महत्वपूर्ण सडकमै ढिलाइ

ठेकेदारको लापरबाहीका कारण त्रिदेशीय सडक निर्माणको काम सुस्ताएको छ । भारतीय सिमासँग जोडिएको बाँकेको जमुनाहादेखि चीनसँग सीमा जोडिएको डोल्पाको नाग्चेनाग्ला पुग्ने सडक अन्तर्गत दैलेख खण्ड निर्माणमा ढिलासुस्ती भएको छ । दैलेख बजारदेखि महाबुसम्मको ४० किलोमिटर क्षेत्रको काम समयमै नसकिएपछि सडक अस्तव्यस्त बनेको छ । महावु सडकखण्डलाई सरकारले कर्णालीको सुर्खेत, दैलेख, कालीकोट जुम्ला, हुम्ला, मुगु, डोल्पा हुँदै चीनको सिमाना नाग्चेनाग्लासम्म विस्तारका लागि प्राथमिकतामा राखेको छ । भारतीय सीमा जमुनाहा नाकासँग जोडिएको यो सडक निर्माण सम्पन्न भएमा प्रदेशको समग्र विकासमा सहयोग पुग्ने जनाइएको छ । तर निर्माण कम्पनीको ढिलासुस्तीका कारण काम समयमा हुन सकेको छैन ।

सडक डिभिजन कार्यालय सुर्खेतले दैलेख बजारदेखि महावुसम्मको ४० किलोमिटर सडक विस्तारको काम गरिरहेको छ । पहिलो खण्डअन्तर्गत खुर्सानीबारीदेखि माथि एक किलोमिटर र भैसिखोर अगाडिको साढे एक किलोमिटर खण्डमा कालोपत्रेको लागि आजीवन जिटी पिएस जेभी सुर्खेतले कामको जिम्मेवारी पाएको छ । २०७९ फागुन १५ मा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८० फागुन १५ मा निर्माण सम्पन्न गर्नुपर्नेछ । काम भने कछुवा गतिमा भइरहेको सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । दोस्रो खण्ड अन्र्तगत रहेको भैँसेखोरदेखि भवानी गेटसम्म साढे चार किलोमिटर क्षेत्र कालोपत्रेका लागि कामको जिम्मा लिएको कश्यप निर्माण एण्ड सप्लायर्स काठमाडौंले काम अलपत्र छोडेको छ । ४८ प्रतिशत काम सकेर बाँकी काम निर्माण कम्पनीले अलपत्र छोडेको हो । २०७९ चैत्रसम्म कालोपत्रे सक्नुपर्ने गरी पाँच करोड ५८ लाखमा उक्त ठेक्का सम्झौता भएको थियो । भवानी गेटदेखि ओखरबाससम्मका विभिन्न तीन खण्डमा तिरूपाते लालशुभो मेनरो जेभीले कामको जिम्मा लिएको छ । सम्झौताअनुसार एउटा खण्डको काम सम्पन्न भएको छ । तीन किलोमिटरको पहिलो प्याकेजको काम सम्पन्न भएको हो । कम्पनीले पहिलो खण्डको काम सकेको छ भने एउटा खण्डमा ८० प्रतिशत र अर्को खण्डमा ५० प्रतिशत काम सम्पन्न गरेको छ ।

कतिपय सडक खण्डमा बजार र बस्ती परेको, कतिपय स्थानहरूमा खानेपानीको पाइप व्यवस्थापनमा चुनौती देखिएको छ । केही वन क्षेत्रमा समस्या भएको भन्दै निर्माण कम्पनीहरूले निवेदन दिएको छ । यसरी अनेक कारण देखाउँदै निर्माणमा ढिलाइ हुँदै गएको छ । कर्णाली प्रदेशको आर्थिक समृद्धिमा योगदान पु¥याउन सक्ने रणनीतिक महत्वको सडकको काममा ढिलाइ हुनु सुखद् होइन । यसमा स्थानीय प्रशासन र पालिकाहरूले पनि सहजीकरण गर्न जरुरी छ । अर्कोतर्फ काम नगरेका निर्माण कम्पनीहरूसँगको सम्झौता रद्ध गरेर विकल्पमा जान पनि ढिलाइ गर्नु हुँदैन ।

प्रकाशित मितिः   १३ मंसिर २०८०, बुधबार १०:३५