दुई वटा विमानस्थल स्तरोन्नति हुँदै

जग्गा अधिग्रहण प्रक्रिया सुरु, यसैवर्षदेखि विस्तारको काम हुने

सुर्खेत: कर्णाली प्रदेशका दुई वटा विमानस्थल विस्तार गरिने भएको छ । जुम्ला विमानस्थल र डोल्पाको मसिनेचौर विमानस्थलको स्तरोन्नतिका लागि प्रक्रिया अघि बढाइएको हो । यसै वर्षदेखि काम गर्ने योजनासहित विस्तार प्रक्रिया थालिएको हो ।

जुम्ला विमानस्थलको धावनमार्ग विस्तार गर्न लागिएको छ । धावनमार्गका साथै नयाँ टर्मिनल भवन निर्माणका लागि जग्गा अधिग्रहण गर्नुपर्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सय ८३ दशमलव ८० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको छ । जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक चरणको सार्वजनिक सूचना प्रकाशित समेत भइसकेको छ । सूचना प्रकाशित भएसँगै प्रक्रिया अघि बढेको विमानस्थल कार्यालयका प्रमुख सन्तोष अधिकारीले जानकारी दिए । विमानस्थलको उत्तर र पूर्वतर्फ करिब एक सय ८३ दशमलव ८० रोपनी जग्गा अधिग्रहण गर्न लागिएको उनल जनाए ।

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गत जेठ २ गते जग्गा अधिग्रहणका लागि अनुमति दिने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई प्रत्राचार गरेको थियो । जेठ २३ गतेको पत्रअनुसार जग्गा प्राप्ति ऐन २०३४ को दफा ५ (२) बमोजिम जुम्ला नागरिक उड्डयन कार्यालयका प्रमुखलाई प्रारम्भिक अधिकारी तोकेर प्रक्रिया अघि बढाउन भनिएको थियो ।

यसअघि पनि विमानस्थल विस्तार गर्ने योजना बनाइए पनि कार्यान्वयन हुन सकेको थिएन । विस्तारका लागि सर्भेलगायत पूर्वतयारीका सम्पूर्ण काम सम्पन्न भइसकेको छ । विस्तारका लागि बजेटको सुनिश्चितता भने सरकारले गरेको छैन । जग्गाको मुआब्जाका लागि मात्र ४४ करोड बजेट अनुमान गरिएको छ । हाल जुम्ला विमानस्थलको धावनमार्ग ६ सय ७० मिटर छ । जसका कारण साना कार्गो जहाज मात्रै अवतरण हँुदै आएका छन् । विस्तारित विमानस्थलको धावनमार्ग एक हजार ५० मिटरसम्म विस्तार गरिने जनाइएको छ ।

यात्रुको चाप जुम्लाबाट जहाजमा यात्रा गर्ने यात्रुको चाप बढ्दै गएको छ । जुम्लावासीको हवाई यात्रा सहज हुनेगरी विमानस्थल विस्तारको काम अघि बढेको हो । हाल जुम्ला विमानस्थलमा साना १८ र १९ सिटे जहाज अवतरण हुने गरेका छन् । अहिले सीता, तारा, समिट र नेपाल एयरलाइन्सका साना जहाज सञ्चालनमा छन् ।

यसैगरी नागरिक उड्डयान प्राधिकरणले हुम्लाको सिमकोट विमानस्थललाई पनि यसै आर्थिक वर्षमा विस्तार गर्ने भएको छ । धावनमार्गको लम्बाई थप एक सय पचास मिटर विस्तार गरिने भएको हो । विमानस्थलको पश्चिमपट्टिको रानीबन क्षेत्रमा विमानस्थल विस्तार गर्न लागिएको हो । यसका लागि जग्गाको नापजाँच गर्ने कार्य पूरा भइसकेको र अब मुआब्जा वितरण कार्य अगाडि बढाउने तयारी गरिएको छ ।

जग्गा अधिकरणका लागि प्राधिकरणले करिब ६ करोड बजेटसमेत व्यवस्था गरेको छ । हाल पचास मिटर जग्गा विमान स्थल क्षेत्रभित्रको जग्गा बाँकी रहेको र त्योसहित अब विमानस्थलको लम्बाई दुई सय मिटर बढ्नेछ । हालको विमानस्थलको रन वे साढे ६ सय मिटरको छ । विस्तारपछि भने सिमकोट विमानस्थल साढे आठ सय मिटर लामो हुनेछ । विमानस्थलको दुरी छोटो भएको कारण तारा, सिता, समिट र नेपाल एयरलाईन्सका साना जहाजमात्र सञ्चालित छन् । विमानस्थल विस्तारपछि पैतालीस सिटे जहाजहरू अवतरण गर्न सक्ने र जसबाट यात्रुलाई समेत सहज हुनेछ । यो सिमकोट विमानस्थलको दोस्रो पटक विस्तार गर्न लागिएको हो ।

विगत चार दशकदेखि हुम्लामा हवाई सेवा सञ्चालन हुँदै आएको छ । सदरमुकाममा रहेको सिमकोट विमानस्थल २०३६ सालबाट सञ्चालनमा आएको छ । २०३४ सालमा निर्माण थालेर २०३५ सालमा परीक्षण उडान गरिएको हो । त्यसको अर्को वर्षदेखि नियमित उडान थालिएको हो । सञ्चालनमा आएको ४४ वर्ष भइसक्दा पनि विमानस्थलमा आवश्यक पूर्वाधारको निर्माण भने भएको छैन । पूर्वाधार विकाससहित सिमकोट विमानस्थल स्तरोन्नतिको पर्खाइमा छ ।

नियमित सञ्चालनमा आइसकेपछि २०६८ सालमा पहिलो पटक विमानस्थलको स्तरोन्नति गरिएको थियो । हिउँ परेको समयमा उडान अवरुद्ध हुन थालेपछि बाह्रै महिना सञ्चालनका लागि योग्य बनाउन स्तरोन्नति गरिएको हो । त्यसयता विमानस्थल नियमित रूपमा सञ्चालन भइरहेको छ । यद्यपि, अझै पनि थप स्तरोन्नति गर्नुपर्ने अवस्था रहेको छ ।

प्रकाशित मितिः   १३ मंसिर २०८०, बुधबार १०:३२