अधिकृतले सुब्बा कुटे

साझा बिसौनी संवाददाता
सुर्खेत, २९ माघ ।
सुर्खेतमा एक सरकारी कर्मचारीले आफ्नै सहकर्मीलाई कुटेका छन् । जिल्ला विकास समितिको कार्यालय सुर्खेतका योजना अधिकृत रामबहादुर बुढाले आफ्नै कार्यालयमा कार्यरत कर्मचारीलाई कुटेका हुन् । अधिकृत बुढाले आफ्नै कार्यकक्षमा शुक्रवार दिउँसो नायव सुब्बा नविनकुमार केसीलाई कुटेका छन् ।
आफ्नो मोटरसाइकलको लागि पाँच लिटर पेट्रोलको व्यवस्था नगरेको भन्दै बुढाले केसीलाई कुटेका हुन् । जिविसका स्टोरकिपर समेत रहेका नायव सुब्बा केसीले अधिकृत बुढाको निजी मोटरसाइकलको लागि पेट्रोलको  व्यवस्था गर्न नसक्ने बताएका थिए । त्यसपछि अधिकृत बुढाले आफूलाई पेट्रोल नदिएको भन्दै केसीमाथि आक्रमण गरेको जिविसका अन्य कर्मचारीहरूले बताए ।
योजना अधिकृत बुढाले आफ्नै कार्यकक्षमा बोलाएर मोटरसाइकलको लागि पेट्रोल नदिएको भन्दै एक्कासी कन्चड र नाकमा मुक्का हानेको केसीले बताए । मुक्का प्रहारपछि केसीको नाकबाट रगत बगेको थियो । नजिकिंदै गरेको जिल्ला परिषद् बैठकको लागि जेनरेटर सञ्चालन गर्न ५० लिटर पेट्रोल स्टक राख्न आयल स्टोरलाई भनेको जानकारी दिन योजना अधिकृत बुढाको कार्यकक्षमा गएको बेलामा आफूमाथि आक्रमण भएको केसीले जानकारी दिए । बुढाले आफ्नो लागि पेट्रोल किन नल्याएको भन्दै हपारेको र आफूले कसैको निजी सवारी साधनको लागि पेट्रोलको व्यवस्था छैन भनेपछि आफूलाई अधिकृत बुढाले कुटेको केसीको भनाइ छ । योजना अधिकृत बुढाले यसअघि पनि कार्यालयका सहलेखापाल दीर्घराज पोख्रेललाई समेत कार्यालयमै कुटपिट गरेको जिविसका कर्मचारीहरूले बताएका छन् । विनाकारण आफूलाई कुटपिट गर्ने योजना अधिकृतलाई कारबाहीको माग गदै केसीले जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् । नायव सुब्बा केसीले योजना अधिकृत बुढालाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् । साथै उनले आफ्नो सुरक्षाको समेत माग गरेका छन् । यता, जिल्ला विकास समितिका योजना अधिकृत रामबहादुर बुढाले भने सामान्य विवाद भएको बताए । साथै उनले धकेला धकेल भए पनि आफूले केसीलाई मुक्का नहानेको दाबी गरे । सामान्य विवाद भएको भन्दै उनले भने, ‘एउटै परिवार भित्र सामान्य विवाद हुनु स्वभाविकै हो ।’
प्रकाशित मितिः   १ फाल्गुन २०७२, शनिबार १०:३४