सुरक्षामा चासो नदिएको गुनासो

सुर्खेत, १० फागुन ।
सरकारले आफ्नो सेवा र सुरक्षामा चासो नदिएको भन्दै पेसाकर्मीहरूले गुनासो गरेका छन् । विभिन्न निकायमा बसेर राज्यको सेवा प्रवाहमा सहयोग पु¥याउने पेसाकर्मीहरूको सुरक्षामा सरकारले ध्यान पु¥याउन नसेको उनीहरूले गुनासो गरेका हुन् ।
नेकपा एमाले सम्बद्ध पेसागत महासंघ नेपालको प्रदेश नम्बर–६ को दुई दिने प्रशिक्षण भेलामा सहभागी यस क्षेत्रका पेसाकर्मीहरूले आफ्नो मागलाई सरकारले पूरा नगरेर आफूहरूमाथि बेवास्ता गरेको बताएका छन् । पेसागत महासंघ नेपालका अध्यक्ष विश्वनाथ प्याकुरेलले लामो समयदेखि राज्यका विभिन्न निकायमा स्थायी तथा अस्थायी रूपमा कार्यरत पेसाकर्मीहरूलाई सही ढङ्गले व्यवस्थापन गर्न नसकेको आरोप लगाए । ‘विगत लामो समयदेखि स्थायी रूपमा कार्यरत शिक्षक, कर्मचारी, स्थानीय तहका अस्थायी कर्मचारीहरूलाई हालसम्म व्यवस्थापन गर्न सकेको छैन,’ उनले भने, ‘पेसाकर्मीहरूको सेवालाई उच्च मूल्यांकन गर्दै सरकारले सही रूपले व्यवस्थित गर्नुपर्दछ भन्ने हाम्रो माग हो ।’
महासंघका वरिष्ठ उपाध्यक्ष प्रेमलकुमार खनालले पेसाकर्मीहरूको सेवा सुविधा थप गर्नुका साथै पेसागत सुरक्षाको कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि ल्याउनुपर्ने माग राखे । राज्यका विभिन्न निकायमा योग्यता भन्दा पनि सोर्स र फोर्सका आधारमा दिइने नियुक्ति प्रचलनलाई त्याग्नुपर्ने उनको भनाइ थियो । ‘दक्षता नभएका मानिसहरूलाई महŒवपूर्ण निकायमा नियुक्ति दिने प्रचलन बढ्दै आएको छ,’ उनले भने, ‘यस प्रचलनलाई रोक्न नसके त्यस्ता व्यक्तिले पेसाकर्मीहरूको हितमा नभइ पार्टीको काम गर्नेछन् ।’
राज्यले लगानी गर्न चाहेका व्यवसायीहरूलाई पेसागत सुरक्षा र थप सहुलियतका कार्यक्रमहरू अगाडि ल्याउन नसकेको प्रशिक्षणमा सहभागी पेसाकर्मीहरूले बताए । पेसागत महासंघका उपाध्यक्ष लालबहादुर पाख्रिनले निजी क्षेत्रमा लगानी गर्न चाहेका व्यवसायीहरूलाई लगानीको वातावरण सिर्जना गर्न नसक्दा देशमा रोजगारी सिर्जना हुन नसकेको बताए । अधिकांश युवा जनशक्ति विदेश होमिएको बेला देशमै लगानीमैत्री वातावरण बनाइ स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने योजनाहरू अगाडि ल्याउनुपर्ने उनको भनाइ थियो ।
दुर्गममा काम गर्ने कर्मचारीहरूलाई सरकारले प्रोत्साहन भत्ता बढाउन नसकेको डोल्पाका बाले बोहोराले बताए । ‘कर्मचारी अभावका कारण एउटै कर्मचारीले दुई÷तीन ठाउँमा हुनुपर्ने बाध्यता भए पनि सरकारले न त कर्मचारीको व्यवस्था मिलाउन सकेको छ न धेरै ठाउँ हेर्ने कर्मचारीलाई प्रोत्साहन नै गर्न सकेको छ,’ उनले भने । यस्तै, मुगुका सम्झना बुढाले पनि कर्मचारीहरूको पेसागत सुरक्षाका विषयमा ध्यान दिन नसकेको गुनासो गरिन् । स्थानीय तहमा कर्मचारीको वैज्ञानिक बाँडफाँड गर्न नसक्दा कर्मचारीहरूबीच नै मनमुटाव उत्पन्न हुने परिस्थिति सिर्जना भएको उनको भनाइ छ । विगत लामो समयदेखि काम गर्दै आएका कर्मचारीहरूको कामको मूल्यांकन नगरी सिधै लोकसेवाबाट आएका कर्मचारीहरूलाई माथिल्लो तहमा लिएर राख्दा कर्मचारीको कामको सही मूल्यांकन हुन नसकेको सुर्खेतका लालबहादुर खत्रीले बताए ।

प्रकाशित मितिः   ११ फाल्गुन २०७३, बुधबार १४:१७