झुप्रा खानेपानीको साधारणसभा, ‘भेरी र चिङ्गाडको पानी ल्याऔं’

साझा बिसौनी संवाददाता
सुर्खेत, २९ माघ ।
खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधानका लागि सरकार गम्भीर भएको बताएका छन् । प्रस्तावित ६ नम्बर प्रदेशको राजधानी बन्ने सम्भावना भएकाले पनि वीरेन्द्रनगरमा अब खानेपानीको दीर्घकालीन समाधान खोज्नुपर्ने उनको भनाइ छ । साथै उनले उपत्यकाको खानेपानीको समस्यालाई दीर्घकालसम्मका लागि समाधान गर्न अब भेरी नदी  र चिङ्गाड खोलाबाट पानी ल्याउनुपर्ने बताए ।
झुप्रा बृहत खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १५ औं वार्षिक साधारणसभाको शुक्रवार वीरेन्द्रनगरमा उद्घाटन गर्दै मन्त्री सिंहले सुर्खेत उपत्यकामा सहज र पर्याप्त खानेपानीको आपूर्ति गर्ने विषयमा सरकार गम्भीर रहेको बताए । साथै उनले अब भेरी र चिङ्गाडको पानी ल्याउनेतर्फ काम सुरु गर्न समेत आग्रह गरे । सुर्खेत प्रादेशिक राजधानी बन्ने भन्दै उनले अब यहाँको खानेपानी समस्या समाधानका लागि दीर्घकालीन उपाय खोज्न जिल्लाका दलहरूसँग आग्रह गरे । उनले भने, ‘अहिलेकै पानीले समस्या समाधान हुन सक्दैन, अब दीर्घकालीन स्रोतको खोजी गर्न आवश्यक छ । त्यसका लागि अब भेरी नदी र चिङ्गाड खोलाको पानी ल्याउने योजना बनाऔं, तत्काल डिटेल सर्वे गनुहोस् सरकारले पूर्ण रूपमा सहयोग गर्छ ।’ 
भेरी र चिङ्गाडको पानी उपत्यकामा ल्याउने योजनामा आफूले सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री सिंहले यो आयोजना यो प्रदेशकै प्रमुख र प्राथमिकताको हुने दाबी गरे । राजधानीको आधारका रूपमा पनि अब सुर्खेत उपत्यकामा खानेपानीको सहज आपूर्ति हुनुपर्ने उनको भनाइ छ । उनले थपे, ‘खानेपानी र सरसफाइमा राजनीति नगरौं, यहाँका दलहरूले साझा योजना बनाउनुस् । सुर्खेतको खानेपानीको समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्ने छैन, अब कुनै पनि हालतमा भेरी र चिङ्गाडको पानी उपत्यकामा ल्याऔं ।’ यो आयोजना सम्पन्न गर्न सकेमा उपत्यकामा खानेपानीको सङ्कट टार्न सकिने उनको भनाइ छ । साथै मन्त्री सिंहले जिल्लामा बाढी र पहिरोका कारण क्षति भएका खानेपानी आयोजनाहरूको पुनः निर्माणका लागि समेत मन्त्रालयले तत्काल बजेट निकासा गरिदिने आश्वासन दिए । सुर्खेत राजधानीको रूपमा प्रस्तावित हुँदा समेत यहाँको ढलको व्यवस्थापन नहुनु दुखद् भएको मन्त्रीको भनाइ छ । साथै उनले अब ढल निर्माणमा जुट्न समेत आग्रह गरे । 
साधारणसभामा संस्थाका अध्यक्ष कुलमणि देवकोटाले संस्थाको हालसम्मको प्रगति र आगामी योजना प्रस्तुत गरेका थिए । सो अवसरमा अध्यक्ष देवकोटाले उपत्यकाको खानेपानीको समस्या समाधानका लागि आफूहरूले कुनै कसर बाँकी नराख्ने बताए । खानेपानी समस्या  समाधानका लागि तत्काल खरीखोला र बोरीखोला आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्ने, बाढीका कारण क्षति भएका खानेपानीका संरचनाहरू निर्माण गर्ने, विभिन्न स्किममा रहेका पानी पोखरीको मर्मत गर्ने, नयाँ पानी टंकी निर्माण गर्ने, बुलबुलेको पानीलाई संस्थाको खानेपानीको संरचनामा ल्याउन पहल गर्ने र क्रमिक रूपमा उपभोक्तालाई नयाँ धारा जडान गर्ने योजना रहेको समेत अध्यक्ष देवकोटाको भनाइ छ । यस्तै संस्थाले भेरी र चिङ्गाडबाट पानी ल्याउनका लागि तत्काल प्रक्रिया अगाडि बढाउने समेत योजना बनाएको छ । अध्यक्ष देवकोटाका अनुसार स्कीमहरूमा सम्पर्क कार्यालयहरू स्थापना गर्ने, गरीब तथा सीमान्तकृत जनताको लागि खानेपानीको पहुँच सुनिश्चत गर्न लघुवित्त कार्यक्रम सञ्चालन गर्ने, नगरकोषको ऋण भुत्तानी तालिका बमोजिम गर्दै जाने, खानेपानीको महशुल भुक्तानी गर्नका लागि ई–बैंकिङ्ग सेवा सञ्चालनमा ल्याउने, खानेपानीको महसुल दर समायोजन गर्ने र संस्थामा आवश्यक पर्ने सवारी साधन खरिद गर्ने योजना समेत संस्थाले बनाएको छ । साधारणसभामा अध्यक्ष देवकोटाले उपत्यकाको खानेपानी आपूर्तिलाई सहज बनाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाए ।
सो अवसरमा संस्थाका कोषाध्यक्ष भीमबहादुर खड्काले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सांसद सीता नेपालीले उपत्यकाको खानेपानीको समस्या समाधान गर्न सबैको साझा पहल आवश्यक रहेको बताइन् । साथै उनले अब नयाँ स्रोतको खोजी गरेर खानेपानीको आपूर्तिलाई सहज र नियमित बनाउनुपर्नेमा जोड दिइन् । साधारणसभामा शुभकामना मन्तव्य दिदैं जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हितप्रसाद पौडेल, क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालयका प्रमुख, जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दल र संघ–संस्थाका प्रतिनिधिहरूले खानेपानीको वैकल्पिक स्रोतको खोजी गर्न संस्थालाई सुझाव दिएका थिए । साथै उनीहरूले उपत्यकामा खानेपानीको समस्या जटिल बन्दै गएकाले अब सामूहिक रूपमा त्यसको समाधानमा जुट्नपर्ने बताए । साधारणसभाको उद्घाटन सत्र संस्थाका अध्यक्ष कुलमणि देवकोटाको सभापतित्वमा सम्पन्न भएको हो । 
प्रकाशित मितिः   १ फाल्गुन २०७२, शनिबार १०:४६