प्रदेश जोड्ने सडक

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पा र गण्डकी प्रदेशको मुस्ताङ जोड्ने सडक स्तरोन्नतिको काम ठप्प भएको छ । बजेट अभाव हुँदा स्तरोन्नतिको काम अघि बढ्न नसकेको हो । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्र्तगत सडक डिभिजन कार्यालय जुम्लाले उक्त सडक विस्तारको जिम्मा लिएको छ । कार्यालयले जुम्लाको छिनासागुदेखि डोल्पाको सिमाना मौरेलेखसम्म ४५ किलोमिटर सडकको काम गरिरहेको छ । उक्त खण्डमा ट्रयाक खोलिएपनि स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन । रकम अभाव हुँदा काम अवरुद्ध भएको जनाइएको छ । गत वर्ष सडक स्तरोन्नतिका लागि २३ करोड बजेट विनियोजन भएको थियो । तर समयमै काम हुन नसकेपछि बजेट फ्रिज भयो । चालु आर्थिक वर्षमा एक करोड मात्र विनियोजन भएको छ । तीन वर्ष अघि नै सडकको ट्रयाक खोलिएपनि बजेट अभावमा स्तरोन्नतिको काम हुन सकेको छैन ।

संघीय सरकारले कर्णाली प्रदेशको डोल्पा र मुगु तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ गरी चार जिल्ला जोड्ने उद्देश्यले सडक निर्माण योजना अघि बढाएको थियो । तर बर्सेनि बजेट घटाउँदै जादा सडक निर्माणको काम सुस्ताएको छ । जुम्लाको छिनासागुदेखि डोल्पाको सिमाना मौरेलेखसम्मको काम रोकिएपनि सोही सडक अन्तर्गत सडक डिभिजन चौरजहारीले डोल्पाको मौरेलेखदेखि त्रिपुराकोटसम्म ट्रयाक खोल्ने काम गरिरहेको छ । दुई खण्डमा गरी कार्यालयले एक सय २० किलोमिटर सडक निर्माणको काम गर्नेछ । जसमध्ये पहिलो खण्डको रूपमा मौरेलेखदेखि त्रिपुराकोटसम्म ६० किलोमिटर ट्रयाक निर्माण गर्नेछ । त्रिपुराकोटदेखि ल्यासीक्यापसम्म भेरीकरिडोरले ओपरल्याप गरेको छ । ल्यासीक्यापदेखि मुस्ताङको सिमानासम्म कार्यालयले सडक निर्माण गर्नेछ । बीच खण्डमा भेरी करिडोरले ट्रयाक खोलेपछि मात्र ल्यासीक्यापदेखि मुस्ताङको सिमानासम्म काम अघि बढाइनेछ । डोल्पा र मुस्ताङ जोड्न एक सय ६५ किलोमिटर सडक निर्माण हुनेछ । जसमध्ये सडक डिभिजन कार्यालय जुम्लाले छिनासागुदेखि मौरेलेखसम्म ४५ किलोमिटर निर्माण गर्नेछ । यसैगरी सडक डिभिजन कार्यालय चौरजहारीले जुम्ला र डोल्पाको सिमाना मौरेलेखदेखि त्रिपुराकोटसम्म ६० किलोमिटर र ल्यासीक्यापदेखि मुस्ताङको सिमानासम्म ६० किलोमिटर सडक निर्माण गर्नेछ ।

कर्णाली प्रदेशको डोल्पा र गण्डकीको मुस्ताङ जिल्ला सडक कनेक्टिभिटीले जोडिएमा दुई प्रदेशको आन्तरिक व्यापार तथा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ । उत्तरी डोल्पाको हिमाली क्षेत्रका बासिन्दालाई खाद्यान्न तथा मालसमान ढुवानीका लागि मुस्ताङ आउजाउ गर्न समेत सहज हुनेछ । अहिले उत्तरी डोल्पाका स्थानीय मुस्ताङ आउँदा हप्तौँ लाग्ने गरेको सडक सञ्जालले जोडिएमा एकैदिन मुस्ताङ आउन सक्नेछन् । उत्तरी डोल्पाका स्थानीयले मुस्ताङबाट घोडा, घच्चड र याकचौरीलाई बोकाएर खाद्यान्न तथा मालसमान डोल्पा ल्याउने गरेका छन् ।

प्रकाशित मितिः   १२ मंसिर २०८०, मंगलवार ०९:०७