विमानस्थल स्तरोन्नति

कर्णाली प्रदेशका हिमाली जिल्लामा यातायातका लागि हवाई सेवा प्रमुख माध्यम हो । सडकको सहज पहुँच छैन । विमानस्थल सञ्चालनमा छन् । हवाई सेवामा यात्रुको चाप बढ्दो छ । तर वर्षौदेखि सञ्चालनमा रहेका विमानस्थलहरू कमजोर अवस्थामा छन् । धावनमार्ग साँघुरा छन् । टर्मिनल भवनसमेत जीर्ण भइसकेका छन् । सुधार र स्तरोन्नति हुन सकेका छैनन् । पछिल्लो समय भने स्तरोन्नतिका लागि प्रक्रिया अघि बढेको छ । प्रदेशका दुई वटा विमानस्थल विस्तार गरिने भएको छ । जुम्ला विमानस्थल र डोल्पाको मसिनेचौर विमानस्थलको स्तरोन्नतिका लागि प्रक्रिया अघि बढाइएको हो । यसै वर्षदेखि काम गर्ने योजनासहित विस्तार प्रक्रिया थालिएको हो ।

जुम्ला विमानस्थलको धावनमार्ग विस्तार गर्न लागिएको छ । धावनमार्गका साथै नयाँ टर्मिनल भवन निर्माणका लागि जग्गा अधिग्रहण गर्नुपर्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सय ८३ दशमलव ८० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको छ । जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक चरणको सार्वजनिक सूचना प्रकाशित समेत भइसकेको छ । यसअघि पनि विमानस्थल विस्तार गर्ने योजना बनाइए पनि कार्यान्वयन हुन सकेको थिएन । विस्तारका लागि सर्भेलगायत पूर्वतयारीका सम्पूर्ण काम सम्पन्न भइसकेको छ । हाल जुम्ला विमानस्थलको धावनमार्ग ६ सय ७० मिटर छ । विस्तारित विमानस्थलको धावनमार्ग एक हजार ५० मिटरसम्म विस्तार गरिने जनाइएको छ । यसैगरी नागरिक उड्डयान प्राधिकरणले हुम्लाको सिमकोट विमानस्थललाई पनि यसै आर्थिक वर्षमा विस्तार गर्ने भएको छ । धावनमार्गको लम्बाई थप एक सय पचास मिटर विस्तार गरिने भएको हो । विमानस्थलको पश्चिमपट्टिको रानीबन क्षेत्रमा विमानस्थल विस्तार गर्न लागिएको हो । यसका लागि जग्गाको नापजाँच गर्ने कार्य पूरा भइसकेको र अब मुआब्जा वितरण कार्य अगाडि बढाउने तयारी गरिएको छ । जग्गा अधिकरणका लागि प्राधिकरणले करिब ६ करोड बजेटसमेत व्यवस्था गरेको छ । हाल पचास मिटर जग्गा विमान स्थल क्षेत्रभित्रको जग्गा बाँकी रहेको र त्योसहित अब विमानस्थलको लम्बाई दुई सय मिटर बढ्नेछ । हालको विमानस्थलको रन वे साढे ६ सय मिटरको छ । विस्तारपछि भने सिमकोट विमानस्थल साढे आठ सय मिटर लामो हुनेछ ।

कर्णालीका अधिकांश विमानस्थल सुधार गर्नुपर्ने अवस्थामा छन् । प्रदेश राजधानी वीरेन्द्रनगरकै विमानस्थल विस्तारको योजना लामो समयदेखि अस्तव्यस्त बनेको छ । यद्यपि, ढिलै भएपनि सरकारले जुम्ला र हुम्लाका विमानस्थल स्तरोन्नतिका लागि प्रक्रिया अघि बढाएको छ । यसले त्यस क्षेत्रका नागरिकलाई सहजता प्रदान गर्नेछ । नागरिकलाई सहजतासँगै पर्यटन विकासमा समेत सघाउ पुग्ने अपेक्षा गर्न सकिन्छ ।

प्रकाशित मितिः   १४ मंसिर २०८०, बिहीबार ०५:०३