हिंसापीडित महिला भन्छन्ः ‘गरिबीले गर्दा न्याय पाउन मुस्किल’
सुर्खेत, ११ फागुन ।
साटाखानी निवासी विपना (नाम परिवर्तन) ले दुई वर्षअघि जुम्लाका एक जना दलित केटासँग विवाह गरिन् । विवाहपछि श्रीमान्सँगै उनी वीरेन्द्रनगरमा बस्न थालिन् । उनीहरूको बच्चा जन्मिसकेको थियो त्यहीबेला उनका श्रीमान् पढ्नका लागि काठमाडौं गए । पढ्नका लागि भन्दै काठमाडौं गएका श्रीमान् उतै दोस्रो विवाह गरेर बसे ।
पढ्नको लागि काठमाडौं गएका श्रीमान्ले दोस्रो विवाह गरेपछि बसन्तीले प्रहरीसमक्ष श्रीमान्लाई झिकाइदिन आग्रह गर्दै उजुरी दिइन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा श्रीमान्विरुद्ध मुद्दा दर्ता गरे पनि प्रहरीले भने, आफ्नो क्षेत्रमा नपर्ने भन्दै बसन्तीका श्रीमान्लाई यहाँ ल्याउन सकेकोछैन । ‘पढ्न गएका श्रीमान् उतै घरजम गरेर बसे,’ बुधवार राष्ट्रिय महिला आयोगको आयोजनामा वीरेन्द्रनगरमा भएको महिलाहिंसा विषयक अन्तरक्रियामा सहभागी बसन्तीले भनिन्, ‘अब साथमा डेढ वर्षको छोरी छ, । धोका दिने श्रीमान्लाई कारबाही गर्नकै लागि काठमाडौं खोज्न म कसरी जाउँ ?’
आफ्नो माइतीको पनि आर्थिक अवस्था बलियो नभएको र जुम्लामा गएर आफूले उजुरी दिन नसक्ने अवस्था भएपछि न्याय पाउन मुस्किल भएको उनी बताउँछिन् । ‘प्रहरीले बिहे भएको ठाउँमा उजुरी दिन भन्छ,’ उनले भनिन्, ‘तर म जुम्ला जाने अवस्था छैन, अब के मैले चाहेकै ठाउँमा न्याय पाउन नसक्ने हो त ?’ राजधानीमा पुगेर श्रीमान्लाई पक्राउ गर्ने आर्थिक अवस्था र पहुँच नभएको भन्दै उनले महिला अधिकारका क्षेत्रमा क्रियाशील संस्थाहरूलाई सहजीकरण गरिदिन आग्रह गरिन् ।
यस्तै, आइती विक (नाम परिवर्तन) को कथा पनि बसन्तीको भन्दा कम्तीको छैन । उनी पनि श्रीमान्बाट बहुविवाहको सिकार बनिन् । बिहे गरेको केही वर्षमै आफ्ना श्रीमान्ले लगातार सात वटा बिहे गरेको उनी बताउँछिन् । तर हालसम्म पनि उनले न्याय पाउन सकेकी छैनन् । ‘साँझ बिहान के खाउँ, के लाउँ भन्ने अवस्था भयो,’ उनले भनिन्, ‘त्यसकै कारण बिरामी छोरीको उपचार गर्न नसक्दा मृत्यु भयो ।’ एकातर्फ श्रीमान्ले नै धोका दिए भने अर्कोतर्फ कमजोर आर्थिक अवस्था । आइती यतिबेला उत्तिकै मानसिक तनावमा पनि छिन् । न्यायका लागि पहल गरिदिन उनी सबैसँग आग्रह गर्छिन् ।
आर्थिक अवस्था कमजोर हुँदा महिलाहिंसा बढ्नुका साथै पीडा सहेर बस्नुपर्ने बाध्यता विनिता र आइतीको मात्र होइन उनीहरू जस्ता थुप्रै महिलाहरूले भोगिरहेका छन् । बुधवार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा सहभागी हिंसापीडित महिलाहरूले कमजोर आर्थिक अवस्थाकै कारण न्याय पाउनबाट वञ्चित भएको गुनासो गरेका छन् । कार्यक्रममा सहभागी अधिकांश हिंसा पीडित महिलाहरूले आर्थिक अवस्था सुदृढ नभएकै कारण पुरुषले हेप्ने र न्यायका लागि तड्पिनुपर्ने अवस्था आउने विचार राखेका थिए । महिलाको कमाउने माध्यम नहुँदा नै पुरुषहरूले महिलामाथि गर्ने घरेलुहिंसा वृद्धि भइरहेको विष्णुमाया विकले बताइन् । आर्थिक अवस्था कमजोर भएका महिलाहरू नै घरेलुहिंसा र विभिन्न कुरितीका शिकार भएकोले अधिकारका साथै आत्मनिर्भर बनाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने उनले माग गरिन् । महिला सशक्तीकरणका लागि लागू भएका कार्यक्रमहरू ग्रामीण क्षेत्रका महिलाको पहुँचमा पु¥याउनुपर्ने उनको भनाइ छ ।
यस्तै, महिला अधिकारकर्मी निशा पौडेलले घरेलु मदिरा उत्पादन र बिक्री वितरणका कारण महिला हिंसा नियन्त्रण हुन नसकेको बताइन् । ग्रामीण क्षेत्रका महिलाहरू घरेलुहिंसाबाट पीडित भएको तर आफू सक्षम नहुँदा वर्षौदेखि पीडा सहेर बस्नुपरेको उनको भनाइ छ । ‘महिलाहरू वर्षौदेखि पीडित छन्,’ उनले भनिन्, ‘न्यायका लागि घर छोड्दा उनीहरूसँग अर्को विकल्प हुँदैन । त्यसैले अधिकारका साथै आत्मनिर्भर हुने कुरामा जोड दिनसके मात्रै हिंसा नियन्त्रण गर्न सकिन्छ ।’
समाजमा रहेका शिक्षित मानिसहरूबाट नै विभिन्न कारणले महिलामाथि हिंसा हुने गरेको जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले बताए । शिक्षित वर्गले नै कु–संस्कारलाई अंगालेको र त्यही कु–संस्कारभित्र विभिन्न तरिकाले महिलामाथि नै अत्याचार हुने गरेको उनको भनाइ थियो । ‘पढेलेखेकाहरू पनि कुरितीको शिकार भएका छन्,’ उनले भने, ‘जबसम्म पढेको र बुझेको कुरालाई व्यवहारमा लागू हुँदैन तबसम्म यस्ता कुरितीले कुनै न कुनै ठाउँबाट महिलामाथि प्रहार गरिरहन्छन् ।’
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी कार्यबाहक अध्यक्ष भगवती घिमिरेले महिलाहिंसा अन्त्यका लागि महिला आयोगले गर्ने कार्यहरूको बारेमा जानकारी दिइकी थिइन् । उनले सरकारले पीडित महिलालाई न्याय पाउनको लागि सरकारले वकालत गर्ने व्यक्तिको व्यवस्था गर्ने र न्याय पाउनेबेलासम्मको अर्थिक सहायता समेत प्रदान गर्ने बताइन् । यस्तै, उनले केही ऐनहरू पुराना भएको र संशोधन गर्नुपर्ने भएकोले महिलाहिंसाविरुद्धको नियम कडाइका साथ कार्यान्वयन र बलियो कानुन निर्माणका लागि दबाब सिर्जना गर्ने बताइन् ।
साझा बिसौनी ।