सरसफाइमा पहल किन नगर्ने ?


विकासको आफ्नै गति हुन्छ । विकासको आफ्नै नियम हुन्छ । विकास आफ्ै प्रभाव हुन्छन् । पूर्वाधार विकासको क्रममा जनताको स्वास्थ्य तथा अन्य सामाजिक प्रभावहरूलाई नहेरेरै विकासका कार्यहरू अगाडि बढाउँदा मानिसहरूमा विकासको हर्षाेल्लास भन्दा बढी निराशा जन्माउछ । विगत दुई वर्षदेखि वीरेन्द्रनगरमा धुलियाविटदेखि ईत्राम खोलासम्मको सडकलाई चौडा बनाइ फोर लेनको बनाउने काम भइरहेको छ । यो काम पाएको आशिस निर्माण सेवाले काम पनि रफ्तार गरिनै रहेको छ । भारतीय नाकाबन्दीको कारणबीचमा केही समय काममा अवरोध भएको भए पनि अहिले काम अगाडि बढिरहेको छ । बाहिरबाट हेर्दा, वा टाढाबाट हेर्दा यो कामले पक्कै पनि सुर्खेतको मुहार
फेर्नेछ । सुर्खेत उपत्यकाको एउटा पृथक पहिचान दिनेछ । तर सडकको छेउछाउमा वसेका मानिसहरूसँग कुरा गर्ने हो भने यो सडकले उनीहरूलाई केही दिनेछैन । केही दिनको अन्तरमा त्यहाँका स्थानीयसँग कुरा गरिसकेपछि मुख्यत दुईवटा कुरा उनीहरूले समस्याको रूपमा देखाए ।
(१) जताततै धुलैधुलो
सडकको छेउमै घरहरू छन्, सकडको छेउमै बजार पनि छ । सकडको छेउमै बाक्लो बस्ती छ । सडकलाई चौडा पारिएको छ, चौडा पारिएको सडक उनीहरूको आँगनमै पुगेको छ । त्यसमा उनीहरूको कुनै आपत्ति छैन । उनीहरूको स्वकारोक्ती छ, यो विकासको स्वभाविक नियम हो । तर उनीहरूलाई अप्ठ्यारो लागेको कुरा चाहिँ के छ भने घरनजिक आएको सडकले धुलो भने घरभित्रै छिराइदिएको छ । भान्सामा पनि पूरै धुलोधुलो छ । जाजरकोट बाहेक समग्र प्रदेश नम्बर ६ मा जाने सवारी साधनहरू गुड्ने सडक भएकाले पनि सडक खाली हुँदैन । धुलाले पूरै घर, पसल छोपिदिएको
छ । केही समय अगाडि अत्यधिक धुलो भएको कारण आफूहरूलाई मर्का परेको भनेर स्थानीयहरूले आन्दोलन समेत गरे, काम अगाडि बढाउन दिएनन् । त्यसपछि निर्माण कम्पनी आशिस निर्माण सेवाले दिनको दुई पटक सडकमा पानी खसाल्ने सहमति ग¥यो । खसालेको पनि छ तर त्यति नै पर्याप्त भएन । अत्याधिक मात्रामा सवारी गुडेको हुनाले पानी खसालेर मात्रै धुलो उड्ने समस्यामा न्यूनीकरण गर्न सकिएको छैन । बाटोमा पैदल यात्रु त हिँड्नसक्ने स्थिति नै छैन । खडेरीले धुलोले जति सताउँछ, त्यो भन्दा बढी सताउँछ बर्खाको हिलाले । गत वर्षामा सडकमा पैदल यात्रुहरू हिँड्न सक्ने स्थिति नै थिएन । मानिसहरूलाई कतिसम्म सास्ती थियो भने न्यूनतम सय मिटर बराबरको यात्रा पनि गर्नुप¥यो भने पुरै हिलाम्य होइन्थ्यो । ठूला सवारी साधन बाहेक मोटरसाइकल, साइकल चलाउनेहरूले त हिँड्न समेत निकै मुस्किल थियो । बाटाको छेउमा व्यवसाय गर्नेहरूको बेहाल नै थियो । एउटा वर्षा त गयो, अहिले खडेरीमा स्थिति त्यस्तै छ । धुलो उडेर सडक छेउछाउको पूरै क्षेत्र धुलाम्य छ । धुलोको कारण लाग्ने रोगहरू खसगरी श्वासप्रश्वाससँग सम्बन्धित रोगहरू बढी नै लाग्ने देखिन्छ । जनस्वास्थ्यको हिसाबले पनि सडकले त्यहाँका स्थानीयहरूलाई खुशी राख्न सकेको छैन ।
(२) वर्षामा डुबाउने डर
उमा पेट्रोल पम्पदेखि उताको भू–भागमा विगतमा पनि डुबानको समस्या थियो । सडकबाट सहज निकासको व्यवस्था हुँदा सडक छेउछाउका मानिसहरूले डुबानको समस्या भोग्नुपरेको हामी सबैलाई जगजाहेर नै छ । अहिले फोरलेनको सडक बनाइसकेपछि पनि त्यहाँको उक्त समस्या समाधानको कुनै उपाय नपहिल्याएको देखिन्छ । हुनलाई त विकासे आयोजनाहरूमा उक्त समस्या समाधानको लागि उपायहरूका नक्सा कोरिएका पनि होलान तर यो कागजमा बनाइएको नक्साले वर्षाको भेल रोक्न सक्दैन । वर्षा आउने समय पनि नजिकै छ । यो वर्षामा पनि कुनै निकास भेटिनेछैन सायद । निकास नहुँदा सडक छेउका मानिसहरू फेरि पनि डुबानमा पर्नुपर्नेछ । मानिसहरूले आफ्नो दिनहुँ कठिनाइ भोग्नुपर्ने यस स्थितिमा सम्बन्धित निकायहरू यसमा निष्किय नरहनु दुर्भाग्यपूर्ण रहेको छ । निर्माण कम्पनीले पनि ध्यान नदिने, स्थानीय अगुवा पनि सक्रिय नहुने हो भने हाइवे छेउका मानिसहरू मुख्य सहरभित्र डुबानमा पर्ने समस्या यति छिट्टै हट्ला जस्तो लाग्दैन । सामान्य भिरालो जग्गा भएको ठाउँमा समेत डुबानको समस्या हुने र सुर्खेत प्रवेश गर्ने प्रवेशद्वारमै असहज सडकले हाम्रो वीरेन्द्रनगरको कस्तो परिचय देला ।
धुलो र हिलोको अवस्था त्यहाँमात्र सीमित छैन । सरसर्ती यरिचौकसम्मको यात्रामा जुम्लारोड हिँडेको हाम्रो वीरेन्द्रनगरको समग्र सडकको स्थिति कस्तो छ, जान्न सकिन्छ । खाल्डाखुल्डा र धुलो धुँवाले मुख्य बजार मानिने जुम्लारोडलाई प्रदुषित बनाइदिएको छ । केही समय अगाडि वीरेन्द्रनगर सरसफाइ गर्नको लागि सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गर्ने गरेको सरसफाइ अभियान पनि रोकिएको छ । उद्योग वाणिज्य संघको उक्त सराहनिय पहललाई निरन्तरता दिनु जरुरी छ । यसको लागि सुर्खेत उद्योग वाणिज्य महासंघलाई एक्लै हुनुहुँदैन, जति पनि सामाजिक सेवामा सक्रिय संस्थाहरू सुर्खेतमा छन्, ती सबैले उक्त अभियानमा साथ दिइ पुनः सुरु गर्न आवश्यक रहेको छ । जति पनि युवाहरू विभिन्न संघ–संस्थाको नाममा सक्रिय छन्, ती सबै युवाहरू पनि यस कार्यमा सक्रिय हुन जरुरी छ ।

प्रकाशित मितिः   ११ फाल्गुन २०७३, बुधबार १४:०५