त्रैमासिक समीक्षा

सुर्खेत: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले त्रैमासिक प्रगति समीक्षा गरेको छ । कार्यालयले सोमवार पहिलो त्रैमासिक गतिविधिको समीक्षा गरेको हो ।

कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले जनशक्ति र बजेट पर्याप्त नहुँदा लक्ष्यअनुसार प्रगति हासिल गर्न चुनौती भइरहेको बताए । विभिन्न पदमा २१ जनाको दरबन्दी रहेको उक्त कार्यालयमा हाल आठ जना कर्मचारी मात्रै कार्यरत छन् । कार्यक्षेत्र धेरै, कामको चाप अधिक र त्यसअनुसार स्रोत–साधन नहुँदा समस्या भएको थापाले जानकारी दिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य उद्योग र खाद्य बजारको अनुगमन गर्ने, खाद्य वस्तुको गुणस्तर जाँच्न प्रयोगशाला सेवा दिने, उद्योग सञ्चालनका लागि अनुज्ञा–पत्र जारी गर्ने लगायतका काम गर्छ । स्थापनाकालदेखि नै जनशक्ति अभाव झेल्दै आएको कार्यालयले कर्मचारी अपुग हुँदा अहिले पनि नियमित अनुगमनका कामसमेत प्रभावित हुने गरेको जनाएको छ । चालु आर्थिक वर्षको हालसम्मको प्रगति पनि सन्तोषजनक नरहेको कार्यालय प्रमुख थापाले बताए । उनका अनुसार हालसम्म कार्यालयले ६२.५६ प्रतिशत भौतिक प्रगति गरेको छ भने वित्तीय ३६ प्रतिशत मात्र गरेको छ । तीन करोड ९८ लाख रहेको कुल बजेटमा हालसम्म ८८ लाख मात्र खर्च गरेको छ । पुँजीगततर्फ ६४ लाख खर्च गरेको छ चने चालु तर्फ २४ लाख मात्र खर्च गरेको छ ।

समीक्षा कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव आनन्द सारुले सीमित स्रोत–साधन अभावकाबीच पनि कार्यालयको काम गरिरहेको भन्दै जनशक्ति व्यवस्थापनमा आफूले सक्दो पहल गर्ने बताए । खाद्य बजारलाई व्यवस्थित बनाउन व्यवसायी र व्यवसायीहरू आवद्ध संस्थाहरूको भूमिका प्रभावकारी हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मितिः   १२ मंसिर २०८०, मंगलवार ०९:०६