जोखिम न्यूनीकरण

कर्णाली राजमार्ग अन्तर्गत कालीकोटदेखि जुम्ला खण्ड स्तरोन्नतिको कामले तीव्रता पाएको छ । दैलेख र कालीकोटको सिमाना दहीखोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म सडक स्तरोन्नतिको काम अघि बढाइएको हो । सडक डिभिजन कार्यालय जुम्लाले मर्मतको काम गरिरहेको छ । राजमार्गमा सडकको नियमित कामसँगै सडक मर्मतको काम थालिएको छ । आर्थिक वर्ष २०७९÷०८० मा बजेट सुनिश्चित गरी काम अघि बढाइएको हो । २०८० असारमा आठ वटा खण्डमा ठेक्का सम्झौता गरिएको छ । ६ महिनामा काम सक्नेगरी ठेक्का सम्झौता गरिएको हो । सम्झौता अनुसार २०८० पुषमा काम सम्पन्न गर्नुपर्नेछ । दहीखोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्म एक सय चार किलोमिटर छ । सडक मर्मतको काम अन्तिम चरणमा पुगेको छ । मर्मतका लागि ८० करोड बजेट विनियोजन भएको छ ।

साँघुरा सडक फराकिलो बनाउने, पहिरो गएको स्थानमा पर्खाल निर्माण गर्ने, नाला निर्माण गर्ने लगायतका काम भइरहेका छन् । बर्सेनि पहिरो जाँदा सडक अवरुद्ध हुने गरेपछि मर्मत गर्न लागिएको हो । आवश्यकताका आधारमा ग्याविन वाल निर्माण पनि गरिएको कार्यालयले जनाएको छ । राजमार्गमा रहेका साँघुरा घुम्ती (मोड) फराकिलो बनाउने काम अन्तिम चरणमा पुगेको छ । सडक साँघुरो हुँदा ठूला गाडी आवतजावत गर्न समस्या हुनेभएकाले सडक फराकिलो पार्न लागिएको जनाइएको छ । आवश्यकताका आधारमा ठाउँ–ठाउँमा मोड सुधारका काम भइरहेका छन् । कर्णाली राजमार्गका धेरै घुम्ती साँघुरो भएकोले सवारी साधन चलाउन समस्या हुने गरेको छ । सडक डिभिजन कार्यालय जुम्लाले एक सय चार किलोमिटर कर्णाली राजमार्गमा रहेका साँघुरा मोड सुधार गर्न लागेको हो । कर्णाली राजमार्गले सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुलाई प्रत्यक्ष रूपमा जोडेको छ । सुर्खेतको वीरेन्द्रनगरदेखि दैलेख हुँदै कालीकोटको दही खोलासम्म सडक डिभिजन कार्यालय सुर्खेतले हेर्दै आएको छ भने राजमार्गअन्तर्गत दहीखोलादेखि जुम्ला खलङ्गासम्म सडक डिभिजन कार्यालय जुम्लाले हेर्दै आएको छ । अहिले सडक डिभिजनमार्फत टुक्रे मर्मत–सम्भारका कामहरू भइरहेका छन् ।

कर्णाली राजमार्ग लामो समयदेखि मर्मत र सुधार हुन सकेको थिएन । पछिल्लो समय भने स्तरोन्नतिको योजनालाई प्राथमिकतामा राखिएको छ । दैलेख र कालीकोटको सिमाना दहीखोलादेखि नाग्म हुँदै जुम्ला बजारसम्मको खण्ड मात्रै होइन, राजमार्ग अन्तर्गतकै सुर्खेतको बाङ्गेसिमलदेखि दैलेखको दहीखोलासम्मको एक सय ३२ किलोमिटर सडकमा पहिरोको जोखिम कम गर्न मर्मत थालिएको छ । बर्सेनि पहिरो जाँदा सडक अवरुद्ध हुने गरेपछि मर्मत गर्न लागिएको हो । सडक स्तरोन्नतिले राजमार्गमा हुने जोखिम न्यूनिकरण गर्नेछ । दुर्घटना घटाउनेछ ।

प्रकाशित मितिः   ११ मंसिर २०८०, सोमबार ०५:०३