिकको । बराहतालमै १५ शैड्ढयाको अस्पताल निर्माण हुने खबरले सर्वसाधारणमा खुसियाली छाएको थियो । गाउँमै अस्पताल बन्ने भएपछि खुसी भएका नागरिक अस्पताल निर्माण योजना नै अलपत्र परेपछि भने निराश भएका छन् । बराहताल गाउँपालिका वडा नं. ५ का नरबहादुर सलामीले तीन वर्षसम्म पनि अस्पताल निर्माणको काम सुरु नहुँदा दुख लागेको बताए । उनले सामान्य उपचारका लागि पनि प्रदेश अस्पताल सुर्खेतमा जानुपर्ने बाध्यता रहेको भन्दै अस्पतालमा भीड हुँदा बास बसेर उपचार गर्नुपर्ने लगायतका धेरै समस्या हुनेगरेको जनाए । ‘हाम्रै ठाउँका राज्यमन्त्रीले अस्पतालको शिलान्यास गरे । हामीलाई आशा थियो अस्पताल बन्छ भनेर तर, अहिलेसम्म अस्पताल निर्माण नहुँदा दुःख लागेको छ ।’

यसैबीच चिङ्गाड गाउँपालिका वडा नं. ४ मा निर्माणाधिन आधाभूत स्वास्थ्य सेवा केन्द्रको भवन पनि अलपत्र परेको छ । संघीय सरकारको गाउँ–गाउँमा आधारभूत स्वास्थ्य सेवा पु¥याउने लक्ष्यअनुसार भवन निर्माण थालिएको थियो । गत आर्थिक वर्षबाट भवन निर्माणको काम थालिएको हो ।

संघीय सरकारले गत आर्थिक वर्ष २०७९/०८० मा २० लाख बजेट पठाएको थियो । जसबाट जग र पिल्लर निर्माण गरियो । चालु आर्थिक वर्षमा सरकारले बजेट विनियोजन नगर्दा भवन निर्माण अलपत्र परेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसीले सरकारले बजेट कटौती गर्दा गाउँपालिमा थुप्रै योजना अलपत्र परेको बताए । उनले भने, ‘वडा नं. ४ मा आधाभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माणको काम बजेट नहुँदा रोकिएको छ । अन्य धेरै योजना बजेटविहीन बनेका छन् ।’

प्रकाशित मितिः   २० पुष २०८०, शुक्रबार १०:३६