अस्थायी आवास बनाउन रकम निकासा

भूकम्पपीडितले पाए पहिलो किस्ता

सुर्खेत: जाजरकोट र रूकुमपश्चिमका भूकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि अनुदान रकम उपलब्ध गराउन सुरु गरिएको छ । सरकारले गरेको निर्णयअनुसार आवास निर्माणका लागि पहिलो किस्ताबापतको रकम प्रभावित परिवारको बैंक खातामा पठाउन थालिएको हो । जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले स्थानीय विपत् व्यवस्थापन समितिको खातामा रकम जम्मा गर्न थालेपछि स्थानीय तहले लाभग्राहीको खातामा अनुदान रकम उपलब्ध गराउन थालेका हुन् ।

रूकुमपश्चिमका ६० प्रतिशत भूकम्पपीडितलाई पहिलो किस्ताबापतको रकम पालिकामा पठाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रवेश बढुवालले जानकारी दिए । उनका अनुसार प्रभावितमध्ये १५ हजार ६ सय ८९ परिवारका लागि पहिलो किस्ताको रकम पठाइएको हो । उनीहरूका लागि ३९ करोड २२ लाख रूपैयाँ निकासा गरिएको छ । समितिका अनुसार कूल २६ हजार पाँच सय ३१ लाभग्राही प्रमाणित भएका छन् । प्रमाणित भएका बाँकी लाभग्राहीका लागि पनि रकम निकासा प्रक्रिया अघि बढिसकेको बढुवालले जानकारी दिए । पछिल्लो समयमा रकम निकासालाई तीव्रता दिएको सरकारले लाभग्राही प्रमाणित गर्ने प्रक्रिया जारी रहेको र प्रमाणित भएकाका लागि तत्काल रकम निकासा गरिरहेको छ ।

यसैगरी जाजरकोटका भूकम्प प्रभावितका लागि पनि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरु गरिएको छ । जिल्लाका तीन स्थानीय तहका गरी १२ हजार ६ सय घरपरिवालाई पहिलो किस्ता पठाएको हो । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले ३१ करोड रकम निकासा गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हरिश्चन्द्र शर्माले बताए ।

जिल्ला विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका अनुसार बुधवारसम्म तीन वटा पालिकाका गरी कुल १२ हजार ६ सय लाभग्राही प्रमाणित भएका छन् । अन्य चार वटा पालिकाको वितरण आइनसकेको शर्माले बताए । उनका अनुसार स्थानीय तहमार्फत प्रतिलाभग्राही २५ हजारका दरले रकम वितरण भइहेको छ । पालिकाहरूले भने लाभग्राहीको विवरण पुनःपहिचान गरी रकम वितरण गर्ने जनाएका छन् ।

कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पमा परेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई बीमाबापतको रकम हस्तान्तरणको प्रक्रिया पनि सँगसँगै सुरु गरेको छ । मंगलवार नलगाड नगरपालिकाका ५६ जनामध्ये २९ जनाको परिवारलाई रकम हस्तान्तरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए । उनका अनुसार प्रति मृतक दुई लाखका दरले रकम वितरण गरिएको छ । अब क्रमशः सबै पालिकाहरूमा गएर अबको तीन चार दिनमै वितरण गरिसक्ने उनले बताए ।

प्रदेश सरकारले कर्णालीमा बसोबास गर्ने नागरिकका लागि यसअघि नै प्राकृतिक दुर्घटना बीमा गर्ने कार्यक्रम अघि सारेको थियो । सोही कार्यक्रम अन्तर्गत बीमा रकम वितरण गरिएको उनको भनाइ छ । भूकम्पमा परी जाजरकोट र रूकुमपश्चिममा गरी एक सय ५७ जनाको मृत्यु भएको छ । ‘हामीले एकै परिवारका चार जनाको मृत्यु भएको छ भने आठ लाख रकम दिने गरेका छौँ,’ जिसीले भने । वितरण कार्यमा मन्त्री जिसीसहित बीमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम सोडारी पनि सहभागी छन् । चाँडो रकम दिएको खण्डमा मृतक परिवारलाई सहयोग पुगोस् भन्ने उद्देश्यसहित हामीले रकम वितरण गरिएको उनको भनाइ छ ।

साथै प्रदेश सरकारले सार्वजनिक संरचना निर्माणका कामहरू सुरु गर्ने निर्णय गरेको छ । भूकम्पबाट प्रभावित खानेपानी, बाटो, विद्यालय, स्वास्थ्य चौकी, सिँचाइका योजनाहरूमा क्षति पुगेको छ । ती योजनाहरू प्रदेश सरकारले विनियोजन गरेको एक अर्ब रकमबाट मर्मत सम्भार गरिने भएको हो । अस्थायी आवास बनाउन रकम दिन थालिएको पनि मन्त्री जिसीले जानकारी दिए । उनका अनुसार केही पालिकाबाट क्षतिको वितण प्राप्त नभएकाले सख्या यकीन गर्न कठिनाइ भइरहेको छ ।

प्रकाशित मितिः   २१ मंसिर २०८०, बिहीबार १२:१७