पाठकीय नजरमा ‘फिरफिरे’

वासुदेव पाण्डेय ‘प्रभाकर’
कविता विधाबाट साहित्यिक क्षेत्रमा प्रवेश गरेका बुद्धिसागर चपाईं कविताभन्दा आख्यान विधाबाट चिनिएका शक्तिशाली स्रष्टा हुन् । भिन्न वर्णन कौशल र मिठो तर सरल भाषाशैलीको प्रयोगका कारण उनी पाठकमाझ बढी रुचाइएका छन् । नेपाली साहित्यमा समालोचना विधा प्रभाववादी नै रहेकाले समालोचना नभइ आलोचना मात्र हुने गर्छ । कृतिका सबल र कमसल पक्षलाई पनि लेखकका व्यक्तिगत जीवनसँग गाँसेर आलोचना वा प्रशंसा गर्ने पद्धति यद्यापि प्रचलित नै छ । तसर्थ कमसल कृतिको पनि बडो सम्मानपूर्वक चर्चा हुन्छ भने सशक्त कृति पनि ओझेल पर्छन् । ‘कर्नाली ब्लुज’ मार्फत् उपन्यास क्षेत्रमा प्रवेश गरी पछिल्लो समय उनले ‘फिरफिरे’ शीर्षकमा आयामगत लामो तर निकै गहकिलो उपन्यास पाठकमाझ ल्याएका छन् । पहिलो चर्चित पुस्तकका लेखकहरू प्रायः दोस्रो कृतिमा पहिलो कृति जति लोकप्रिय नभएका पर्याप्त उदाहरणहरू छन् । कविता क्षेत्रमा पनि भिन्नै गद्य शैली, विम्ब र प्रस्तुतीकरण भएका बुद्धिसागर सामान्य पृष्ठभूमि अर्थात् ‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ उपन्यासकै कतिपय सन्दर्भका प्रतिनिधि साक्ष्य भएकाले उनले मोफसलबाट गइ राजधानीमा स्थापित हुन जो सङ्घर्ष गरेका थिए त्यसले पनि उनलाई धेरै सिकाएको हुनुपर्छ । स्रष्टा चिनिने उसको कृतिले हो, बाँच्ने पाठकको रूचिले हो र स्रष्टाको स्तर निर्धारण गर्ने ‘पाठकको संयुक्त इजलास’ ले हो । पहिलो उपन्यास ‘कर्नाली ब्लुज’बाट पाठकमाझ बढी रुचाइएका लेखक बुद्धिसागरको ‘फिरफिरे’ उपन्यासको सामान्य चर्चा यहाँ गरिएको छ ।
अन्तबाट सुरू भएको र ‘कर्नाली ब्लुज’ कै पूर्वदिप्ती शैली (फ्ल्यास ब्याक) मा रचिएको यो उपन्यास पनि नाट्य र पूर्वदिप्ती शैलीका रूपमा संस्मरणात्मक जीवनी जस्तै लाग्ने गरी लेखिएको छ, जुन शैली बुद्धिसागरको बेग्लै पहिचान बनिसकेको छ । करिब डेढ दशकपछि आफ्नो पुख्र्यौली घर हेर्न काठमाडौंबाट बाँसबारी आएको देखाइएको र अन्तमा फर्केको घटना पुस्तकका अघिल्ला र पछिल्ला गाताजस्ता छन् भने औपन्यासिक विषयवस्तु भित्री पुस्तक जस्तो लाग्छ । यो उपन्यासले बाँसबारीको जीवनपद्धति, रहनसहन, भाषाशैली लगायतको जीवन्त फोटोकपी भएकाले यो आञ्चलिक उपन्यास बन्न पुगेको छ । फाइनप्रिन्ट काठमाडौंबाट प्रकाशित यो उपन्यासको मोल पाँच सय बयालिस र पृष्ठ संख्या पनि सोही हाराहारीमा रहेको छ ।
उपन्यासको शीर्षक एक शब्दीय रहेको छ । ‘फिरफिरे’ पदवर्गका हिसाबले विशेषण शब्द हो, जसको शाब्दिक अर्थ फिरफिर गरी हल्लिने वा घुम्ने, हावाको सहयोगले घुमाइने कागज वा पातको पङ्खा भन्ने हुन्छ । फिरफिरे शब्द नेपालीमाझ प्रसिद्ध शब्द नै हो । शीर्षक पढ्ने वित्तिकै मनमा आउने ‘कसको फिरफिरे ? कुन फिरफिरे ? के को फिरफिरे ?’ भन्ने कतिपय जिज्ञासाहरू उपन्यास पढ्दै जाँदा क्रमशः मेटिँदै जाने भएकाले शीर्षकसित यसको सोझो सम्बन्ध रहेको देखिन्छ । बसन्त र पवनले बाल्यकालमा उडाउने पातको फिरफिरेको सन्दर्भ यो उपन्यासभरी छ्यासमिस रूपमा आएको छ । आदि, मध्य र अन्त्य सबैतिर फिरफिरेको सन्दर्भ आएर विषय वस्तुसित तादात्म्य राखेकाले यसको शीर्षक ‘फिरफिरे’ राखिनु अभिधास्तरमा निकै सार्थक देखिन्छ । व्यञ्जनात्मक हिसाबले हेर्ने हो भने पवन, बसन्त, पिच्कु माझी, चिलगाडी, सर्वजित मास्टर, जुठी आमै, जसोदा, रकी दादा, मुनमुन, कोहीनुर आदि पात्र परिस्थितिरूपी हावाले घुमाइएका फिरफिरे जस्ता भएकाले व्यञ्जनात्मक रूपले समेत उपन्यासको शीर्षक ‘फिरफिरे’ एकदमै सान्दर्भिक र औचित्यपूर्ण देखिन्छ ।
क्षिण रूपमा रैखिक जस्तो लाग्ने कथानक भएको उपन्यास वृत्ताकारीय कथानक ढाँचामा रहेको छ । अन्त्यबाट सुरु भएकाले रैखिक क्रम नमिले पनि समग्रमा घटनाहरूको विन्यास कार्यकारण श्रृङ्खलामा नै रहेको देखिन्छ । प्रस्तुतीको शैली भिन्नै भए पनि कालक्रमिक रूपले घटनाक्रम बढ्दै गएको पाइन्छ । उपन्यासको कथानक भनेको नोस्टाल्जिक रूपले वर्णित बाल्यकाल हो । कथानकले बाँसबारी बजारका जीवन कहानीलाई बोकेको छ । यस्तो नै भनेर किटान गर्न नसकिए पनि हाम्रै समाजका कतिपय कम महŒवका र कतिपय लोक सन्दर्भले समेत उपन्यासमा ठाउँ पाएका छन् । चिलगाडीले पखेटा लगाएर उड्ने प्रयास गरेका सन्दर्भ लोककथादेखिकै सन्दर्भ हो । पिच्कु झाझी, जुठी आमै, जसोदा, सर्वजित आदिका आम रूपमा सामान्य लाग्ने तर मार्मिक र अहम् जीवन दर्शन बोकेका घटनाले एकपटक मन मथिङ्गल घुमाउँछ । जुठी आमैलाई बोक्सीका रूपमा जुन अमानवीय कार्य गरिएको छ त्यो नेपालको दर्दनाक तस्विर हो । जीवनबाट पलायन भएको पवन, जीवनबाट हारेको सर्वजित मास्टर, मानवीय कलङ्क लगाइएर अपमानित जुठी आमै र विविध कारणले आफन्त गुमाउनेहरूका कथा–व्यथा समेटिएको उपन्यासले सिङ्गो जीवनलाई बोक्ने सामथ्र्य राख्दछ । व्यापक आयाम भएकाले कथानक तन्काइएको आभाष प्रष्ट हुन्छ तर पट्यारलाग्दो भने छैन । कथानकका लागि चाहिने द्वन्द्व र क्रियाव्यापार, सहजता र सम्भाव्यता, साधारणीकरण आदिबाट उपन्यास उत्कृष्ट नै देखिन्छ । परिपुष्ट कथानक, क्षिण कथानकलाई तन्काइ लामो बनाउने प्रयास, कर्नाली ब्लुजकै झल्को लाग्ने कथानक, वर्णन शैली, कथानक योजना, भाषा शिल्प आदि यसका कमसल पक्ष पनि हुन् ।
विपुल भावराशी बोक्ने कथानक हुने र समग्र जीवन बोक्ने कथानक हुने भएकाले कथानक सुहाउँदा पात्र हुनु पनि आवश्यक हुन्छ । यो आञ्चलिक उपन्यास भएकाले यसमा कथानक बोक्ने उपयुक्त पात्रहरूको प्रयोग भएको छ । पवन बसन्तकै केन्द्रीयतामा उपन्यास बढेको छ । बसन्त अर्थात् ‘वन्ते’ बुद्धिसागर स्वयम्को जीवन अभिव्यक्त गर्ने गरी आएको प्रतित हुन्छ । कतिपय प्रमुख, धेरै सहायक र गौण पात्रहरूको प्रयोग भएको देखिन्छ । केही वर्गीय वा प्रतिनिधि,केही एकल वा व्यक्तिगत, केही बद्ध र केही मुक्त, केही नेपथ्यीय र केही मञ्चीय, केही गतिशील र केही स्थिर पात्रहरूको प्रयोगले कथानक अनुसारकै आञ्चलिकता झल्काउने पात्रहरूको सुन्दर प्रयोग हुनु, सठाउँ अनुसारका सुहाउँदा नाम हुनुले पनि यसको पात्रविधान उपयुक्त नै देखिन्छ ।
परिवेश विधानका कोणले पनि ‘फिरफिरे’ उपन्यास राम्रो नै देखिन्छ । परिवेशको प्रधानताले यो उपन्यास आञ्चलिक हुन पुगेको छ । स्थानगत परिवेशका रूपमा बाँसबारी, अम्बरपुर, नेपालगन्ज, सौतेनी नदी आदि आएका छन् भने साङ्केतिक रूपमा काठमाडौं पनि अटाएको छ । कालगत परिवेशले बाहिरी रूपमा १८÷२० वर्ष र आन्तरिक रूपमा लामो समय ओगटेको छ । तराईको जनजीवन, रोग व्यथा, प्रकोप र अन्धविश्वास, भाग्यवाद, सामन्तवादी प्रवृत्तिको अवशेष, बोक्सी प्रथा, आफन्तको वियोगस जनयुद्धको धङधङी आदिले पनि परिवेशमा स्थानीय रङ भरी आञ्चलिकता थप्न भरमग्दुर प्रयास गरेको देखिन्छ । बोलीभाषा, रहनसहन,जीवनचर्या, संस्कार–पेसा आदिले पनि फिरफिरे उपन्यास राम्रो नै देखिन्छ । कथानक सुहाउँदा पात्र र पात्र तथा कथानक सुहाउँदो परिवेशले कथानक, पात्र र परिवेशको प्रयोगले ‘फिरफिरे’ उपन्यासको आख्यान संरचना तयार भएको छ, जुन उपन्यास सुहाउँदो नै देखिन्छ ।
कतिपय सन्दर्भ सामान्यझैं लागे पनि जीवनका गहन पक्षलाई उपन्यासले उजागर गरेको देखिन्छन् । अन्तिमपटक  पिच्कु माझीलाई लेखकले पोस्टकार्ड दिँदा उसले भनेको छ, ‘जीवनभरि यी आँखाले नदीको पानी हेरेर जीवन बिताएँ तर आज आँखाको पानी सकिएर जीवन अन्धकार हुन पुग्यो ।’ यस्ता कतिपय प्रसङ्ग उपन्यासमा छन्, जसले जीवनलाई गहन रूपले बुझ्न मार्गप्रशस्त गरेका छन्  । सिसीमा पैसा लुकाएको, बुबाको फोटो लुकाएको, बाँसमा नाम लेखेको, पैसा चोरेर भागेको, केटौले प्रेम, पैसा दिएर पवनलाई झुटो बोल्न लगाएका जस्ता बाल्यकालीन कतिपय घटनाले  हरेकको बालक जीवनको तस्विर मात्रै उतारेको छैन मनलाई विदीर्ण पनि पार्छन् । अन्धविश्वास र त्यसको असर, शिक्षाको महŒव, पारिवारिक जिम्मेवारी, कुप्रथा, परिवारका आत्मीयजनको वियोगको पीडाजस्ता गम्भीर विषयदेखि पवन, बसन्त, पुन्ने र टङ्केका बालसुलभ सन्दर्भले मन कुँडिन्छ । जीवनको गति भने जस्तो नभएको कुरा पवनको पलायन, रकी दादाको महान् विचार, सर्वजित मास्टरको पलायन आदिले जीवन पनि फिरफिरे नै हो तर यसलाई गति दिन जीवनमा परिस्थितिरूपी हावा आवश्यक हुन्छ भन्ने जीवन दर्शन उपन्यासको शीर्षकसित जोडिन पुगेको छ । भाग्न हिँडेका केटाको पैसा हडप्ने काउन्टरवाला, जीवनको खुला किताब पिच्कु माझी, लोक र दन्त्य कथाको पेटारो बोकेकी जुठी आमैका अनुभव, अन्धविश्वासको धिमो वर्तमानमा बाँचेको कोहिनुर उपन्यासमा जीवन पढाउने प्राध्यापक हुन् । तसर्थ जीवन दर्शनका हिसाबले पनि यो उपन्यास उत्कृष्ट नै रहेको छ ।
कविता लेखनदेखि नै सरल भाषाका प्रयोक्ता बुद्धिसागरले ‘कर्नाली ब्लुज’ मा जस्तै थानीय बोलचालको भाषाको प्रयोग गरिएको ‘फिरफिरे’ उपन्यासमा कथानक, विषयवस्तु र वर्णन शैली पनि ‘कर्नाली ब्लुज’ जस्तो देखिन्छ । सरल प्रस्तुतीकरणले आम पाठकलाई उपन्यास सहजै अर्थबोध्य बन्नु यसको सबल पक्ष हो भने सरलताका नाममा साहित्यका लागि अपेक्षित मान्यता र मापदण्ड, अर्थ गाम्भीर, उक्ति विचित्रता आदिमा लेखकको ध्यान पुगेको छैन । पूर्वदीप्तियुक्त शैली, वृत्ताकारीय कथानक, घटना विन्यासको कौशल हुँदाहुँदै असुहाउँदा कतिपय शब्द र पदावलीले भाषिक गरिमालाई कमजोर पारेको देखिन्छ ।
यसरी कथानकलाई चुइँगम तन्काएझैं तन्काउनु, सरलताका नाममा भाषिक गरिमाको ख्याल नगर्नु, पाठकलाई ‘कर्नाली ब्लुज’ पढ्दै छु कि ‘फिरफिरे’भन्ने सन्देह रहनु, उस्तै विषय वस्तु सवर्णन कौशल र भाषिक विन्यास पाइनु, विपुल कायमा फैलिनु, मूल्य पनि बढी हुनु तथा असहज प्रयोगमा ख्याल नगर्नु जस्ता सीमाहरू हुँदाहुँदै पनि उपन्यासको अन्तमा राखिएको आत्मस्वीकारोक्तिलाई मनन गरी जीवन दर्शन खोज्ने हो भने उपन्यासले तराईको कुनै निश्चिथ एक परिवेशीय धरातललाई फोटकपी तुल्य चित्रण गरेको छ । सामान्य व्यक्तिलाई समाजले हेर्ने धारणा र सोही व्यक्ति सेलीब्रेटी भएपछिको हेराइको दृष्टिकोणले तितो यथार्थ बोकेको छ जो आम लेखकको संवेदनासित जोडिएको छ । समाजको जीवन्त चित्र उतार्नु, छिपेका कतिपय महŒवपूर्ण पाटालाई उजागर गरी आम जनमानस समक्ष राख्नु, जन्मधरालाई केन्द्रीयतामा राखी साहित्य सिर्जना गर्नु, कौतुहलतापूर्वक कमजोर नै भए पनि कथानकलाई मिलाएर पाठकलाई अन्तसम्मै रूचिपूर्वक लैजाने सामथ्र्य राख्नु यसका प्रमुख शक्ति हुन् ।
प्रकाशित मितिः   १ फाल्गुन २०७२, शनिबार १०:१६