कथा : साथी

एसएलसीको जाँच सकिए पनि खासै उत्साह छैन मनमा । हाम्रा धेरै योजना थिए । तर अब ती कहिल्यै पूरा हुने छैनन्, सायद । यस्तै सोचेर टोलाइ रहन्छु । भित्र कतै आइरहने आँधिबेहरीका छालले एकनासले मष्तिस्क हल्लिरहेको भान हुन्छ । कसैसँग बोल्न पनि झर्को लाग्ने । मणि हराएको नागझैं छटपटी भइरहन्छ मलाई ।

आज राती सपनामा अर्जुनलाई देखें । ऊ एकान्तमा सुँक्क सुँक्क गरेर रोइरहेको थियो । ऊसको नजिकै गएर हात समाएँ । ऊ झनै ठूलो स्वरमा हिक्क गर्न थाल्यो । मन थाम्न सकिनँ, म पनि उसँगै भक्कानिएँ । अनयास कुकुर भुकेको आवाजले बिउँझिएँ ।
बत्ती बालेर चारैतिर आँखा दौडाएँ । अहँ ऊ कतै थिएन ।

०००

त्यतिबेला हामीहरू किशोरावस्थामा थियौं । मनमा सपनाका पालुवाहरू भर्खर–भर्खर टुसाउन थालेका थिए । रहर त कति कति । रहरहरूले नयाँ–नयाँ स्वरूपमा तिनपाते हालेका हुन्थे ।

सम्झिदा लाग्छ ती दिनहरूसँगै हाम्रा चञ्चले किशोरकालहरू समयको दोबाटोमा कतै छुटिगए । बाँकी रहे केबल तीता मिठा तिनै सम्झानाहरू ।
अचम्मका ठेट्नाहरू थियौं हामी । हाम्रो आफ्नै ग्याङ थियो । हामीले आफ्नै तरिकाले नाम दिएका थियौं, ‘दिवाना ग्याङ ।’

तर अरूहरूले हामीलाई आवाराहरू भने पनि सुनेको नसुनेझैं गथ्र्यौ । आफ्नै उन्मक्त संसार थियो त्यो । हामी त्यही संसारका मुसाफिरहरू ।
हाम्रो ग्याङको अलि चतुर चाही अर्जुने नै थियो । ठट्टा खुब फुर्थे उसको दिमागमा । भन्थ्यो ‘केटा हो अब केही गर्ने बेला आयो । यसपाली सुभाघाट मेला जानुपर्छ । अनि उतैबाट ब्याउली ल्याउनुपर्छ । घरमा आमालाई दुःख छ ।’

हामी हो मा हो मिलाउँथ्यौं । ऊ फुरूक्क पथ्र्यो । कौशल र म सही थाप्थ्यौं । अनि अट्टहास गुन्जिन्थ्यो । दिनहरू यसै बितिजान्थे ।

०००

अर्जुन पुलामी बलियो र हट्टाकट्टा थियो । दुम्सीको जस्तो सारो न सारो कपालमा तेल र पानी लगाएर सिलिप्प कोथ्र्यो । जहिले पनि चिटिक्क परेर हिँड्ने उसको बानी आकर्षक थियो । गोरो वर्णको ऊ हाम्रो ग्याङको ह्याण्डसम ब्वाइ । मान्छे हेर्दा जस्तो ह्याण्डसम थियो उस्तै व्यवहार पनि खुव मिलाउँथ्यो हामीसँग । तर कहिले काहीं कोही केटाहरूले साह्रै हेपेर निहुँ खोज्दा जंकी पारा देखाउन पछि परेन । तर आफैं चाहिँ अगाडि सरेर कहिल्यै भिडेन ।

केटीहरू चाहिँ ऊ प्रति किन किन नजिक हुन खोज्थे । मान्छे खासै ज्याद्रो थिएन । ठट्यौली पाराको ऊ पढाइमा भने मध्ययम विद्यार्थी । हाम्रो कक्षाकै सरिता रिजाल उसलाई अरू केटीहरूले भन्दा बढी नै नजर जुधाउँथी । ऊ पनि मौका पाएसम्म नजरका तिर फ्याँक्थ्यो । मोरी त खुत्रुक्कै ।

कौशल र म लुकिलुकी चर्तिकला हेथ्र्यौं । अनि खित्का छोड्दै विस्तारै लय हाल्थ्यौं ‘हाम्लाई पनि मायाले हेर ओई संगीता ।’

स्कुलदेखि उसको घर पुग्न ठ्याक्कै एक घण्टा लाग्थ्यो । गाउँको पुच्छारमा पुराना टिनले छाएको उसको घर कुनै रोगी बुढो झैं देखिन्थ्यो । उसको घर धेरै पटक ऊसँगै गएको छु म । ऊसका बा थिएनन् । संकटकालमा रोल्पाको कुनै चौकीमा कार्यरत हुँदा माओवादीसँगको भिडन्तमा मारिएका हुन् । पुलिसका हवल्दार थिए उसका बा ।

बा मर्दा ऊ मात्र आठ वर्षको थियो । उसकी दिदी १० वर्षकी दिइन् रे । घरमा आमा र उसकी दिदी थिए । कुन्ति दिदीले एसएलसी पास गर्न सकिनन् । आमाले घरनजिकै घुम्ती किराना पसल खोलेकी थिइन् । सानो भट्टी पसल जस्तो । रक्सी पनि बेच्थिन् । कुन्ती दिदी आमालाई पसलमा सघाउँथिन् ।

पसलमा नानाथरीका मान्छे आउँथे । बोतल चढाएर ठूलो–ठूलो स्वरमा हल्ला गर्थे । कहिले काहीं त हल्दारनी काकी तिनै सरावले मात्तिएकाहरूसँग छिल्लिएको पनि देख्थें । मेरो अल्लारे मन सिरिङ्ग हुन्थ्यो । लाग्थ्यो पैंतालिस नकटेकी उनमा बैंसका जिजीविषा अझैं बाँकी नै छन् ।

पहेंलो कुर्था सलवार र आँखमा गाजल लगाउँदा बिछट्टै राम्री देखिन्थिन्, कुन्ता दिदी । म उनको घरमा जाँदा खाना पकाएर खुवाउने उनै हुन्थिन् । अर्जुनलाई जस्तै मलाई पनि आफ्नै भाइ सम्झेर खुवै माया गर्थिन । मलाई पनि उनी आफ्नै दिदीझैं लाग्थ्यो । उनको व्यवहारमा कुनै उच्श्रृंखलता थिएन । थियो त केवल निश्छल आनीबानी । मलाई साँच्चै सुन्दर लाग्थ्यो उनी ।

एक दिन गाउँकै एउटा लाहुरे केटासँग भागी विवाह गरिन् उनले ।

०००
अर्जुन पसलमा बस्न खास्सै जाँगर गर्दैनथ्यो । स्कुल छुट्टी भएपछि सरासर घरै पुग्थ्यो । कहिले काहीं हाम्रो घर तिर पनि आउजाउ गर्ने बानी थियो उसको । हामी कहिले काहीं चोकबजार अनि हटिया फन्का लगाउँदै गफिन्थ्यौं । ऊ भन्थ्यो ‘एसएलसी दिएपछि त म भर्तीमा जान्छु होला केटा हो । तर तिमीहरू पढ्न नछोड है ।’

हामी जिस्काउँथ्यौं ‘ओई डल्ले त्यसपछि सरूसँग झ्याईं पार्ने होलास् हैन । बरू कुरा काँसम्म पुग्यो भन्न हाम्लाई नि ।’

ऊ पनि मुसुक्क हाँस्दै ठट्टाको भावले भन्थ्यो ‘अहिले त आँपचौरसम्म पुग्या छ, साँधीखोला कटेपछि सम्झ सरू त ज्यानकै हो ।’

हा..हा..हा सबैसँगै खित्का छोड्थ्यौं । माहोल खुव तातिन्थ्यो । घर पुग्दा अबेर हुन्थ्यो । हामी खाना खाएर लुसुक्क कोठामा छिथ्र्याैं । किताब त समाए जस्तो मात्रै । कुरा धेरै हुने । टेष्ट परीक्षा नजिकै आउँदै थियो । हाम्रो पारा साँच्चै आवारा नै थियो ।

०००
एकदिन कौशलले सुनायो ‘यार अर्जुनलाई त सरिताले रगतले लेखेको चिठ्ठी पठाइछे । मलाई दे’खाथ्यो । क्या भनेनी पूरै पानको पातमा खत्रा सायरी पनि लेखेकी थिइ । मैले पनि पढेँ नि ।

‘तिमी बिना लागिरहन्छ के दिन के रात प्रिय म दिन्छु चोखो माया तिमी देऊ अजम्बरी साथ प्रिय ।’‘

मैले भने ‘प्रगति त भाकै मान्नुपर्छ यार । दोस्तले झ्याईं पार्ने भो ।’

०००

मेरो पनि भित्र कतै माया छ को लड्डु फुट्न लागेका थिए । म पनि त उमालाई खुब मन पराउँथे नि ।

उमा कार्की हाम्रो कक्षाको सुन्दर केटीको लाइनमै थिइ । गहुँगोरो वर्ण । कालो केही छोटो कपाल । गाजलु आँखा । आकर्षक जिउडाल सबै–सबै असाध्यै मन पर्थे मलाई ।

एक साँझ भेरी किनारको ठूलो बगरमा हामीसँगै थियौं । वातावरण एकदमै शान्त र स्थिर । ऊ लजाउँदै मेरो सम्मुख आइ । कान्तिमय चेहरा अनि लजालु नयन । उसले नै मेरो हात समाएर किनारसम्म डो¥याइ । मैले पनि हिम्मत गरेर हात लम्काएँ । अनि मायालु अंगालोमा बेरेर मिठो चुम्बन साटें ऊसँग । ऊ मेरै काखको सिरानी बनाएर धेरै बेरसम्म टोलाइरही । मैले उसका बिग्रिएका कपालका केस्राहरू एक–एक गरी मिलादिएँ । त्यत्तिनै बेला पानीमा सलबलाईरहेका उसका पाउहरू एक्कासी भास्सिए । ऊ त पानीमा डुब्न पो आँटि । जोडले चिच्याएँ उमा…उमा..

दिदी आएर मलाई झक्झक्याइन । कति सपनामा कराउँछ यो । ओइ…के भयो तँलाई ?

आङ छामे पसिनै पसिना । त्यो त सबै सपना पो रहेछ । यसैगरी धेरै पटक मेरो सपनामा आइरही ऊ । लागिरहन्थ्यो, उसलाई विपनामा यसैगरी माया गरिरहन पाए । तर रात ढल्किजान्थो अनि सपना टुटिजान्थे। अनि दिनभरी उसकै सम्झना । उसको नजिक पर्दा किनकिन सास फुल्थ्यो । दमको रोगीझैं स्वाँ स्वाँ गर्न पो थाल्थें । आफैंदेखि रिस उठ्थ्यो । सोच्थें, अब एसएलसीपछि सायद हाम्रो भेट नहुन पनि त सक्छ । यो ठाउँ छोडेपछि उसले मलाई के सम्झिले र । मनओइलिएको सागझैं लत्रक्क लत्रिन्थ्यो ।

उमाको घर बर्दिया तिर कतै थियो । ऊ हाम्रै गाउँमा रहेका उसका मामाको घरमा बसेर पढ्थी । ऊसँग कक्षा कोठामा बोलचाल हुँदा मन फूलको थुँगो हुन्थ्यो । तर ‘उमा तिमीलाई मन पराउँछु’ भन्ने आँट चाहिँ कहिल्यै आएन । अहँ कहिल्यै भन्न सकिनँ । केटाहरू जोस्याउने पारामा भन्थे ‘अस्ती उमाले तेरो बारेमा कुरा गर्दै थिइ यार । भन्थी ‘रमेश त क्या दामी सायरी लेख्छन । मान्छे त मनकै छन् ।’

मलाई लाग्थ्यो, केटाहरूले पक्कै जोते । उमाले त्यस्तो भनि होला भनेर लाग्दै लागेन । ऊ प्रायः केटाहरूसँग त्यति साह्रै फ्र्याङ्क भएको कहिल्यै देखेको त छैन । अनि एकथरी केटाहरूको अगाडि अर्को केटाको तारिफ कसरी गरी होला र ?

म नपत्यारै पत्याएझैं गरिदिन्थें ।

०००
टेष्ट परीक्षा आउनै लाग्यो । पढ्नु गुन्नु साढे सातै छ । हामीहरू स्कुलको चौरमा बसेर माघको घाम तापेर गफिंदै छौं । त्यतिकैमा कौशलले अर्जुन पट्टी फर्किएर आँखी भौं खुम्च्याएर हल्का मुस्कुराउँदै बोल्यो,
‘ओइ सरिताको चिठ्ठीको उत्तर लेखिस त मुला । हिजो त खुब मस्किएको देख्दै थें त तिमीहरूलाई । केहो यसपालीको वैशाखको हावासँगै उडाउने विचार छ कि क्या हो ? क्यै भए हाम्लाई नि भन है जिक्री । ए दोस्ती कभी नहिं तोडेंगे हम ।’

फेरी लामो हाँसो हा……हा……हा..
अमृत सर हामी भएतिरै लम्किएर आइरहेको देखें । केटाहरू पढनदास देखिए । हतारहतार किताबपट्टि मुख जोते । म पनि पढेझैं गर्न थालें ।
‘ओई अर्जुन यहाँ आईज त ।’ अमृत सरले अर्जुनलाई औंल्याएर बोलाए । उसले उठेर पाइन्टमा लागेको धुलो टक्टक्यायो । अनि हामीतिर फर्केर निस्साहय भावले हे¥यो । उसको मुखाकृति केही बिग्रिएको देखें ।

ऊ हतार हतार सर भएतर्फ बढ्यो ।
सरले उसलाई पछि लगाएर हिँडे । उनीहरू त हेडसरको रूमतर्फ पो लागे । मेरो मनमा ढ्याग्रो बज्न थाल्यो । किन बोलाए हुन त हेडसरले ऊसलाई ? प्रश्नको बाढीले मनमा छाल हानिरहे ।

देखें सरिता र उसका बा पनि हेडसरको रुममा पस्दै थिए ।

शंकाको फेर त समातीसकेका थियौं हामीले । मुख्य कुरा के थियो हामीले भेउ पाउन सकेनौं ।

०००
छैंठौ घण्टी बज्यो । हामिपनि कक्षातिर हान्नियौं । छैंठौ पिरिएड सकियो । सर बाहिरिए । त्यति नै बेला अर्जुनलाई पछाडिको ढोकाबाट छिरेको देखें हतास र उदास मुद्रामा । उसको शरीर थरथर काँपिरहेका थियो । मुख त निलो न कालो । ऊ केही बोलेन । ट्याप्प ब्याग समाएर हावाझैं बाहिर हुत्तियो । अनि फटाफट हिँड्यो । स्कुलको गेटसम्म पुग्दासम्म सर्टको दायाँ बाहुलाले आँखा पुछिरहेको थियो । साँच्चै ऊ सेन्सेटिभ टाइपको छ । झन आजको उसको व्यवहाले हामी अवाक्क थियौं ।

केहीबेरमा कक्षाभरी डढेलो झैं हल्ला फैलियो, ‘अर्जुनेले हेडसर र सरिताको बाको हातबाट रामधुलाई भेट्यो नि । खुब लव लेटर लेख्नुपर्ने सुवेदारकी छोरीलाई ।’

हल्ला फिंजाउने उही केशव पहिलो थियो । ऊ सरितालाई खुव पिछा गथ्र्यो तर सरिताले उसलाई फुटेको आँखाले हेर्थिन । सरिताका बा सारै कडा मिजासका थिए । छोरा–छोरीको साह्रै चियो गर्थे । अर्जुनले दिएकोे लेटर उसले किताबमा लुकाएकी रै’छ । भाइले देखेर बालाई भनिदिएछ । सरितालाई साफ हकारेछन् । त्यतिले नपुगेर स्कुलमै आएर यत्रो रडाको मच्चाए ।

०००
सरिता काण्डको भोलिपल्ट खबर सुनियो, अर्जुन स्कुलबाट घरै नगएर बेपत्ता भयो । कहाँ गयो कसैलाई थाहा भएन । उसको परिवार र हामी साथीहरू बाहेक उसको कसैले मतलव पनि राखेन । अर्जुनको बेपत्ताको खबरसँगै उमाप्रतिको मेरो प्यार पनि मुर्झायो । टेष्ट पास भएर हामीले एसएलसी पनि दियौं । अहँ उसको अत्तो पत्तो लागेन ।
०००
तर मेरो मनबाट उसको याद वेपत्ता हुन सकेन । त्यसैले त सपनामा झस्काउन आइरहन्छ घरिघरि । मेरो प्यारो साथी !

प्रकाशित मितिः   ८ फाल्गुन २०७३, आईतवार ११:३३