दैलेख पर्यटन महोत्सवको महत्व
जिल्लाको पर्यटन विकास र इतिहास लेखनका लागि यही फागुन १२ देखि २२ गतेसम्म दैलेख बजारमा राष्ट्रिय कृषि, उद्यम, घरेलु तथा व्यापार मेला सञ्चालन हुन गइरहेको छ । दैलेख जिल्लामा पहिलो पटक हुन लागेको पर्यटन महोत्सवलाई भव्यरूपमा सफल पार्न जिल्लास्थित सम्पूर्ण राजनैतिक दल, संघ–संस्था लगायतका निकायहरूले ऐक्यबद्धता जनाइसकेका छन् । आयोजक धमाका राष्ट्रिय दैनिक दैलेख, ध्रुवतारा सामुदायिक एफएम दैलेख, रिपोटर्स क्लब शाखा दैलेख, साझा प्रतिविम्ब साप्ताहिक दैलेख छन् भने सह–आयोजकमा तिनकुने साप्ताहिक दैलेख, मातृभूमि सञ्चार केन्द्र नेपाल दैलेख, नारायण नगरपालिका कार्यालय दैलेख, घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दैलेख तथा सहयोगी जिल्ला लघु उद्यमी समूह संघ (डीमेगा) दैलेख रहेका छन् ।
महोत्सवका उद्देश्यहरू दैलेखमा यत्रतत्र छरिएर रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पर्यटकीय महŒव बोकेका इतिहासहरू तथा खनिज पेट्रोलियम पदार्थको उत्खनन्, जलविद्युतको सम्भावना, जडिबुटीको सम्भावना, पर्यटन आदि लगायत स्थानीय लोक संस्कृति र संस्कारको संरक्षण, नयाँ प्रतिभाको खोजी, स्थानीय कच्चा पदार्थमा आधारित लघु घरेलु तथा साना उद्योगहरूबाट उत्पादित वस्तुहरूको प्रचार–प्रसार एवं बजारिकरणमा सहयोग गर्ने, दैलेखलाई धार्मिक पर्यटकिय स्थलको रूपमा विकास गर्ने रहेका छन् ।
दैलेख जिल्लामा थुप्रै र महत्वपूण पर्यटकीय स्थलहरू छन् । त्यहाँका धार्मिक तथा पर्यटकीय स्थलहरूको संरक्षण, प्रचार र विकास गर्न सकेको खण्डमा त्यसले समग्र दैलेख जिल्लाको समृद्धिमा पनि सघाउ पुग्नेछ । त्यसैले पनि दैलेख जिल्लाको धार्मिक तथा पर्यटन विकासको लागि यो महोत्सवले महŒवपूर्ण भूमिका खेल्न सक्नेछ । श्रीस्थान, नाभिस्थान, पादुका, दुल्लूको गढी, खम्बा, शिलालेख, पञ्चदेवल, कोटिला लगायत विभिन्न गढीहरूको संरक्षण, जिर्णोद्वार र प्रवद्र्धन गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म प्रचार–प्रसार गरी दैलेखलाई पर्यटनको गन्तब्य बनाउनु पनि महोत्सवको उद्देश्य हो । जुन उद्देश्य प्राप्तीका लागि सबैको भूमिका र योगदान रहन जरुरी छ ।
मध्यपश्चिमको पहाडी जिल्ला दैलेख जैविक तथा सांस्कृतिक विविधताले भरिपूर्ण, धार्मिक, ऐतिहासिक, पौराणिक र संस्कृतिको उद्गम स्थल, श्रीस्थान, नाभिस्थान, धुलेश्वर, पादुका, तल्लो डुङ्गेश्वर, पञ्चकोशी आदि धार्मिक र पर्यटकीय सम्भावना बोकेका धरोहरहरू दैलेखमा रहेका छन् । यस सुन्दर जिल्ला दैलेखको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महŒवलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म प्रचार–प्रसार गर्नसके आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाउन सकिन्छ । धार्मिक, सांस्कृतिक र पर्यटनको क्षेत्रमा सम्भावना बोकेको यस क्षेत्रलाई पञ्चकोशी गन्तव्य यात्राको रूपमा विकास गर्नसके यस जिल्लाको आर्थिक समृद्धिको सपना साकार गर्न सकिन्छ ।
नेपालमा सबैभन्दा बढी कलात्मक देवल र शिलालेखहरू दैलेखमा पाइन्छन् । यहाँका मूर्तिहरूमा बौद्ध र हिन्दु धर्मलाई समान रूपमा चित्रण गरेको पाइन्छ जसले धार्मिक सहिष्णुता झल्काएको देखिन्छ । यहाँ प्राचिन समयमा युद्ध जितिसकेपछि स्थापित स्तम्भ तथा वीर खम्बाहरू हालसम्म पनि देख्न सकिन्छ । यहाँ पृथ्वी मल्लको कृतिस्तम्भ, दुल्लू गढीको स्तम्भ र दैलेख बजारका चार खम्बा आदि देखिन्छन् । दामु पालको स्तम्भलाई नेपाली भाषामा लेखिएको पहिलो अभिलेख मानिन्छ । उचित संरक्षणको अभावमा यो स्तम्भ हतियार उद्याउने ढुङ्गा भएको छ ।
दैलेखको अन्य महŒवपूर्ण सम्पदामा नारायण नगरपालिका–१ को पुरानो बजारमा ढुङ्गाले बनाएको कलात्मक कोत गढी पनि हो । वि.सं. अठार सय २०४६ तिर बहादुर शाहको नायबीकालमा गोर्खाली सेनाले यो गढी बनाएको इतिहास छ । त्यसैगरी अर्को महŒवपूर्ण सम्पदा बेलासपुर मन्दिर पनि हो । यो मन्दिर खस मल्ल शासन अन्त्य भएपछि निर्माण गरिएको थियो । बेलासपुरका प्रथम नायक श्रीबर्माले वि.सं. १४७५ मा दरबारसँगै कुल देवता बटुक भैरवको मुर्ती राखेर मन्दिर निर्माण गरेका थिए । दैलेखको दुल्लूस्थित बालेश्वर शिवालय पनि दैलेखको पहिचान हो । करिब दुई सय वर्ष अगाडि बनेको यो मन्दिर श्री ३ जङ्गबहादुर राणाका पिता काजी बाल नरशिंह कुवरले जिर्णोद्वार गरेका थिए । खस साम्राज्यको शितकालीन राजधानी तथा खस मल्ल साम्राज्य हटेपछि सन्सारी बर्माले बनाएको दैलेख राज्यको राजधानी दुल्लू हो ।
यहाँका चाडपर्वहरू र उत्सवहरू देउडा नाँच, मारूनी नाँच, दोहोरी गीत, हुड्केली नाँच, न्याउले, नगरा नाच, रत्यौली आदि सांस्कृतिक कर्यक्रमहरूको आयोजना गरी मनाइन्छ । दैलेखको इतिहास यसको पार्दुभाव देखिकै बैभव, संस्कृती, व्यापार र शासन सत्ताका अनेक आयामहरूलाई समेटी दैलेखको इतिहास कोर्न सकिन्छ । दैलेख भाषा, संस्कृती र इतिहासको खुला संग्रालयको रूपमा परिचित रहेको छ । यहाँ रहेका गुठीहरू, सांस्कृतिक चाड पर्वहरूका बारेमा र शिलामा लेखिएका लेखहरूको प्रचार–प्रसार गरी इतिहास लेख्न जरूरी छ ।
दैलेखस्थित विभिन्न संघ–संस्थाहरूको अगुवाइमा सञ्चालन हुन लागेको यस दैलेख पर्यटन महोत्सवको अवसरमा इतिहासविद, संस्कृतिविद, प्राध्यापक, प्राज्ञ, साहित्यकार लगायत विज्ञहरूको उपस्थितिमा दैलेखको इतिहास लेखन कार्यमा कोसेढुङ्गा साबित हुनेछ ।
(लेखक सुर्खेत उद्योग वाणिज्य संघका मानार्थ विशिष्ट सदस्य हुन् ।)
प्रकाशित मितिः ८ फाल्गुन २०७३, आईतवार १३:५८
साझा बिसौनी संवाददाता ।