स्वास्थ्य संस्था नै समस्यामा
गत कार्तिक १७ गतेको भूकम्पले जाजरकोटमा ठूलो भौतिक क्षति निम्त्यायो । जसमा स्वास्थ्य संस्थाका भवनहरू पनि परे । भवन भत्किएपछि अहिले अधिकांश स्वास्थ्य संस्थाहरू त्रिपालबाट सञ्चालन भइरहेका छन् । भूकम्पले क्षति पु¥याएका जाजरकोटका आधा दर्जन स्वास्थ्य संस्थाले त्रिपालबाट सेवा दिइरहेका हुन् । भत्किएका स्वास्थ्य संरचनाको पुनर्निर्माण नहुँदा स्वास्थ्य सेवा त्रिपालबाटै प्रवाह भइरहेको हो । पूर्वाधार अभावमा स्वास्थ्य संस्थाको सेवा त्रिपालबाट दिइरहँदा समस्या भइरहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
पछिल्लो समय चिसोका कारण निमोनिया, श्वासप्रश्वास, दम, रुघाखोकी र सिजनल झाडापखालाका बिरामी ह्वात्तै बढेका छन् । यसरी सेवा दिइरहँदा प्रभावकारी हुन सकेको छैन । त्रिपालमा बिरामी राख्ने ठाँउसमेत हुँदैन । समस्या नै समस्या छ । मौसमी रोगका बिरामीको चापसमेत बढ्दा सेवा प्रवाहमा असहज हुने गरेको हो । अझ प्रसूति सेवा र निमोनियाका बिरामीको उपचारमा थप समस्या भइरहेको छ । साँघुरो ठाउँबाट धेरैलाई सेवा दिँदा समस्या हुनेगरेको हो । भूकम्पले भवन भत्किएपछि टेन्टमा पुगेका स्वास्थ्य संस्थाले सबैभन्दा बढी घामपानी र चिसोको समस्या झेल्दै आएका छन् । जसले गर्दा स्वास्थ्य संस्थाको सेवा प्रवाहमा समेत समस्या बढ्न थालेको छ । पानी चुहिने र औषधी मुसाले खाने, बिरामी राख्ने ठाउँ समेत नहुँदा समस्या हुनेगरेको छ । सबैभन्दा ठूलो समस्या प्रसूति सेवा सञ्चालन गर्न हुनेगरेको जनाइएको छ । कैयन् स्वास्थ्य संस्थाले चर्किएको भवनबाट सेवा दिइरहेका छन् । भूकम्प गएको डेढ महिना बितिसक्दा समेत भवन बन्ने प्रक्रिया सुरु नहुँदा स्वास्थ्य संस्थाका समस्या दिनहुँ थपिँदै गएको छ ।
जाजरकोटमा आधा दर्जन स्वास्थ्य संस्थामा पूर्णरूपमा क्षति पुगेको छ । यसैगरी २२ वटा स्वास्थ्य संस्थामा आंशिक क्षति पुगेको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा पनि बिरामीको चाप बढेको छ । दम, रुघाखोकी, सिजनल झाडापखालाका बिरामी बढेको हो । दिनप्रतिदिन बिरामीको संख्या बढिरहेको छ । चिसोका कारण एउटै समस्या भएका धेरै बिरामी स्वास्थ्य संस्थामा पुग्छन् । विशेष गरी दमका बिरामी अस्पतालमा आउने गरेका छन् । तर अहिले जिल्लाका आधा दर्जन स्वास्थ्य संस्था टेन्टबाट सञ्चालन भइरहेका छन् भने अन्य स्वास्थ्य संस्थाले समेत चर्किएका तथा पुराना भवनबाट सेवा दिइरहेका छन् । भूकम्प पीडितहरूको बसोबासको व्यवस्थापनमै ढिलाइ भइरहेको छ । अस्थायी आवास निर्माण समयमै हुन नसक्दा चिसोकै कारण धेरैले ज्यान समेत गुमाएका छन् । अर्कोतर्फ बढ्दो संख्यामा रहेका बिरामीहरूको स्वास्थ्य उपचारमा समेत समस्या देखिएको छ । त्रिपालमा रहेका स्वास्थ्य संस्थाहरूका लागि जतिसक्दो छिटो व्यवस्थित संरचनामा पुनस्र्थापित गर्नु अपरिहार्य देखिन्छ ।
प्रकाशित मितिः २ पुष २०८०, सोमबार १२:०७
सम्पादकीय ।