दैलेखमा रनिङ्ग शिल्ड सुरु

दैलेख, २९ माघ । 
दैलेख सदरमुकाममा जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय आठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । दुवै निर्वाचन क्षेत्रस्तरीय प्रतियोगिता सम्पन्न भएपछि जिल्लास्तरीय आठौं राष्ट्रपति रनिङ्ग शिल्ड  प्रतियोगिता सुरु भएको हो । 
प्रतियोगितामा निर्वाचन क्षेत्र नम्बर १ बाट २१ र क्षेत्र नम्बर २ बाट १५  माध्यमिक विद्यालयहरूको सहभागिता रहेको छ । प्रतियोगितामा भलिबल छात्र÷छात्रा दुवै, एथलेटिक्स एक सय मिटर, दुई सय मिटर, चार सय  मिटर, सय  मिटर, १५ सय मिटर र तीन हजार दौड छात्र÷छात्रा दुवै र हाइजम्प, लङ्गजम्प, ट्रिपल जम्प, सटफुट, ज्याभलिंक थ्रो छात्र÷छात्रा दुवै र कराँते, तेक्वान्दो खेलहरू हुने छन्  ।  
प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे र क्षेत्रीय खेलकुद विकास समितिका सदस्य अर्जुनजंग शाहीले राष्ट्रपति रनिङ्ग शिल्डको उद्घाटन गरेका थिए । खेलाडीहरू उत्साहीका साथ खेल्न सहभागी भएका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तीर्थनारायण श्रेष्ठले बताए । उद्घाटन कार्यक्रममा खेलाडीहरूले खेल प्रदर्शन गरेका थिए भने, पञ्चकोशी ललितकला केन्द्र, स्टार डान्स क्लबका साथै स्थानीय कलाकारहरूले नृत्य तथा साङ्गीतिक कार्यक्रमहरू देखाइएको थिए ।