आफन्तद्वारा निरन्तर आन्दोलन

सुर्खेत: ललितपुरको बालकुमारीमा शुक्रवार प्रदर्शनका क्रममा दुई जना युवा मारिएको घटनालाई लिएर कर्णाली प्रदेशका विभिन्न जिल्लामा लगातार विरोध प्रदर्शन भइरहेको छ । ‘युवा विद्रोही’ समूहले आइवार पनि वीरेन्द्रनगरमा सवारी साधन ठप्प गर्दै राजधानीको मुख्य सडक चक्काजाम गरेको हो ।

आन्दोलनकारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेका छन् । साथै मृतक युवाहरूलाई सहिद घोषणा गर्नुपर्ने उनीहरूको माग छ । पीडित परिवारलाई उचित शिक्षा, स्वास्थ्य, लालनपालनको सम्पूर्ण ग्यारेन्टी राज्यले गर्नुपर्ने पनि युवाहरूको माग छ । प्रदर्शनमा विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा मृतकका आफन्तहरू सहभागी छन् ।

आइतवार दैलेखमा विरोध प्रदर्शन गरिएको छ भने मुगुमा पनि राँके जुलुस प्रदर्शन गरिएको छ । शुक्रवारको घटनामा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

यसैबीच उक्त घटनाका बारेमा न्यायिक छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न सरकार सहमत भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमवार बस्ने मन्त्रिपरिषद् बैठकले त्यसबारे निर्णय गर्ने भन्दै जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा (२) बमोजिम पूर्वन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशनसमेत दिएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री दाहालले आयोग गठनका लागि प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिए । कोरिया भाषा परीक्षामा आवेदन दिन पाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका युवा र प्रहरीबाट बालकुमारीमा धरपकड हुँदा दुई युवाको ज्यान गएको थियो । सरकारले तत्कालै नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । तर घटनामा मृत्यु भएका युवाका आफन्त र सरोकारवालाले भने त्यस्तो छानबिन समिति नस्वीकार्ने भनेका थिए ।

घटनाका विषयमा चौतर्फी दबाब बढेपछि प्रधानमन्त्री दाहालले पूर्वन्यायाधीशको अध्यक्षतामा आयोग बनाउन तयार भएका हुन् । पीडितका आफन्तले शनिवार बेलुका प्रधानमन्त्री दाहाललाई भेटेर उच्चस्तरीय जाँचबुझ आयोग गठनसहित आठ बुँदे मागपत्र बुझाएका थिए । सरकारले मृत्यु भएका दुई युवाका परिवारलाई १०–१० लाख रूपैयाँ राहत दिने निर्णय गरिसकेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यका अनुसार सोमवार मन्त्रिपरिषद् बैठकबाट गठन हुने उच्चस्तरीय जाँचबुझ आयोगले सोमवारदेखि नै काम थाल्नेछ ।

प्रकाशित मितिः   १६ पुष २०८०, सोमबार ०५:०१