लैंगिक हिंसाका घटना वृद्धि

सुर्खेत: कर्णाली प्रदेशमा लैङ्गिक तथा घरेलु हिंसाका घटना वृद्धि भएको पाइएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला तीन वर्षमा हिंसासम्बन्धी उजुरीको संख्या बढ्दै गएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा कर्णाली प्रदेशका दश जिल्लामा लैङ्गिक हिंसाका पाँच सय ७४ र घरेलु हिंसाका आठ सय ७५ मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७८/०७९ मा लैङ्गिक हिंसाका पाँच सय ७६ तथा घरेलु हिंसाका आठ सय ८३ मुद्दा दर्ता भए ।

यसैगरी आर्थिक वर्ष २०७९/०८० मा ६ सय ३९ लैङ्गिक हिंसाका मुद्दा दर्ता भएभने घरेलु हिंसाका आठ सय ५८ मुद्दा दर्ता भएका थिए । चालु आर्थिक वर्षको यो अवधिसम्म दुई सय ३१ लैङ्गिक हिंसाका र दुई सय ९१ घरेलु हिंसाका मुद्दा दर्ता भएका छन् ।

महिलामाथि हुने हिंसाका घटना न्यूनीकरण हुन नसकेको भन्दै सरोकारवालाहरूले थप पहल आवश्यक रहेको औँल्याएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले महिलाको अधिकार स्थापित गर्न राज्यले थप पहल र लगानी गर्नुपर्ने बताए । महिला हिंसा निवारणका लागि सुरक्षा निकायसँग रणनीतिक योजना बैठकमा मन्त्री जिसीले सचेतना अभावका कारण हिंसा सहेर घरमै बस्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा पनि जोड दिए । लिङ्गका आधारमा हुने सबै हिंसा न्यूनीकरणका लागि सरकार गम्भीर रहेको उनको भनाइ छ ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा महिला हिंसा बढी हुनेगरेको भए पनि न्यायको पहुँचमा कमै मात्र आउनेगरेको बताइन् । महिला हिंसा निवारणका लागि सुरक्षा निकायसँग रणनितिक योजनाका विषयमा सातवटै प्रदेशमा छलफल भइरहेको जानकारीसमेत दिइन् ।
लैङ्गिक हिंसा नियन्त्रणका लागि प्रहरीका सबै संयन्त्र परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी प्रमुख भिमप्रसाद ढकालले बताए । कर्णाली प्रदेशमा लैङ्गिक तथा घरेलु हिंसाको ग्राफ बढ्दो क्रममा रहेको उनको भनाइ छ । विगत तीन वर्षको तथ्याङ्क विश्लेषण गर्दा लैङ्गिक तथा घरेलु हिंसाका घटनाको ग्राफ निरन्तर बढेको पाइएको उनले बताए ।

प्रकाशित मितिः   २२ मंसिर २०८०, शुक्रबार १३:४९