मनाइयो ल्होसार
सुर्खेत: गुरुङ्ग समूदायले तमु ल्होसार मनाएका छन् । तमु ल्होसारलाई गुरूङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो ।
आइतवार सुर्खेतमा पनि सांस्कृतिक पहिचानसहित तमु ल्होसार मनाइएको हो । मंगलगढी चोकबाट गुरुङ भेषभुसासहितको झाँकी निकालिएको छ । बाजागाजा र झाँकीसहित सभाहलमा पुगेर औपचारिक कार्यक्रम गरिएको हो । सुर्खेतसहित अन्य जिल्लाहरूमा पनि विभिन्न कार्यक्रम गरी ल्होसार मनाइएको छ ।
हरेक वर्षको पुस १५ मा गुरुङको वर्ग÷वर्ष फेरिन्छ । पुस १५ लाई उनीहरूले नयाँ वर्ष र जातीय पर्वका रूपमा मनाउँछन् । ‘ल्हो’ अर्थात् वर्ग १२ वटा हुन्छन् । ती सबै विभिन्न पशुपक्षीका नाममा राखिएको हुन्छ । हरेक १२ वर्षपछि फेरि सुरुकै वर्ग आउँछ । यो चिनियाँ पात्रोमा आधारित हुन्छ । यसपालि ‘च्यू ल्हो’ अर्थात् मुसा वर्ग परेको छ । गुरुङको हरेक शुभ÷अशुभ कार्य गर्दा वर्ग हेरेर गर्ने गरिन्छ ।
पुस १५ मा सबैभन्दा लामो रात र छोटो दिन हुन्छ भन्ने विश्वास गरिन्छ । त्यसपछि दिन लामो र रात छोटो हँुदै जान्छ । दिन लम्बिने पहिलो दिनलाई नै गुरुङले नयाँ वर्ष सुरु हुने दिनका रूपमा मनाउन थालेका हुन् । नेपालमा गुरुङसँगै तामाङ, शेर्पालगायत अन्य हिमाली समुदायले पनि ल्होसार पर्व मनाउँछन् ।
प्रकाशित मितिः १६ पुष २०८०, सोमबार ०५:०२
साझा बिसौनी ।