सुशीलपछिको कांग्रेस
राजनीतिमा महŒवपूर्ण विषय भनेको इमान्दारिता र त्याग नै हुन् । यही कुराको अभावले नेपालको राजनीतिले बेलाबेलामा संकट र व्यवधानहरू भोग्दै आएको छ । व्यक्तिगत स्वार्थलाई मात्र प्राथमिकता दिने र पद छोड्न तयार नहुने संस्कार अहिले पनि राजनीतिमा हावी नै छ । अर्कोतर्फ नेपाली राजनीतिका दुई महŒवपूर्ण विडम्बना छन् । पहिलो, राजनेताहरू असफल राजनीतिज्ञ जस्तो बन्न पुगे । मुलुकको राजनीति र दलीय गुटबन्दीको चास्नीमा टाँसिन नचाहँदा उनीहरू राजनेता त बनी नै रहे तर दलीयताको विश्लेषणमा असफल देखिए । दोस्रो, सफल र सत्ताकेन्द्रित राजनीति गर्नेहरूले कहिल्यै राजनीतिबाट अवकाश लिने बुझ्नै सकेनन् । त्यसैले निर्णय पनि गर्न सकेनन् । अन्ततः अपमानित र विवादित हिसाबमा धेरैको राजनीतिक जीवन समाप्त हुन पुग्यो । सम्भवतः त्यही क्रममा सुशील कोइराला दोस्रो श्रेणीमा पर्छन् । झन्डै ६ दशक लामो राजनीतिक जीवन भए पनि उनी अक्सर दुई ठूला कोइरालाहरू वीपी र जीपीकै राजनीतिक सहायक रहे । उनको व्यक्तित्व ओझेलमै परिरह्यो । खुला राजनीतिमा नेपाल प्रवेश गर्दा वीपीको निधन भइसकेको थियो । सुशील जीपीका सहायककै रूपमा ज्यादा रहे ।
तर त्यो चरणमा उनले कम सम्मान र ज्यादा अपमान भोग्नुप¥यो, आम कांग्रेसजनको नजरमा । उनको छवि (कोठे षड्यन्त्रकारी) को बन्यो र गिरिजाबाट भएका गलत निर्णयको दोषसमेत उनको थाप्लोमा हालिन्थ्यो । तर सुशील सम्भवतः त्यसमा दुखी भएनन् कहिल्यै पनि । किनकि गिरिजाप्रतिको समर्पण पूर्ण थियो उनको । त्यसले गिरिजाको मृत्युपछि कृष्णप्रसाद कोइरालाको परिवारबाट बाहिरको हुँदाहुँदै पनि कोइराला वंशको नाइकेका रूपमा उनी स्थापित भए । सम्भवतः त्यही हैसियतका कारण प्रधानमन्त्री पनि । दुर्भाग्य, उनले प्रधानमन्त्री पदको गरिमा बुझ्न सकेनन् । उनको नेतृत्वमा नेपालको संविधान २०७२ जारी भइसकेपछि चार ठूला दलका ठालु नेताहरूबीच भएको (भद्र सहमति) लाई उनले अवमूल्यन मात्र गरेनन्, नयाँ संविधानको बाध्यात्मक प्रावधानका कारण पदबाट राजीनामा दिएपछि फेरि उक्त पदका लागि दाबेदार बने । अपमानजनक तरिकाबाट हारे केपी ओलीसँग । अर्थात् संविधान प्रक्रियाको नेतृत्व गरी त्यो पूरा भएपछि प्रधानमन्त्री पदबाट राजीनामा गर्ने आफ्नै सार्वजनिक अडानबाट पनि पछि हटे उनी । भद्र सहमतिको अवज्ञा नगरेको भए र दोस्रोपटक प्रधानमन्त्री पदका लागि प्रत्यासी नबनी सार्वजनिक जीवनबाट अवकाश लिएको भए सम्भवतः सुशील कोइराला नेपाली राजनीतिमा अरू कोइराला जस्तै स्वतन्त्र व्यक्तित्व कमाउने थिए, अझ बढी सम्मानजनक हुने थिए ।
जे भए पनि मुख्य प्रजातान्त्रिक पार्टीका नाइकेको अवसानले नेपाली कांग्रेसको राजनीति र कोइराला वंशको प्रभुत्वलाई अब निकै कठिन मोडमा धकेल्नेछ । कोइराला वंशमा गिरिजा र सुशीलले वीपीका मान्यता, राजनीति र सन्तानहरूलाई ओझेलमा पारेका छन् । प्रकाश कोइराला, शशांक कोइराला र मनीषा अझै पनि वीपीको दुईखम्बे नीति संविधानभित्रको राजतन्त्र र बहुदलीय संसदीय प्रजातन्त्रमा विश्वास गर्छन् र गिरिजा गणतन्त्रमा । गिरिजा र सुशीलले एमाओवादीको एजेण्डा स्वीकारेर पनि बाह्रबुँदेमार्फत् भारतको प्रभुत्व आन्तरिक राजनीतिमा निम्त्याएको आरोप अब कांग्रेसभित्र लाग्न थालेको छ । त्यो अबको कांग्रेसका लागि सैद्धान्तिक लडाइँ र समीक्षाको विषय हुनेछ । त्यस्तै सुशील कोइरालाले सम्भवतः गिरिजाको चाहनाअनुसार परिवार र पार्टीको नेतृत्व सुजातालाई बुझाउने आँट गरेनन् । अर्थात् उनले पार्टीलाई सैद्धान्तिक अस्पष्टता र परिवारलाई नेतृत्वबारे विभाजित अवस्थामा छोडेर गए । तर सङ्घर्षको लामो इतिहासमा उनले प्रजातन्त्रका लागि लडे र क्यान्सरविरुद्ध लडे । अनि दुवै युद्धमा त्यति नराम्रो गरेनन् । उनको औषत उपलब्धि त्यही थियो र त्यस रूपमा प्रेरणा स्रोत रहनेछन् नेपालमा मृत्युपर्यन्त पनि ।
साझा बिसौनी संवाददाता ।