विभेदविरुद्धको दण्ड
जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको ‘सोती घटना’ मा संलग्न २४ जनालाई जन्मकैदको सजाय हुने भएको छ । मंगलवार मुद्दाको अन्तिम सुनुवाई सकिएसँगै जिल्ला अदालत रूकुमपश्चिमले २४ जनालाई जन्मकैदको फैसला गरेको हो । उनीहरूलाई जातीय छुवाछुतको कसुरमा थप दुई वर्ष कैद र ५० हजार जरिवानाको पनि फैसला भएको छ । यस्तै, नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदसम्बन्धी मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको कैद तोकिएको छ । दर्ता भएको ३६ महिनापछि उक्त मुद्दाको फैसला आएको हो । समाजमा व्याप्त जातीय विभेदविरुद्धको यो एक महत्वपूर्ण निर्णय–फैसला हो । यो न्यायिक प्रक्रियामार्फत न्यायालयले दोषिलाई दिएको दण्ड मात्रै नभएर समाजलाई विभेदरहित बनाउन प्रवाह गरेको सन्देश पनि हो ।
२०७७ जेठ १० गते जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज आफ्ना साथीहरू लिएर मल्ल थरकी प्रेमिका भगाउन रूकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोतीगाउँ पुगेका थिए । त्यहीक्रममा सोती गाउँका गैरदलित बासिन्दाले आक्रमण गरी नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको सामूहिक हत्या गरिएको थियो । उनीहरूका शव भेरी नदीमा भेटिएका थिए । घटनापछि नवराजका बुवा मुनलाल नेपालीले दिएको जाहेरीका आधारमा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध २०७७ जेठ ३२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । ३४ अभियुक्तमध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग थियो भने एक जनालाई मतियार बनेको अभियोग थियो । किशोरी (नवराजकी प्रेमिका) की आमालाई धरौटीमा छोडिएको थियो । अन्य १० अभियुक्त सामान्य तारेखमा छुटेका थिए । बाँकी २३ जना पुर्पक्षका लागि कारागारमा थिए । घटनाको केही दिनपछि माओवादी केन्द्रका तत्कालीन सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा बनेको घटना छानविन समितिले उक्त घटना नियोजित रूपमा भएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो ।
नेपाली समाजको चरित्र विभेदकारी रहँदै आएको छ । जातका आधारमा मानिसले मानिसलाई नै गर्ने विभेद अझै कायम छ । यसले समाजलाई प्रगतिशीलतातर्फ अगाडि बढ्न अवरोध गरिरहेको छ । अन्तरजातीय प्रेम गरेकै कारण मान्छे मारिनुपर्ने अवस्था आजको समय र समाजकै क्रुर दृष्य हो । ठूलो विडम्बना हो । लज्जा हो । यस्ता घटना फेरि पनि हुन नदिनका लागि जातजन्य विभेदको अन्त्य अपरिहार्य छ । जिल्ला अदालत रुकुमपश्चिमले न्यायिक प्रक्रियामार्फत एउटा महङ्खवपूर्ण फैसला सुनाएर समाजलाई सुधारको बाटोमा लाग्न प्रेरित गरेको छ ।
प्रकाशित मितिः २१ मंसिर २०८०, बिहीबार १२:१३
सम्पादकीय ।