सरकारले दिने सहुलियत खोइ ?
सुर्खेत, ७ फागुन
केहीदिन पहिला गुटुबाट ६२ वर्षीय मेघराज कँडेल कामका लागि सदरमुकाम वीरेन्द्रनगर आए । गुटुदेखि वीरेन्द्रनगरसम्मको यात्राका क्रममा कँडेलले गाडीको पुरै भाडा तिरे । ज्येष्ठ नागरिकको परिचय–पत्र देखाउँदै उनले भाडामा ५० प्रतिशत छुट मागेका थिए । तर गाडीका सहचालकले उनको कुरा सुनेनन्, बरु उल्टै हकारेर पूरै भाडा लिएरै छोडे ।
‘बाबु मसँग ज्येष्ठ नागरिकको परिचयपत्र छ’ उनले भने, ‘कार्ड देखाएपछि ज्येष्ठ नागरिकलाई गाडी भाडामा छुट हुन्छ भन्थे, तर मैले आजसम्म छुट पाएको छैन । गाडीमा छुट माग्दा उल्टै हप्की खानुपर्छ, उल्टै सरकारसँग गएर माग्न पो भन्छन् ।’ गुटुका कँडेल त केवल प्रतिनिधिमूलक पात्र मात्र हुन् । उनीजस्ता अन्य ज्येष्ठ नागरिकले सरकारले घोषणा गरेको सेवा सुविधा उपभोग गर्न पाएका छैनन् । सरकारले ६० वर्ष उमेर पुगेका सबै नेपाली नागरिकलाई ज्येष्ठ नागरिकको परिचय–पत्र प्रदान गर्दै आएको छ । त्यही परिचय–पत्रको आधारमा यातायात र स्वास्थ्य उपचारमा सहुलियत पाउने उल्लेख छ ।
सहुलियत पाउने आशमा महिला तथा बालबालिका कार्यालयमा परिचय–पत्र लिन आउने ज्येष्ठ नागरिकको संख्या बढ्दो छ । दैनिक रूपमा कार्यालयमा ज्येष्ठ नागरिकहरू परिचय–पत्र लिन आउने गरेको महिला तथा बालबालिका कार्यालय सुर्खेतले जनाएको छ । तर परिचय–पत्रको आधारमा पाउनुपर्ने सेवा र सुविधाबाट भने उनीहरू वञ्चित भइरहेको कार्यालयको भनाइ छ । परिचय–पत्रको आधारमा पाउनुपर्ने सुविधा दिलाउनका लागि अब अनुगमन गरिने कार्यालयले प्रतिबद्धतासमेत जनाएको हो । ६६ वर्षीय नरेश्वर उपाध्यायले पनि परिचय–पत्र पाएको तीन महिना भइसक्यो । तर पनि उनले हालसम्म परिचय–पत्र देखाएर कुनै पनि ठाउँमा सहुलियत नपाएको गुनासो गरे । उनले गाडीमा मात्र होइन, अन्य ठाउँमा पनि बुढापाका भन्दै हेला गर्ने गरेको दुखेसो पोखे ।
‘मैले परिचय–पत्र पाएको तीन महिना भयो, परिचय–पत्रले छुट पाइन्छ भन्ने पनि थाहा थिएन,’ उपाध्यायले भने, ‘परिचय–पत्र त पाइयो, तर धेरै पटक सवारी प्रयोग गरियो कसैले पनि छुट दिएनन् ।’ गाडीका कर्मचारीहरूसँग छुट माग्दा विभिन्न वहाना गर्ने र सरकारसँग नै माग्न भन्दै हपार्ने गरेको उनको गुनासो छ । गाडीमा दुई जनालाई मात्र आरक्षण कोटा रहेकोले पहिले नै छुट दिइसकेको भन्दै टार्ने गरेको ज्येष्ठ नागरिक बताउँछन् । सवारी यात्रामा मात्रै होइन, सरकारले ज्येष्ठ नागरिकहरूलाई अस्पतालहरूमा समेत उपचार गर्न आउँदा ५० प्रतिशत छुट दिनुपर्ने प्रावधान राखेको छ । ६० वर्ष पुगेका हरेक नेपाली नागरिकले ज्येष्ठ नागरिक परिचयपत्र पाउने र त्यसैका आधारमा अस्पतालमा उपचार सेवामा पनि आधा छुटको व्यवस्था गरिएको हो । तर हालसम्म कुनै पनि ज्येष्ठ नागरिकहरूले उक्त सुविधा भने लिन पाएका छैनन् । बुढेसकालको समयमा धेरै व्यथाले च्याप्ने गरेकोले पटक–पटक आफू अस्पताल जाँदा छुट पाउन नसकेको ६६ वर्षीया जसीदेवी उपाध्यायले बताइन् । परिचय–पत्र पाएपछि छुट पाइन्छ भन्ने थाहा पाएर कार्यालयमा आएको उनको भनाइ छ । ‘अहिलेसम्म त छुट पाएकी छैन,’ उनले भनिन्, ‘अब परिचय–पत्र बन्यो, पाइन्छ कि हेरौं कस्तो हुने हो ।’
निजी स्वास्थ्य संस्थाहरूले त छुट दिने कुरै भएन । तर सरकारी निर्णयको कार्यान्वयन गर्ने सरकारी अस्पतालहरूबाट नै ज्येष्ठ नागरिकहरूले हालसम्म सरकारले दिएको सुविधा पाउन सकेका छैनन् । सरकारी स्वास्थ्य संस्थामा समेत उपचारका लागि जाँदा लाइनमा बस्नुपरेको र छुट समेत नपाएको ज्येष्ठ नागरिकहरूको गुनासो छ । सरकारले निर्णय गरे पनि यातायात व्यवस्था कार्यालय र स्वास्थ्य मन्त्रालयबीचमा छुट गरिएको बारेमा समन्वय हुन नसक्दा कार्यान्वयनमा समस्या देखापरेको सहायक महिला विकास अधिकृत कृष्णा शाहीले बताइन् । ‘सरकारले निर्देशिका नै जारी गरिसकेपछि अनिवार्य रूपमा ज्येष्ठ नागरिकलाई छुट दिइनुपर्दछ,’ उनले भनिन्, ‘तर यसको कार्यान्वयनको लागि यातायात र स्वास्थ्यका केन्द्रीय निकायबाट नै समन्वय हुन
आवश्यक छ ।’
ठूला सहरका अस्पतालहरूमा ज्येष्ठ नागरिकलाई दिइए पनि सबै जिल्ला अस्पतालहरूमा भने कार्यान्वयनमा आउन नसकेको अधिकृत शाहीको भनाइ छ । ज्येष्ठ नागरिक परिचय–पत्र मात्रै होइन, ६० वर्ष उमेर पुगेको नागरिकता हुने बित्तिकै आरक्षणमा छुट्याइएको सेवा सुविधा उपलब्ध गराउनुपर्ने शाहीले उल्लेख गरिन् ।
साझा बिसौनी संवाददाता ।