कर्णालीका पहुँचमार्ग–४

स्तरोन्नति हुँदै कर्णाली राजमार्ग

आवधिक मर्मत सुरु, मोड सुधारको काम धमाधम, पहिरो रोकथाम गर्न ग्याविन वाल

सुर्खेत: कर्णाली राजमार्गमा पहिरो रोकथाम गर्न मर्मतको काम थालिएको छ । सुर्खेतको बाङ्गेसिमलदेखि दैलेखको दहीखोलासम्मको एक सय ३२ किलोमिटर सडकमा पहिरोको जोखिम कम गर्न मर्मत थालिएको हो । बर्सेनि पहिरो जाँदा सडक अवरुद्ध हुने गरेपछि मर्मत गर्न लागिएको हो ।

गत वैशाखमा १५ करोड बजेट सुनिश्चित गरेर काम अघि बढाइएको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतका इन्जिनियर अशोक चौधरीले जानकारी दिए । सोही कामका लागि जेठमा तीन वटा ठेक्का सम्झौता गरिएको थियो । त्यसैगरी भदौमा थप अर्को ठेक्का सम्झौतासमेत गरेर काम सञ्चालन भइरहेको छ ।

राजमार्गमा पहिरो गएका बेला जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि राजमार्ग स्तरोन्नतिको काम अघि बढाइएको छ । पहिरो जानसक्ने ठाउँहरूको सम्भावित अध्ययन गरेर काम अघि बढाइएको चौधरीको भनाइ छ । यस कार्यालय अन्र्तगत पर्ने एक सय ३२ किलोमिटर सडकमा पहिरोको जोखिम रहेका क्षेत्रमा ग्याविन वाल निर्माणको काम भइरहेको हो । चौधरीले भने, ‘चार वटा ठेक्कामार्फत ग्याविन वाल निर्माणको काम धमाधम भइरहेको छ । पहिरोको जोखिम रहेका क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको हो ।’

 

मोड सुधारको काम धमाधम

राजमार्गमा रहेका साँघुरा घुम्ती (मोड) फराकिलो बनाउने काम अघि बढेको छ । बाङ्गेसिमलदेखि दैलेखको साङ्गेतडासम्मका साँघुरा मोड फराकिलो बनाउन लागिएको हो । सडक साँघुरो हुँदा उपकरणसहितका ठूला गाडी ल्याउन समस्या हुनेभएकाले सडक फराकिलो पार्न लागिएको जनाइएको छ ।

कर्णाली राजमार्गका धेरै घुम्ती साँघुरो भएकोले सवारी साधन चलाउन समस्या हुने गरेको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतले कर्णाली राजमार्गमा रहेका साँघुरा मोड सुधार गर्न लागेको हो । मोड सुधारका लागि कार्यालयले गंगामाला बडिमालिका एम.एम. जेभिसँग ठेक्का सम्झौता गरेको छ । गत असोज १० गते ६ महिनामा काम सम्पन्न गर्नेगरी सम्झौता गरिएको हो । साँघुरा घुम्ती (मोड) फराकिलो बनाउने काम धमाधम भइरहेको कार्यालयका इन्जिनियर चौधरीले बताए । उनका अनुसार असोज १० गते ठेक्का सम्झौता गरेर काम सुरु गरिएको हो । तीन करोड ८५ लाखमा ठेक्का सम्झौता भएको छ । सम्झौता अनुसार ६ महिनाभित्रमा मोड सुधारका काम सम्पन्न गनुपर्ने उल्लेख छ । अहिले कटिङ गर्ने, मोड सुधार गर्ने, नाला निर्माण गर्ने लगायतका काम भइरहेका छन् ।

मोड सुधारको काम दैलेखको सियालाबाट सुरु गरिएको छ । पेट्रोलियम पदार्थ अन्वेषणका लागि ठूला उपकरण ल्याउनुपर्ने भएपछि मोड सुधार गर्न लागिएको हो । सडक साँघुरो हुँदा उपकरणसहितका ठूला गाडी ल्याउन समस्या हुनेभएकाले सडक फराकिलो पार्न लागिएको जनाइएको छ । सम्झौताअनुसार कर्णाली राजमार्गको ८५ किलोमिटर सडक हँुदै उपकरण ल्याउने ठाउँका मोडहरू सुधार गरिनेछ । उपकरण ल्याउँदा आवश्यक परे अन्य स्थानमा समेत मोड सुधार गरिने जनाइएको छ ।

 

 

आवधिक मर्मत सुरु

कर्णाली राजमार्गमा सडक आवधिक मर्मत सुरु भएको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतले काम सुरु गरेको हो । नेपाल सरकारको १५ प्रतिशत र विश्व बैंकको ८५ प्रतिशत आर्थिक साझेदारीमा राजमार्गका सडक मर्मतको काम अघि बढेको हो ।

आगामी असार मसान्तसम्ममा मर्मत गरिसक्ने गरी सम्झौता भएको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतले जनाएको छ । यसका लागि गत असोज १० मा तिरूपाते निर्माण सेवा घोराही दाङसँग ठेक्का सम्झौता भएको हो । भ्याट बाहेक नौ करोड २५ लाख बजेटमा ठेक्का सम्झौता भएको छ । सम्झौता अनुसार आउँदो असारसम्ममा आवधिक सडक मर्मतको काम गरिसक्नुपर्नेछ ।

सडक दुर्घटनाको जोखिम न्यूनिकरण गर्नका लागि सडक मर्मत गर्न लागिएको हो । सवारी साधनको चाप बढी भएका सडकमा मर्मत गर्न लागिएको इन्जिनियर चौधरीले जानकारी दिए । उनका अनुसार पूरै बिग्रिएर पुनःस्थापना गर्ने सडकभन्दा पनि निर्माण भएको केही वर्ष भएकाले मर्मत चाहिने सडक छनोट गरिएको छ । कर्णाली राजमार्गको बाङ्गेसिमलदेखि–बड्डीचौरसम्म र मैनखोलादेखि तल्लोडुङ्गेश्वरसम्म आवधिक मर्मतको काम गर्न लागिएको छ । अहिले सडक सतह मर्मत, नाला मर्मत, गिटी छर्ने र रिसिङलगायतका काम धमाधम भइरहेका छन् । २०८० असोजमा सम्झौता भएकोमा आवधिक सडक मर्मतको काम आगामी २०८१ असारसम्ममा गरिसक्नुपर्नेछ । मर्मत योजना अन्तर्गत सडकका खाल्डा खुल्डी पुर्ने, वाल मर्मत तथा नाला मर्मत गर्ने लगायतका काम गरिने कार्यालयले जनाएको छ ।

 

प्रकाशित मितिः   ८ मंसिर २०८०, शुक्रबार ०५:०५