अस्वस्थ प्रतिस्पर्धाले यात्रुको विचल्ली

सुर्खेत, ८ फागुन ।
कालिकोट फोइमहादेवकी रामकला शाही सदरमुकाम कालिकोटमा तालिम लिनका लागि गत माघ २८ गते नाग्मबाट बसमा चढिन् । दिउँसो तीन बजेको तालिम भेटाउनका लागि बिहान १० बजे बसमा सवार भएकी रामकलाले सदरमुकाममा चलिरहेको उक्त तालिमलाई भेटाउन सकिनन् । कारण उनी सवार बस साँझ पाँच बजेपछि मात्रै सदरमुकाम पुग्न सक्यो ।
नाग्मघाटबाट बसमा तीन घण्टाको दूरी रहेको बाटोमा बसले ६ घण्टा लगायो । र, रामकलाले पहिलो दिनको तालिम भेटाउन सकिनन् । बसले बाटोमा सुस्त चलाएर नभइकन अनावश्यक लामो समयसम्म बाटोमा रोकिराख्नु र बिग्रनुका कारण उनले तालिम भेटाउन नसकेको बताइन् । रामकला मात्रै होइनन् । कर्णाली राजमार्गमा यात्रा गर्ने प्रायः जसो यात्रुहरूले भोग्नुपर्ने समस्या हो, यो ।
राजमार्गका बीचमा पर्ने पुलहरूबाहेक अन्य ठाउँमा खासै अप्ठ्यारो छैन । तर यातायात व्यवसायीले आफू अनुकूल गाडी चलाउनुले यात्रुले सास्ती भोग्नुपरेको छ । विनाकारण आफूखुशी बाटोमा गाडी रोकेर समय बर्बाद गर्नु कर्णाली राजमार्गमा सामान्यजस्तै भइसकेको
छ । बसपार्कबाट गाडी छुटेपछि आधा बाटोमा रोकेर यात्रु खोज्नुका साथै मानवबस्ती नै नभएको ठाउँमा गाडी रोक्ने प्रचलननै बसेको छ । दुर्घटनाको समाचार बन्ने कर्णाली राजमार्गमा पछिल्लो समय कालोपत्रे हुनुका साथै टाइमकार्ड लागू भएपछि यात्रुले ढुक्कका साथ यात्रा गर्ने वातावरण सिर्जना भएको छ ।
तर पछिल्लो समय राजमार्गमा यातायात व्यवसायीबीच हुने प्रतिस्पर्धा मुख्य समस्या बन्दै गएको छ । विभिन्न यातायात व्यवसायी समितिमा आवद्ध बसहरू सञ्चालन हुने भएकोले एकले अर्काबीच अस्वस्थ प्रतिस्पर्धा गर्दै आएका छन् । जसको प्रत्यक्ष असर यात्रुमाथि परेको छ । सोही दिन जुम्लादेखि सुर्खेतका लागि छुटेको बसमा सवार यात्रुहरूले पनि निकै सास्ती खेप्नुप¥यो । जुम्ला बजारबाट बिहान ९ बजे नाग्मघाट पुगेको उक्त बसले त्यहाँबाट यात्रु हालेर आधा बाटोमा खाना खुवाउने भन्दै हिँडायो । तर नाग्मबाट केही किलोमिटर हिँडेपछि यात्रु नभएको भन्दै बाटैमा रोकियो । बिहानैदेखि खाना नखाएका यात्रुहरूले दुई घण्टासम्म निरन्तर बाटोमा खालीपेट कुर्नुप¥यो । एकजना यात्रुले चालकलाई सदरमुकाममा सरकारी काम भएकोले छिटो लिन आग्रह गरे । तर चालकले भने, ‘सरकारी गाडी हो र जतिबेला पायो त्यतिबेला हिँड्ने, तेल त्यसै आउँदैन केरे, हतार भए गाडी आफै चलाउनुहोस् न त ।’ चालकको यस्तो जवाफ सुनेपछि उनको अर्को बोली निस्केन । मध्यान्ह १२ बजे रोकिएको ठाउँबाट हिँडेको गाडी दुईबजेतिर कालिकोटका गाल्जेमा आएर बिग्रियो ।
यात्रुहरू हैरान भएर अर्को गाडीको व्यवस्था गर्न आग्रह गरे । त्यो बीचमा थुप्रै गाडी आए पनि उक्त बसका कर्मचारीले पैसा फिर्ता गर्न नमानेपछि एक घण्टा त्यसै बाटोमै कुर्नुपरेको फोइमहादेवकै रणवीर शाहीले बताए । सोही दिन मालपोत कार्यालय कालिकोटमा जग्गा सम्बन्धी कामका लागि उनले आफन्तलाई बोलाएका थिए । बसमा सहजै रूपमा तीन घण्टामा पुग्न सकिने उक्त बाटोमा त्यस दिन एक दिन लाग्यो । आएका गाडीहरू पनि फरक समितिको गाडीको यात्रु भन्दै छोडेर गए ।
एक त चालकको लापरबाही र मनपरीका कारण बाटोमै अलपत्र परेका यात्रुहरूलाई अर्को समितिको भन्दै नलिएपछि बाटोमा यात्रुको विचल्लीका साथै त्यस दिन तय गरेका सबै कामकाज व्यर्थ भए । ‘हामीलाई सधैं गाडीवालाले यस्तै गर्छन्,’ बालीघाटबाट मान्म बजारका लागि सवार हरि बुढाले भने, ‘भनेको समयमा कहिल्यै पुग्न पाउने होइन, कतै गाडी बिग्रीहालेमा पनि उही समितिको गाडी नआएसम्म चढ्न पाइन्न ।’
लामो दूरीका यात्रामा मात्रै होइन । छोटो दूरीमा पनि फरक यातायात व्यवसायी समितिमा आवद्ध गाडीहरू एकसाथ छुटेमा बाटोमा चढ्ने यात्रुहरूले गाडी नै पाउँदैनन् । एकले अर्कोलाई सहयोग नगर्ने भएका कारण यात्रुहरू मर्कामा पर्ने गरेका छन् । यसरी एकले अर्काको यात्रुलाई लिन नमान्दा यात्रुहरूले भनेको समयमा गन्तव्यमा पुग्न नसक्नुका साथै सहज यात्रा गर्ने अवसरबाट पनि वञ्चित हुनुपरेको छ ।
यातायात व्यवसायीको मनपरीबारे न त कुनै यात्रुले गुनासो गर्न सकेका छन् न नियमनकारी निकायले यसबारे ध्यान पु¥याएको छ । बाटो र सवारी पुग्दैमा सबै कायापलट हुने होइन । यात्रुले सहज र सरल तरिकाले यात्रा गर्न पाएमा मात्रै बाटो पुगेको सार्थक हुने यात्रुहरू बताउँछन् । त्यसैले राजमार्गमा हुने यस्ता अस्वस्थ प्रतिस्पर्धालाई नियन्त्रण गरी यात्रुलाई सहज रूपमा यात्रा गर्ने वातावरण सिर्जना गर्नु प्रहरी प्रशासनको मुख्य जिम्मेवारी रहेको उनीहरूको भनाइ छ ।

प्रकाशित मितिः   ९ फाल्गुन २०७३, सोमबार १४:०८