सानैदेखि पढाइमा अब्बल

डा. महेन्द्रकुमार मल्ल मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिस्टार हुन् । वि.सं. २०२६ भदौ २५ गते आमा विष्णु मल्ल र बुबा शम्शेरबहादुर मल्लको जेठो छोराको रूपमा उनको जन्म भएको थियो । वि.सं. २०५३ असोज २ गते सुर्खेत शिक्षा क्याम्पसमा सहायक प्राध्यापकबाट शिक्षण सेवामा प्रवेश गरेका मल्ल मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा दोस्रो कार्यकाल रजिस्टार पदमा रहेर जिम्मेवारी निर्वाह गरिरहेका छन् । साहित्यकार समेत रहेका डा. मल्लले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेका छन् ः

म सामान्य किसान परिवारमा जन्मिएँ । मेरो जन्म दैलेखको डाडाँपराजुल गाविस ओइरीमा भएको हो । हामी चार भाइबहिनीमध्ये म जेठो छोरा हुँ । बाल्यकाल रमाइलोसँग नै बित्यो । त्यति दुःख भोग्नु परेन । गाउँघरमा विद्यालयहरू टाढा थिए । एक घण्टा पैदल हिँडेर विद्यालय जानुपर्ने बाध्यता थियो । घरमा जुन अन्न उत्पादन हुन्छ न्वागीको रूपमा विद्यालमा गएर हेड सरलाई दिएको याद अझै पनि छ । पहिले चलन नैे यस्तो थियो । टाढा विद्यालय जाँदा मुवाँले खाजा झोलामा राखिदिनु हुन्थ्यो । कहिले खिर, कहिले मह, रोटी, मकै, भट्ट लैजान्थ्यौं । गाउँमा धेरै रमाइलो हुन्थ्यो । साथीहरू कम थिए, आफूभन्दा ठूलाले माया गर्थे । कहिले काहीं विद्यालयबाट फर्किन ढिला भयो भने आफन्तकोमा बस्ने गर्थें । औलपराजुल घरको आफन्त हुनुहुन्थ्यो । विद्यालय त्यही थियो । विद्यालय जाँदा बीचमा मामाघर पथ्यो । म बाल्यकालमा चञ्चले तर सोझो थिएँ । पढाइमा ध्यान दिन्थे । मेहेनत गरेर पढ्थें । कक्षामा प्रथम भएको खुशी अझै पनि याद आउँछ । मेरो पढाइ राम्रो स्थानमा थियो ।
म ८÷९ वर्षको हुँदा मेरो परिवार बसाइँ सरेर सुर्खेत आयो । गाउँका साथीहरूसँग छुट्टिएर सुर्खेत आउँदा म रोएको थिएँ । भरियाले भारी बोकेर सुर्खेत आउँदाको याद ताजा नै छ । सानो छँदा कहिले काहीं साथीहरूसँग गाउँघरमा आलु, काँक्रो, उखु चोर्न जान्थ्यौं । अझै पनि सम्झदा रमाइलो लाग्छ । हामी सुर्खेत आइसकेपछि धेरै साथीहरू भए । गाउँमा पूजा, विवाह हुँदा साथीहरू मिलेर रमाइलो गर्दथ्यौं । रातीमा आलु र काँक्रा धेरै चोरिन्थ्यो । एक पटक चौधरी गाउँमा हामीले एकै जनाको आलु धेरै चोर्न पुगेछौं । त्यसबेला पञ्चायत थियो । हामी चार जना साथीहरू मिलेर आलु चालेका थियौं । आलुका मालिकले धेरै आलु चोरी भएपछि गाउँमा पञ्चायत नै बोलाए । गाउँभरीका मान्छेहरू जम्मा भएर छलफल भयो । पछि मेरो घरबाट र अरु सबै साथीहरूको घरबाट क्षतिपूर्ति दिइयो । आलु चोरेर खाने बेलामा रमाइलो भएको थियो तर पछि घरबाट क्षतिपूर्ति तिर्दा किन एकै जनाको धेरै चोर्न पुगेछौं जस्तो लागेको थियो । पानीको कुलोमा माछा मार्नको लागि ढडिया थाप्ने गर्थें । हामी राती १ बजेतिर गएर चोर्ने गथ्र्यौं । साना–साना माछा चोरेर खाँदा खुब रमाइलो हुन्थ्यो ।
एक पटक घरमामुवाँले पैसा दिएर समानकिन्न पठाउनु भएको थियो । मैले त्यो पैसा खोपी खेलेर सकें । साथीहरूसँग गुच्छा, डन्डीवियो, कपर्दी, भकुण्डो र खोपी धेरै खेलिन्थ्यो । खोपी खेले पैसा सकिएपछि म खाली हात घर गएँ । त्यस दिनमामा घरमा आउनुभएको रहेछ । मामा अलि कडा स्वभावको हुनुहुन्थ्यो । मुवाँले मामालाई यो यसरी बिग्रदै हिँड्छ भनेर भनिदिनुभयो । त्यसपछि मामाले मलाई गाली गर्नुभयो । र पिट्नु पनि भयो ।
बुबा धार्मिक स्वभावको हुनुहुन्थ्यो । बुबाले कहिलेकाँही सम्झाउै भन्नुहुन्थ्यो, ‘नराम्रो काम गर्नु हुदैन्, गाउँमा अरुको छोराहरू कसरी बिग्रेका छन्, बिग्रनु हुँदैन् राम्रो बन्नुपर्छ ।’ यसरी बुबाले सम्झाउँदा पढेर जागिर खान्छु भन्ने सोच्थें । पढेर जागिर नै खानुपर्छ भन्ने लाग्थ्यो । कहिले काहीं रहरले खेतबारीमा काम गर्न जान मन लाग्थ्यो । रमाइलो गर्नका लागि साथीहरूसँग गाइगोठालो पनि गइन्थ्यो । कहिले काहीं साथीहरूसँग समान्य झगडा हुन्थ्यो । तर हामी छिट्टै मिलिहाल्थ्यौं । केटाकेटी हुँदा कहिलेकाहीं अरुले जे लगाएका छन् त्यही लगाउन मन लाग्ने । साथीहरूले नयाँ कपडा लगाएका छन् भने घरमा गएर मलाई पनि किनिदिनु भनेर सताउने गर्थें ।
मैले कक्षा ४ देखि शिव मावि लाटीकोइलीमा पढें । त्यसपछि एसएलसी जन माविबाट गरेको हुँ । म सानैदेखि अलि क्रियटिभ थिएँ । कक्षा ७ मा पढ्दा वक्तृत्वकला प्रतियोगितामा भाग लिएको थिएँ । राजाको जन्मउत्सवमा विद्यालयमा विभिन्न कार्यक्रमहरू हुन्थे । विद्यालयमा केही कार्यक्रमहरू भए भाग लगिहाल्थें । त्यसबेला टेलिभिजनहरूको जमाना थिएन । राजाको सवारी हुँदा डकुमेन्ट्रीहरू देखाइन्थ्यो, राजाहरूको जीवनको बारेमा । हामी साथीहरू मिलेर बजार डकुमेन्ट्रीलाई डगमेन्ट हेर्न जाने हो भन्दै २÷३ घण्टा लगाएर आउँथ्यौं ।
बचपनका यस्ता थुप्रै अनुभूतिहरू छन्, जो अहिले सम्झिदा बेग्लै आनन्द आउँछ ।

प्रस्तुतीः मुना हमाल

प्रकाशित मितिः   ९ फाल्गुन २०७३, सोमबार १४:०५