अस्तव्यस्त सडकले सास्ती

ठेकेदारविरुद्ध स्थानीयको विरोध प्रदर्शन

सुर्खेत: जिल्लाकै प्रमुख पर्यटकीय स्थल काँक्रेविहार जाने सडक वर्षौंदेखि अस्तव्यस्त छ । मङ्गलगढी चोकदेखि लाटीकोइलीको शिव मन्दिरसम्मको सडक स्तरोन्नति नहुँदा स्थानीय नागरिकले सास्ती बेहोर्नु परेको छ । ठेकेदार कम्पनीले स्तरोन्नतिको कामबीचमै अलपत्र छोडेपछि लाटीकोइली क्षेत्रका नागरिकका साथै काँक्रेविहार पुग्ने पर्यटकले हैरानी भोग्दै आएका छन् ।

दैनिक उक्त बाटो भएर विद्यालय जाने विद्यार्थी थप समस्यामा पर्ने गरेका छन् । विद्यार्थी स्कुल जाँदा होस् या ज्येष्ठ नागरिकलाई सडकमा हिँड्नै अप्ठ्यारो हुने गरेको स्थानीय ललिता थापा बताउँछिन् । अलपत्र सडककै कारण पटक–पटक दुर्घटना समेत हुने गरेको छ ।

सडक निर्माणमा ठेकेदार कम्पनीले लापरबाही गरेको छ । सम्बन्धित निकायले पनि बेवास्ता गरेको स्थानीयको गुनासो छ । यसअघि प्रदेशको पूर्वाधार विकास निर्देशनालय र वीरेन्द्रनगर नगरपालिकाले संयुक्त रूपमा ठेकेदार कम्पनीसँग सम्झौता गरेर काम अघि बढाएका थिए । अहिले पूर्वाधार विकास निर्देशनालयले मात्रै जिम्मा लिएर ठेकेदार कम्पनीसँग नयाँ सम्झौता गरेको छ । पछिल्लो पटक २०७८ सालमा पुनः सम्झौता गरिएको थियो ।

कर्णाली प्रदेश पूर्वाधार विकास निर्देशनालयले २०७८ साल मंसिर १४ मा अमर–सिस्ने, नेपाल–मेघा कम्पनीसँग सडक स्तरोन्नतिका लागि सम्झौता गरेको हो । सम्झौता अनुसार २०८० साल असार १५ गतेसम्म काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । उक्त मितिमा काम हुन नसकेपछि सडक स्तरोन्नतिका लागि पुनः म्याद थप गरिएको छ । सम्झौता अनुसार २०८० साल फागुन १५ गतेसम्म काम सम्पन्न गर्ने गरी सम्झौता भएको निर्देशनालयले जनाएको छ । १२ करोड ७६ लाखमा ठेक्का सम्झौता भएको छ ।

सम्झौताअनुसार कम्पनीले काम अघि बढाएको छैन । दुई हजार चार सय मिटर सडकको काम अहिलेसम्म ४२ प्रतिशत मात्र सकिएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार पाँच करोड रकम भुक्तानी भइसकेको छ । ठेक्का सम्झौता सकिन करिब चार महिना मात्र बाँकी निर्देशनालयका सवइन्जिनियर प्रेमचन्द्र पाण्डेले बताए । उनका अनुसार ठेकेदार कम्पनीको लापरबाही काममा ढिलाइ भइरहेको छ । काम अघि बढाउन कार्यालयले ताकेता दिइरहेको उनको भनाइ छ ।

वर्षौदेखि सडक स्तरोन्नति हुन नसकेपछि बिहीवार विद्यार्थीसहित स्थानीयले सडक आन्दोलन गरेका छन् । समयमै मंगलगढी–काँक्रेविहार सडक स्तरोन्नति नभएको भन्दै स्थानीय नागरिक आन्दोलित भएका हुन् । दवावमूलक बहस कार्यक्रमसहित मंगलगढी चोकमा टायरसमेत बालेर विरोध गरिएको हो । मंगलगढी चोकमा उनीहरूले विरोध प्रदर्शन, बजार परिक्रमा सहित सडक खण्डमा सवारी साधन निषेधसमेत गरेका थिए । ‘स्कुल जाँदा–आउँदा विभिन्न समस्या त छन् नै पढ्ने बेलामा समेत शान्त रूपमा पढ्न पाईदैन’ विद्यार्थी सन्तोष थापाले भने, ‘पढ्ने बेला आन्दोलन गर्न नहुने भएपनि हामी बाध्य भएर आन्दोलनमा आएका हौँ ।’

ठेकेदारको लापरबाहीले सडक स्तरोन्नतिको काममा ढिलाइ हुँदा नागरिकले सास्ती भोग्नु परेको वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष ऋषि गिरीले बताए । वीरेन्द्रनगर नगरपालिका र पूर्वाधार विकास निर्देशनालयसँग सडक निर्माणको काम अघि बढाउन माग गरिएको उनले बताए । वडा अध्यक्ष गिरीले भने, ‘ठेकेदारको लापरबाहीले सडक स्तरोन्नतिको काममा ढिलाइ हुँदा वर्र्षैदेखि नागरिकले सास्ती पाइरहेका छन् ।’

स्थानीय प्रकाश न्यौपानेले सडकले सुविधाभन्दा बढी सास्ती दिएको बताए । उनले निर्माणाधीन सडक धुलाम्मे र पानी परेको समयमा हिलाम्मे हुने गरेको भन्दै निकै सास्ती भइरहेको जानकारी दिएका छन् । सडकमा खाल्टाखुल्टीको समस्या पनि उत्तिकै छ । सडकमा खाल्टाखुल्टी र धुलो, धुवाँले हिँड्नै सकिने अवस्था नभएको उनको भनाइ छ । ‘लामो समयदेखि जीर्ण अवस्थामा रहेको सडक स्तरोन्नति थालिए पनि काम नै अलपत्र परेको छ,’ उनले भने, ‘सडक स्तरोन्नतिमा ढिलाइ हुँदा आफूहरूले सास्ती भोग्नु परिरहेको छ ।’

प्रकाशित मितिः   २२ मंसिर २०८०, शुक्रबार १३:४९