हरायो नगर सरसफाइ अभियान

सधैं फोहोर बढार्न सक्दैनौंः संघ अब हामी आफै जुट्छौंः नगरपालिका

सुर्खेत, ६ फागुन ।
एक वर्ष पहिले सुरु भएको वीरेन्द्रनगर बजार क्षेत्रको सरसफाइ अभियान बीचमै हराएको छ । वीरेन्द्रनगरलाई सफा र सुन्दर नगरको रूपमा स्थापित गर्ने भन्दै सरसफाइ अभियान सञ्चालन गरिएको थियो । सुर्खेत उद्योग वाणिज्य संघले हरेक शनिवार गर्दै आएको नगरसफाइ अभियान पछिल्लो समय अलपत्र परेको हो ।
सुर्खेत उद्योग वाणिज्य संघको नेतृत्वमा नगरमा सरसफाइ अभियान सुरु भएको थियो । तर एक वर्ष पूरा नहुँदै यो अभियान हराउन पुगेको छ । सुरुवातमा संघका पदाधिकारीहरू नै बजार क्षेत्रमा फोहोर सफा गर्दै हिँडेका थिए । व्यवसायीहरू नै फोहोर बढार्दै हिँडेपछि उक्त अभियानलाई सर्वसाधारणले पनि साथ दिएका
थिए । अभियान अलपत्र परेसँगै बजार क्षेत्रका ढल र नालाहरू फोहोरले भरिएका छन् । फोहोर पनि व्यवस्थित हुन सकेको छैन ।
यो अभियानको प्रत्येक साता विभिन्न निकायले जिम्मेवारी लिने गरेका थिए । प्रत्येक साताको शनिवार बिहान बजार क्षेत्र भित्रका व्यवसायी, उद्योगी, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागितामा गरिने सरसफाइ अभियान गत साउनदेखि पूर्णरूपमा रोकिएको हो । साउनयता बजारमा सरसफाइ भएको छैन । सरसफाइबारे सचेतना जगाउन र जिम्मेवार निकायलाई झक्झकाउन अभियान थालिएको भन्दै संघले अब त्यसलाई अगाडि बढाउन नसक्ने प्रतिक्रिया दिएको छ । संघका अध्यक्ष प्रकाश अधिकारीले भने, ‘हामीले सबैलाई जागरुक बनाउनका लागि अभियान थालेका हौं, सधैंभरका लागि काम गर्न सक्दैनौं । यस्ता अभियान कुनै एकको मात्र ठेक्का हुँदैन, अब अरु कसैले यसको नेतृत्व गर्दा राम्रो हुन्छ ।’ यद्यपि यो अभियान हराएको नभइ केही समयका लागि स्थगित गरिएको अध्यक्ष अधिकारीको दाबी छ ।
अब यो अभियानलाई सबै मिलेर अगाडि बढाउनुपर्ने उनको भनाइ छ । ‘हामीले निरन्तर ३२ हप्तासम्म विभिन्न निकायको सहयोगमा सरसफाइ अभियानलाई अगाडि बढायौं,’ उलने भने, ‘अब बजारका व्यवसायी र नगरपालिका आफैले अभियानलाई अगाडि बढाउनु पर्दछ, उद्योग वाणिज्य संघले सधैं बजार सफा गर्दै हिँड्नसक्ने अवस्था छैन ।’ हाल नगरपालिकाभित्र चारलेन सडक निर्माण कार्य चलिरहेको र बजार क्षेत्रको सुरक्षाका लागि सीसी क्यामेरा जडानको काम अगाडि बढेकोले पनि संघले सरसफाइको अभियानलाई साथ दिन नसकेको अध्यक्ष अधिकारीको भनाइ छ । उनले एक सय १० दिनसम्म चलेको अभियानलाई पुनः अरु कसैले अगाडि बढाउने आँट नगरे त्यसको विषयमा सोचेर उद्योग वाणिज्य संघले थप निर्णय गर्ने बताए । ‘हामीले सरसफाइ गरी रहँदा साथ र सहयोग गर्नेहरूले हामी नहुँदा पनि सरसफाइ गर्छन् कि नाइ ? भन्ने हेर्नका लागि पनि अभियानलाई केही समयका लागि स्थगित गरेका हौं,’ उनले भने, ‘यदि कोही अघि नसरेमा पुनः विशेष योजनाका साथ सरसफाइ अभियानलाई निरन्तरता दिनेछौं ।’
संघले नगर सफाइको अभियान छोडेसँगै फोहार उठाउने जिम्मेवार निकाय वीरेन्द्रनगर नगरपालिका पनि सेलाएको छ । संघले छोडेको केही हप्तासम्म निरन्तरता दिए पनि असोजको महिनादेखि वीरेन्द्रनगर नगरपालिकाले पनि बजार सफाइ अभियानलाई निरन्तरता दिन सकेन । बजारमा थुप्रिएको केही फोहोर नगरपालिकाको गाडीले उठाए पनि साप्ताहिक रूपमा चलेको अभियानलाई निरन्तरता नदिएको स्थानीयको भनाइ छ । यता वीरेन्द्रनगर नगरपालिकाले बजारको फोहोर उठाइए पनि साप्ताहिक रूपमा सञ्चालित अभियानलाई तीव्रता दिन नसकिएको स्वीकार गरेको छ । नगरपालिका कार्यालयका वरिष्ठ अधिकृत प्रकाश पौडेलले आवश्यक समन्वय नहुँदा अभियान रोकिएको बताए । सेलाएको यो अभियानलाई नगरपालिका आफैले अगाडि बढाउने तयारी भइरहेको बेला स्थानीय निकायका कर्मचारीहरूको आन्दोलनका कारण रोकिएको अधिकृत पौडेलको दाबी छ ।
नगरभित्रका राजनीतिक दल, सरोकारवाला निकायहरूसँग बसेर पुनः नगरपालिकाले समन्वय गर्नेगरी अन्य कुनै निकायको नेतृत्वमा सरसफाइ अभियानलाई अगाडि बढाइने पौडेलले जनकारी दिए । बजारभित्र जथाभावी फोहोर फाल्ने व्यवसायी र घरधनीलाई कडा दण्ड तथा जरिवानाको व्यवस्था गरी नगरसफाइ अभियान सुरु गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले हरेक वर्ष नगरको सरसफाइ र सुन्दरताका लागि विभिन्न योजनाहरू ल्याउने गरेको छ । तर ती योजनाहरू कार्यान्वयन हुन नसक्दा वीरेन्द्रनगरको सरसफाइमा चुनौती थपिएको छ ।

प्रकाशित मितिः   ७ फाल्गुन २०७३, शनिबार १३:५६