कर्णालीका पहुँचमार्ग–६

दुई प्रदेश जोड्ने सडकलाई बजेट अभाव

सुर्खेत: कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पा र गण्डकी प्रदेशको मुस्ताङ जोड्ने सडक स्तरोन्नतिको काम ठप्प भएको छ । बजेट अभाव हुँदा स्तरोन्नतिको काम अघि बढ्न नसकेको हो ।

संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत सडक डिभिजन कार्यालय जुम्लाले उक्त सडक विस्तारको जिम्मा लिएको छ । कार्यालयले जुम्लाको छिनासागुदेखि डोल्पाको सिमाना मौरेलेखसम्म ४५ किलोमिटर सडकको काम गरिरहेको छ । उक्त खण्डमा ट्रयाक खोलिएपनि स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन ।

रकम अभाव हुँदा काम अवरुद्ध भएको जनाइएको छ । गत वर्ष सडक स्तरोन्नतिका लागि २३ करोड बजेट विनियोजन भएको थियो । तर समयमै काम हुन नसकेपछि बजेट फ्रिज भयो । चालु आर्थिक वर्षमा एक करोड मात्र विनियोजन भएको छ । न्यून बजेटका कारण कुनैपनि काम गर्न नसकिएको सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर चित्र चौलागाइले बताए । उनका अनुसार तीन वर्ष अघि नै सडकको ट्रयाक खोलिएपनि बजेट अभावमा स्तरोन्नतिको काम हुन सकेको छैन । ‘गत वर्ष तीन किलोमिटर सडक ढलानको काम भएको थियो । यो वर्ष कुनैपनि काम सुरु भएका छैन’ चौलागाइँले भने ।

 

संघीय सरकारले कर्णाली प्रदेशको डोल्पा र मुगु तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ गरी चार जिल्ला जोड्ने उद्देश्यले सडक निर्माण योजना अघि बढाएको थियो । तर बर्सेनि बजेट घटाउँदै जादा सडक निर्माणको काम सुस्ताएको छ ।

जुम्लाको छिनासागुदेखि डोल्पाको सिमाना मौरेलेखसम्मको काम रोकिएपनि सोही सडक अन्तर्गत सडक डिभिजन चौरजहारीले डोल्पाको मौरेलेखदेखि त्रिपुराकोटसम्म ट्रयाक खोल्ने काम गरिरहेको छ । दुई खण्डमा गरी कार्यालयले एक सय २० किलोमिटर सडक निर्माणको काम गर्नेछ । जसमध्ये पहिलो खण्डको रूपमा मौरेलेखदेखि त्रिपुराकोटसम्म ६० किलोमिटर ट्रयाक निर्माण गर्नेछ । त्रिपुराकोटदेखि ल्यासीक्यापसम्म भेरीकरिडोरले ओपरल्याप गरेको छ । ल्यासीक्यापदेखि मुस्ताङ्को सिमानासम्म कार्यालयले ६० किलोमिटर सडक निर्माण गर्नेछ । बीच खण्डमा भेरी करिडोरले ट्रयाक खोलेपछि मात्र ल्यासीक्यापदेखि मुस्ताङ्को सिमानासम्म काम अघि बढाइनेछ । कार्यालयका इन्जिनियर दिलिपकुमार यादवका अनुसार चालु आर्थिक वर्षमा एक करोड बजेट विनियोजन भएको छ । ‘न्युन बजेट हुँदा नयाँ ठेक्काका काम अघि बढ्ने छैनन्’ उनले भने, ‘अघिल्लो वर्षबाट दायित्व सरेर आएका काम हुनेछन् ।’

डोल्पा र मुस्ताङ जोड्न एक सय ६५ किलोमिटर सडक निर्माण हुनेछ । जसमध्ये सडक डिभिजन कार्यालय जुम्लाले छिनासागुदेखि मौरेलेखसम्म ४५ किलोमिटर निर्माण गर्नेछ । यसैगरी सडक डिभिजन कार्यालय चौरजहारीले दुई खण्डमा काम गर्नेछ । जुम्ला र डोल्पाको सिमाना मौरेलेखदेखि त्रिपुराकोटसम्म ६० किलोमिटर र ल्यासीक्यापदेखि मुस्ताङ्को सिमानासम्म ६० किलोमिटर सडक निर्माण गर्नेछ । त्रिपुराकोटदेखि ल्यासीक्यापसम्म भेरी करिडोरसँग आभरल्याप भएको छ ।

सरकारको प्राथमिकतामा नपर्दा सडक विस्तारको काम ओझेलमा परेको डोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य बीरबहादुर शाहीले बताए । धेरै खण्डमा ट्रयाक खोलिएको भएपनि बजेट अभावमा स्तरोन्नतिको काम अघि बढ्न नसकेको उनको भनाइ छ । शाहीले भने, ‘संघीय सरकारसँग सडक विस्तारको काम अघि बढाउन भनेपनि बर्सेनि बजेट कटौती हुँदै गएको छ ।’

उनका अनुसार कर्णाली प्रदेशको डोल्पा र गण्डकीको मुस्ताङ जिल्ला सडक कनेक्टिभिटीले जोडिएमा दुई प्रदेशको आन्तरिक व्यापार तथा पर्यटन र स्थानीयवासीलाई आउजाउमा सहज हुनेछ । तर बजेट अभावका कारण सडक निर्माणको कामले गति लिन सकेको छैन ।

उत्तरी डोल्पाको हिमाली क्षेत्रका बासिन्दालाई खाद्यान्न तथा मालसमान ढुवानीका लागि मुस्ताङ आउजाउ गर्न सहज हुने शाहीले बताए । उनका अनुसार अहिले उत्तरी डोल्पाका स्थानीय मुस्ताङ आउँदा हप्तौँ लाग्ने गरेको सडक सञ्जालले जोडिएमा एकैदिन मुस्ताङ आउन सक्नेछन् । अहिले उत्तरी डोल्पाका स्थानीयले मुस्ताङबाट घोडा, घच्चड र याकचौरीलाई बोकाएर खाद्यान्न तथा मालसमान डोल्पा ल्याउने गरेका छन् ।

डोल्पा र मुस्ताङ जोड्ने सडक समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाईबाट जान्छ । डोल्पातर्फबाट मुस्ताङको सिमाना नजिकसम्म सडक जोडिएको छ । ११ मिटर फराकिलो सडक निर्माण भइरहेको छ । मुस्ताङ जोड्ने सडकले दुई प्रदेशको आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः   ११ मंसिर २०८०, सोमबार ०५:०५