भूकम्पमा ज्यान गुमाउनेका परिवारलाई बीमा रकम हस्तान्तरण

सुर्खेत: जाजरकोट भूकम्पमा परेर ज्यान गुमाएका १२९ परिवारलाई दुई लाखको दरले बीमा रकम हस्तान्तरण गरिएको छ । राष्ट्रिय बीमा कम्पनी र कर्णाली प्रदेश सरकारले संयुक्त रूपमा उक्त रकम हस्तान्तरण गरेका हुन् ।

बीमा कम्पनी र प्रदेश सरकारबीच यस अघिनै प्रदेशका सबै नागरिकको प्राकृतिक प्रकोप बीमा गरिएको थियो । सोही अन्तर्गत भूकम्पमा ज्यान गुमाएकाहरूको परिवारलाई बीमा रकम हस्तान्तरण गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयको विवरण र प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पठाएको विवरणका आधारमा उक्त रकम हस्तान्तरण गरिएको थियो । क्रमशः सबैलाई बीमा रकम वितरण गरिने बीमा कम्पनीले बताएको छ । त्यसका लागि कागजात मगाउने कार्य भइरहेको छ । मन्त्री जिसीले बीमा रकमले पीडित परिवारलाई ठुलो राहत भएको बताए ।

प्रकाशित मितिः   ५ पुष २०८०, बिहीबार १०:५७