सद्भावले बाँधिएको जोडी
पिता हरिभक्त नेपाल र माता नेत्रकला नेपालको कोखबाट वि.सं. २०२५ सालमा पाल्पामा जन्मिएका कमल नेपालको बाल्यकाल रमाइलोसँग बित्यो । १० भाइबहिनीमध्ये काइलो सन्तानको रूपमा जन्मिएका नेपाल बाल्यकालमा सबै साथीहरूसँग मिलनसार थिए । ठूलो परिवार भए पनि शिक्षित परिवार भएकाले नेपाललाई पढाइमा कुनै समस्या भएन । पढाइमा सधैं प्रथम नै हुने गर्थे । बाल्यकालदेखि नै सबै साथीहरूको नेतृत्व नेपालले नै लिने गर्थे । उनले भने, ‘हाम्रो परिवारको गाउँमा अलि बढी नै इज्जत गर्थे, त्यसैले पनि होला मैले साथीहरूलाई जे भने पनि नाइ कहिल्यै भनेनन्, सबै साथीहरूको नेतृत्व मैले नै गर्थें ।’
गाउँमा अरुको बारीमा काँक्रा चोर्न परेमा पनि नेपाल आफू नगइ साथीहरूलाई नै पठाउँथे । गाउँमा नेपालले लिन पठाएको भनेपछि जसले पनि दिने भएकाले पनि साथीहरू नेपालले भनेको जुनसुकै काम पनि गर्नपछि हट्दैनथे । एसएलसी पास नेपालले पाल्पाबाट नै गरे । पछि उच्च शिक्षा पढ्नको लागि उनी भैरहवा गए । उनका दाइ भैरहवामा नै बसेर पढ्ने भएकाले उनी पनि दाइसँगै भैरहवामा नै बसेर म्यानेजमेन्ट विषय लिएर पढें ।
उनी वि.सं. २०४५ सालमा सुर्खेत घुम्नलाई आएका थिए । उनका माइला दाइको सुर्खेतमा नै जागिर भएकाले र उनका मामा चिरञ्जीवि अर्याल पनि सुर्खेतमा नै भएकाले उनी सुर्खेत घुम्न आएका थिए । भैरहवामा नाम लेखाएर कमल सुर्खेतमा पढ्न थाले । उनलाई त्यतिबेला सुर्खेतमा व्यापार व्यवसाय गर्दा राम्रो हुन्छ भन्ने सल्लाह उनका मामाले दिएपछि उनले सुर्खेतमा स्टेशनेरी पसलको व्यापार सुरु गरे । पढाइ सुर्खेतमा भए पनि परीक्षा दिन उनी भैरहवा गए । उनले डिप्लो पास गरेपछि व्यापारलाई राम्रोसँग अगाडि बढाउनुपर्छ भन्ने सोचेर अगाडि बढे ।
उनको बाल्यकालको सोच र सपना भविष्यमा गएर ठूलो उद्योगपति बन्ने थियो । उनी व्यापार व्यवसायमा लागे । उनले आफू पढेको भगवती प्रस्तावित निमावि पाल्पामा एक वर्ष अध्यापन पनि गराए । ६ महिनासम्म करारमा सरकारी जागिर पनि गरे । तर, उनले व्यापार व्यवसायमा नै भविष्य देखे र फेरि उनी व्यापार व्यवसायमा नै फर्के ।
उनको विवाह गर्ने उमेर पनि भइसकेको थियो । विवाह गर्नुभन्दा अघि नै उनले आफ्नो एक्लो व्यापार सुरु गरी सकेका थिए । घरबाट पनि अब विवाह गर्नुपर्छ भन्ने कुरा आएपछि विवाहको लागि उनलाई उनका मामाले केटी देखाए । उनलाई देखाइएको केटी अरु कोही नभएर विन्दु थिइन् । त्यति बेला विन्दु पाल्पाको बहुमुखी क्याम्पसमा कक्षा १२ मा पढ्दै थिइन् । कमलले विन्दुलाई टाढैबाट हेरे । विन्दुको नजिक गएर बोलचाल नगरेरै उनलाई विन्दु मन परिन् । कमल बाल्यकालदेखि नै अन्य भाइबहिनीहरू भन्दा भिन्न नै थिए । सुझाव अरुको लिने तर, निर्णय सधैं आफैले गर्ने गर्थे । विवाहको कुरामा पनि सुझाव अरुकै लिए केटी अरुले नै देखाए तर, विवाह गर्ने कि नगर्ने निर्णय भने आफैले लिए । देख्ने बित्तिकै विन्दु कमलको मनमा बसिसकेकी थिइन् । घरपरिवारलाई उनले विवाह गर्छु भनेपछि विन्दुको परिवारसँग हात माग्न
गए । तर, विन्दुलाई केही थाहा थिएन । त्यतिबेलाको जमानामा छोरी भएपछि बाबुआमाले जहाँ दिन्छन् त्यही विवाह गर्नुपर्छ भन्ने थियो । त्यसैले पनि विन्दुले घरपरिवारसँग केही बोल्न सकिनन् । केटा को हो, कस्तो छ केही थाहै नपाएर एक्कासी विवाह मण्डपमा नै कमललाई विन्दुले देखेकी थिइन् । उनीहरूको २०४८ सालमा मागी विवाह भयो ।
पिता चन्द्रमणि ज्ञवाली र माता राधा ज्ञवालीको कोखबाट २०२८ सालमा अर्घाखाँचीमा जन्मिएकी विन्दुको बाल्यकाल रमाइलो र सुखद्सँग नै बित्यो । विन्दु कान्छी छोरी भएकाले सबैको माया ममतामा नै उनको बाल्यकाल बित्यो । उनले भनिन्, ‘दाइ र दिदी भन्दा म धेरै सानो थिएँ त्यसैले पनि सबैभन्दा सानो सन्तान भएकाले सबैको माया ममतामा नै हुर्किएँ ।’ एसएलसीसम्म अर्घाखाँचीमा नै पढेकी विन्दुले उच्च शिक्षाको लागि पाल्पामा दिदीको घरमा बसेर पढिन् ।
विवाहपछि विन्दु सुर्खेत आइन् । त्यसभन्दा अघि कहिल्यै सुर्खेत नआएकी विन्दुलाई सुरु–सुरुमा सुर्खेतको ठाउँमा घुलमिल हुन नै समय लाग्यो । उनले सोचेकी थिइन् सुर्खेत पनि पाल्पा जस्तै होला तर, उनले सोचेको भन्दा ठीक विपरित पाइन् । त्यतिबेला सुर्खेतको राम्रो विकास भइसकेको थिएन । नेपालको व्यापार सुर्खेतमा नै भएकाले विवाहपछि विन्दु पनि कमलसँग सुर्खेत आएकी थिइन् । पछि विन्दुलाई सुर्खेत नै मनपर्न थाल्यो । सुरुमा एक त विवाह गरेर आफ्ना सबैलाई छोडेर पराइ घर आउनु परेको पीडा थियो नै झन कहिल्यै नदेखेको ठाउँमा बस्नुपर्दा नरमाइलो पनि लाग्यो ।
माइतीघर सबै छोरीहरूको लागि दुई दिनको पाहुँना जस्तै हो । एक दिन त छोडेर अर्काेको घर जानैपर्ने । तर, विन्दुलाई भने विवाहपछि घरमा बस्नु नपरेकोले पनि छोरी बुहारीमा अन्तर थोरै भए पनि धेरै फरक लागेन । कहिले काहीं घर जाने भएकाले घरमा पनि सबैले छोरी जस्तै माया गर्ने भएकाले विन्दुलाई छोरी र बुहारी हुनुको फरक लागेन । विन्दुले सुर्खेत आएपछि स्नातकतह उत्तीर्ण पनि गरिन् ।
व्यापार सँगसँगै कमल र विन्दु अहिले समाजसेवामा पनि लागेका छन् । कमललाई बाल्यकालदेखि नै समाजसेवा गर्ने रुची भएकाले पनि समाजसेवामा आफू मात्र होइन विन्दुलाई पनि लगाएका छन् । अहिले नेपाल न्यू प्रभात स्टेशनेरीसँगै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ मध्यपश्चिम क्षेत्रीय संयोजकको रूपमा काम गरिरहेका छन् । विन्दु पनि लायन्स क्लब सुर्खेत काँक्रविहारको अध्यक्ष र महिला संघ समाजको सचिवका रूपमा रहेर काम गरिरहेकी छिन् ।
दुवै जना समाजसेवामा लागेका यो जोडीको विवाह पछिका दिनमा कहिल्यै झगडा गरेरनन् । किनकी दुवै जना शान्त स्वभावका भएका कारण पनि एकआपसमा भनाभन अहिलेसम्म भएको छैन । उनीहरू भन्छन्, ‘श्रीमान् श्रीमती भएपछि एकअर्काेको भावना बुझेर व्यवहार गर्ने र सद्भावको भावना पैदा गर्नसके झगडा गर्नुपर्ने कुनै कारण नै भेटिदैन ।’ जब एकले अर्काेलाई शंका गर्ने र विश्वास नगर्ने कुरा आउँछ तब नै हो सम्बन्धमा खटपट आउने गर्छ । समय मिलाएर र समय भएसम्म परिवारको साथमा घुम्न पनि जाने यो जोडी एकअर्काेको जन्मदिन तथा विवाह गरेको दिन आउँदा एकअर्काेलाई गिफ्ट दिने र लिने मात्र होइन बाहिर नै गएर रमाइलोसँग मनाउने पनि
गर्छन् । उनीहरूका दुई छोरी एक छोरा छन् ।
उनीहरूका अनुसार दाम्पत्य जीवनलाई दिगोपना दिनको लागि एकअर्काेको मर्म र भावना बुझ्नुपर्छ । श्रीमान् श्रीमती भनेका एक रथका दुई पांग्रा हुन् त्यसैले हरेक दुःख सुखमा साथ दिनसक्ने र एकले अर्काेलाई कदर गर्नसकेमा मात्र सम्बन्धलाई दिगो बनाउन सकिन्छ । जुनसुकै काम गर्दा पनि एकअर्काेसँग समन्यवन गरेर काम गर्दा सम्बन्धलाई झन् मजबुद बनाउन सकिन्छ । यो जोडी एकअर्काेको प्रशंसा पनि खुलेरै गर्छन् । नेपाललाई विन्दुको आफूलाई केही खान मन लागेको छ भन्ने थाहा पाउने बित्तिकै घरमा सामान नहुँदा जहाँबाट भए पनि खोजेर बनाएर खुवाउने बानी मनपर्ने गर्छ । त्यस्तै विन्दुलाई नेपालको हरेक काममा आफूसँग अघि बढाउने र सबै काम गर्नुपर्छ भनेर हौसला दिने बानी मनपर्ने गर्छ । उनी भन्छिन्, ‘मलाई समाजसेवामा लाग्नको लागि पे्ररित पनि उहाँले नै गर्नु भएको हो, हरेक काममा होसला दिनु हुन्छ त्यही बानी मनपर्छ ।’
उनीहरू भन्छन्, ‘जीवन भनेको केही गर्नका लागि भगवान्ले दिएको अमूल्य उपहार हो, यो जीवनलाई त्यसै खेर जान नदिएर केही कामका लागि उपयोग गर्न सक्नुपर्छ तब मात्र जीवन पाउनुको सार्थकता मिल्छ ।’ जीवनको अन्त्यसम्म हरेक दुःख सुखमा साथ र सहयोग जसले दिन सक्छ ऊ नै जीवनसाथी हो । साथीहरू त जीवनको हरेक मोडमा भेटिन्छन् तर, जीवनको अन्त्यसम्म जीवनसाथीले मात्र साथ दिनसक्छ अरु त बाटोमा भेटिएका बटुवा जस्तै हुन्, आज भेटिन्छन् भोलि छुटिन्छन् । जीवनसाथी भनेको शरीरको अभिन्न अंग हो जो एउटा मात्र अंग नभए शरीर अपूर्ण भए जस्तै जीवनसाथी विना पनि जीवन अपूर्ण नै हुन्छ । एक हातले ताली नबजे जस्तै जीवनसाथी विना पनि जीवनमा अगाडि बढ्न सकिदैंन । जीवन क्षणिक नै किन नहोस् बाँचुञ्जेलको लागि त जीवनसाथीको साथ चाहिन्छ ।
प्रेमपछिको विवाह मात्र दिगो र सफल हुन्छ भन्ने कुरालाई चिर्दै यो दम्पत्ती जोडीले समाजमा विवाह पछिको प्रेम झन् प्रगाढ हुन्छ भन्ने कुरालाई स्थापित गरेका छन् । प्रेम भनेको विवाह अघि हुनु र विवाहपछि हुनमा फरक छैन । तर, विवाह पछिको प्रेमले सम्बन्धलाई झन् मजबुद बनाउँछ भन्ने कुराको नेपाल र विन्दु उदाहरणीय पात्र बनेका छन् ।
साझा बिसौनी संवाददाता ।