‘छोरा मरे, न्याय मरेन’

सुर्खेत: ‘सोती घटना’ का पीडित परिवारले न्यायको अनुभूति गरेको बताएका छन् । चौरजहारी नगरपालिका–८, सोतीमा ६ जनाको ज्यान जानेगरी भएको हत्याकाण्डको फैसलापछि पीडित परिवारले बुधवार जिल्ला सदरमुकाम मुसिकोटमा ¥याली निकालेका हुन् ।

बाजागाजासहित आफन्तजन र अधिकारकर्मीहरूको साथमा रहेका पीडित परिवारले मृतकका आफन्तहरूले फूलमालासहित बजार परिक्रमा समेत गरेका छन् । ‘छोरा मरे, न्याय मरेन’ भन्दै उनीहरूले बजार परिक्रमा गरेका हुन् । मृतक नवराजका बुवा मुनलाल नेपालीले साढे तीन वर्षको लडाईपछि न्यायको महशुस जीत भएको बताए । फरक जिल्लामा न्यायको लडाइ भइरहेको र राजनीतिक कारणले न्याय पाइँदैन कि भन्ने लागेको बेला न्यायलयले न्यायको अनुभूति दिलाएको उनको भनाइ थियो ।

त्यसैगरी घटनामा मृतक गोबिन्द शाहीकी आमा भिमीकुमारी शाहीले अनिदो र भोकै रहेर पनि न्यायको लागि लडेको बताइन् । न्याय नपाउने चिन्तामा रहेका आफूहरूलाई अदालतले न्याय दिएको उनको भनाइ छ । अदालतको फैसलाले पीडित परिवार र सबैको मनमा शान्ति भएकोले खुसी मिलेको शाहीले जनाइन् ।
२०७७ जेठ १० गते जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या गरिएको थियो । उक्त घटनामा संलग्न भएको भन्दै रूकुम जिल्ला अदालतले २४ जनालाई जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले उक्त घटनामा मुद्दा दर्ता भएका ३४ मध्य २४ जनालाई जन्मकैदको फैसला गरेको हो । अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले पुर्पक्षका लागि थुनामा रहेका २३ जना र तारेकमा रिहा भएका एक जनासमेत गरेर २४ जनालाई जन्मकैदको फैसला भएको हो ।

जन्मकैद फैसला भएका २४ जनामध्ये मल्ल ठकुरी थरका सबैजनालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिवाना समेत भएको छ । त्यसैगरी, नवराजकी प्रेमिका भनिएकी किशोरी र उनकी आमालाई जातीय छुवाछुततर्फ दुई वर्ष कैद र ५० हजार जरिबानाको फैसला भएको छ ।

प्रकाशित मितिः   २१ मंसिर २०८०, बिहीबार १२:१५