पुनर्निर्माणमा नेपालको जोड

सुर्खेत: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भूकम्प प्रभावित नागरिकको अवस्था दयनीय रहेको बताएका छन् । सोमवार प्रभावित क्षेत्रको अवलोकन गरेर फर्किएका नेपालले सबैले सकेको सहयोग गर्न आवश्यक देखिएको भन्दै पुनर्निर्माणको काममा लाग्नुपर्ने जनाए ।

टहरा निर्माणलाई प्राथमिकता दिनुनै अहिलेको आवश्यकता भएको उनको भनाइ छ । मंगलवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले चिसोले प्रभावित क्षेत्रका नागरिकलाई थप समस्या पारेको बताए । ‘पार्टीपंक्ति दलभन्दा माथि उठेर पुनर्निर्माणमा सहयोग गर्नुपर्ने अवस्था आएको छ’ उनले भने, ‘यो अवस्थामा सबै क्षेत्रको उपस्थिति देखिनुपर्छ ।’ अस्थायी टहरा निर्माण कार्य सँगसँगै पुनर्निर्माणको कामलाई तीव्रता दिनुपर्ने उनको सुझाव छ । सरकार भएको अनुभूति हुनेगरी काम गर्नुपर्ने, तत्काल टहरा निर्माणलाई जोड दिनुपर्ने र पुनर्निर्माणको काम अघि बढाउनुपर्नेमा नेपालले जोड दिए ।

यस्तै नेपालले राष्ट्रपतिलाई दोष दिएर राजा ल्याउन खोज्ने चेष्टा नगर्न चेतावनी समेत दिएका छन् । सरकारले गलत काम गरे सरकारका विरुद्ध उभिनुपर्नेमा व्यवस्थाको विरुद्ध उभिने काम भएको समेत उनले बताए । ‘सरकारले गलत काम गरेको छ भने सरकारका विरुद्धमा उभिनुप¥यो, तर व्यवस्थाको विरोध गर्दै राजसंस्था नारा लगाउनु वाहियात हो । यो कुराको कुनै तुक छैन’ नेपालले भने ।

देशमा आर्थिक समस्या रहेको स्वीकार गर्दै नेता नेपालले अर्थतन्त्र जुन गतिको साथ अगाडि बढ्नुपर्ने हो त्यो अनुसार बढ्न नसकेको जिकिर गरे । अर्थतन्त्र ठिकठाक छ भन्ने र श्रीलङ्का नै बन्न लाग्यो भन्ने दुवै कुराहरू गलत भएको नेपालको भनाइ थियो । राजावादीहरूले ठुलो हुङ्कार गरेर काठमाडौंमा आन्दोलन गरे पनि त्यो उपलब्धिविहीन भएको नेपालले बताएका छन् । कुनै पनि हातलमा राजा फर्कन नसक्ने भन्दै उनले जनतालाई भ्रममित पार्ने काम भइरहेको उनको भनाइ छ ।

प्रकाशित मितिः   १३ मंसिर २०८०, बुधबार १०:३४