भूकम्प प्रभावित जिल्लामा खोप अभियान
सुर्खेत: सरकारले कर्णाली प्रदेशका भूकम्प प्रभावित सात जिल्लामा खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जाजरकोट, रूकुम–पश्चिम, सुर्खेत, जुम्ला, कालीकोट, दैलेख र सल्यानमा खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको हो ।
अभियान पुस ५ गतेदेखि १४ गतेसम्म सञ्चालन हुनेछ । मन्त्रालयका अनुसार जाजरकोट र रूकुम–पश्चिममा ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकालाई दादुरा र रुबेला खोप लगाइने छ भने सुर्खेत, जुम्ला, कालीकोट, दैलेख र सल्यान १६ वर्षदेखि ४५ वर्षसम्मका सबै व्यक्तिलाई टाइफाइडविरुद्धको टि.सि.भी. खोप लगाइने छ ।
साथै जाजरकोट र रूकुमपश्चिम जिल्लामा नियमित खोप लगाउन छुट भएका नौ महिनादेखि पाँच वर्ष उमेरसम्मका बालबालिकालाई छुट खोप पनि दिइने मन्त्रालयले जनाएको छ । छुट खोपका लागि नियमित खोप कार्ड लिएर आउनसमेत मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
खोप अभियान सञ्चालन हुने स्थान र मितिबारे थप जानकारीका लागि नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
प्रकाशित मितिः ५ पुष २०८०, बिहीबार १०:५८
साझा बिसौनी ।