सुर्खेत–काठमाडौं ८० सिट क्षमताको जहाज उड्दै

सुर्खेत: सुर्खेत विमानस्थलमा अब ८० सिट क्षमताको क्यानेडियन ड्यास–८ विमान सञ्चालन हुने भएको छ । श्री एयरलायन्सले ‘डी ह्याभिल्यान्ड क्यानडा (डीएचसी) ड्यास ८’ विमानलाई मंसिरदेखि सुर्खेत–काठमाडौं उडान गर्ने भएको हो । नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएको छ ।

१० महिनाअघि भएको परीक्षण उडान सफलपछी श्रीले मंसिर १५ गतेदेखि दैनिक काठमाडौं–सुर्खेत क्यानेडीयन विमान ड्यास–८ बाट उडान गर्न लागेको श्रीका अध्यक्ष सुधिर मित्तलले बताए । ‘आर्थिक मामिलामा पछि परेको कर्णाली प्रदेशमा हामी नेपालमा उपलब्ध सबैभन्दा धेरै यात्रु क्षमताको जहाज ड्यास–८ बाट सेवा विस्तार गर्दै छौं । हुम्ला, जुम्ला, मुगु, डोल्पाका स्थानीय, बिरामी, व्यापारीलाई सहज हुने छ,’ अध्यक्ष मित्तलले भने, ‘प्रतिस्पर्धाका कारण यो रुटमा हवाई भाडा कम्तीमा १४ सय रूपैयाँले सस्तो पर्ने छ । भने कार्गो दर पनि निकै सस्तो पर्ने छ ।’

श्रीका लागि सात हजार तीन सय २५ फिट उचाइको सुर्खेत विमानस्थल नयाँ गन्तव्य हो । तौलसहित २५ हजार फिट उचाइसम्म उडान गर्न सक्ने ड्यास–८ विमान प्रतिघण्टा ६ सय ५० किलोमिटरको गतिमा उडान गर्ने भएकाले यसले काठमाडौं–सुर्खेत रुटमा ४५ मिनेट हाराहारी समय लगाउने छ ।

सुर्खेत विमानस्थलको धावनमार्ग एक हजार दुई सय ५५ मिटर लामो छ । ड्यास–८ लगायतका ‘रिजनल–एयरक्राफ्ट’ का लागि यो झन्डै तीन सय मिटर छोटो पर्छ । त्यसैले श्रीले काठमाडौंबाट सुर्खेत जादा ८० यात्रु लैजाने छ भने धावनमार्गको दुरी छोटो भएकाले पाँच वटा सिट खाली राखेर काठमाडौं फर्किनुपर्नेछ । श्रीसँग चारवटा ड्यास–८ र चारवटा सीआरजे विमान छन् । यसले थप तीन वटा ड्यास–८ विमान थल्दै छ ।

सुर्खेतमा ४७ यात्रु क्षमताको एटीआर–४२ विमानबाट सेवा दिँदै आइरहेको बुद्धले गत पुसदेखी एटीआर–७२ विमानबाट उडान भर्दै आइरहेको छ । यो विमानको यात्रु क्षमता ७० रहेको छ । २०७५ अघि काठमाडौं सुर्खेत रुटमा १९ सिट क्षमताका टुइनअटर, डोर्नियर, बिचक्राफ्ट आदि विमानले कम्तीमा १० हजार रूपैयाँ भाडादरमा सेवा दिन्थे ।

२०७५ मा बुद्धले बिचक्राफ्ट विमानलाई हटाउँदै ४७ यात्रु क्षमताको एटीआर–४२ विमानबाट सिधा उडान उडान थालेपछि काठमाडौं–सुर्खेतको हवाई भाडा ८ हजार झरेको थियो भने नेपालगन्ज विमानस्थलमा हुने यात्रु र जहाजको चाप पनि घटेको थियो । दुई एयरलाइन्सको जहाज सञ्चालन हुने भएपछि भाडा पनि घट्ने भएको छ ।

प्रकाशित मितिः   १४ मंसिर २०८०, बिहीबार ०५:०१