तरकारीको बजार

पछिल्लो समय व्यावसायिक तरकारी खेतिप्रति कृषकहरूको आकर्षण बढेको छ । गाउँ तथा शहरी क्षेत्रमा आलु, काउली, टमाटरलगायतका तरकारीजन्य वस्तुको उत्पादन पनि बढेको छ । तर उत्पादित वस्तुले बजार पाउन सकेको छैन । तरकारीले बजार नपाएपछि सुर्खेतका किसान चिन्तित भएका छन् । राम्रो बजार मूल्य पाउने आशमा तरकारी उत्पादन गरेका यहाँका किसान बजार नपाएपछि चिन्तित भएका हुन् । एकातिर बजार नै नपाउने र अर्कोतर्फ मूल्य पनि नपाउँदा लगानीअनुसारको प्रतिफल पाउन नसकेको कृषकहरूले बताउने गरेका छन् ।

उत्पादक कृषकहरूबाट विक्रेकताहरूले निकै कम मूल्यमा खरिद गर्दछन् । प्रतिकिलो ५० सम्ममा बेच्दै आएको टमाटर एक्कासी भाउ घटेर प्रतिकिलो २५ पुगेपछि कृषकहरू चिन्तित बनेका हुन् । यसको मूख्य कारण हो भारतबाट ठूलो परिमाणमा तरकारी आयात हुनु । जसले गर्दा यहाँका स्थानीय किसानको उत्पादनले बजार पाउन नसकेको हो । बारीमा लगाएको काउलीको मूल्य ३० रूपैयाँ प्रतिकिलो पनि नपाएको गुनासो उनीहरूको छ । कतिसम्म भने बारीमा उत्पादन भएको बन्दा ११ रूपैयाँमा बेच्न बाध्य भएका छन् । अघिल्लो सिजनमा काउली प्रतिकिलो १० र बन्दा प्रतिकिलो सात रूपैयाँमा बेच्न बाध्य भएका थिए । नबकी उपभोक्ताले काउली किनेर खाँदा प्रतिकिलो ४० सम्म पर्न जान्छ । तर उत्पादक कृषकले निकै कम मूल्यमा बेचिरहेका छन् । सरकारले समयमा नै अनुदानमा रासायनिक मल नदिनु, नगरपालिकाले किसानको खेतबारी समयसमयमा अवलोकन गरेर परामर्श दिने संस्कारको विकास नहुनुलगायत कारणले किसान समस्यामा परेका छन् । सरकारले न्यूनतम् समर्थन मूल्य उपलब्ध नगराउँदा पनि समस्या भइरहेको किसानहरूको गुनासो छ ।

कृषकहरूले आफूले उत्पादन गरेको तरकारी न्यून मूल्यमा बिक्री गर्छन् । तर उक्त उत्पादन उपभोक्ताको घरमा पुग्दा दोब्बरभन्दा बढी मूल्य पुग्छ । किसानलाई तरकारीको उत्पादन मूल्य निकाल्न समेत हम्मेहम्मे परे पनि बिचौलियाले भने अधिक नाफा निकाल्ने गरेका छन् । किसानहरूले स्थानीय संकलन केन्द्हरूमा तरकारी दिन्छन् । बजारसँगको सिधा पहुँचमा नहुँदा किसानहरू स्थानीय संकलन केन्द्र तथा तरकारी मण्डीहरूमा जति भन्यो उति मूल्यमा बिक्री गर्न बाध्य छन् । किसानसँग किनेको तरकारीको मूल्य किसानले तोक्न पाउँदैनन् । बिचौलियाले खरिद गरिसकेपछि थोक बिक्रेताको हातमा पुग्छ । अनि मात्रै किसानले पाउने मूल्य तोकिन्छ । जसका कारण किसानहरूले आफ्ना कृषि उत्पादनको उचित मूल्य पाउन नसकेका हुन् । स्थानीय उत्पादनलाई बढवा दिन राज्यले पनि कुनै योजना अघि सारेको छैन । कृषकको उत्पादनले बजार पाउने अवस्थाको सिर्जना गर्न राज्यले नै विशेष कदम चाल्न जरूरी छ ।

प्रकाशित मितिः   १६ पुष २०८०, सोमबार ०५:०३