कर्णालीका पहुँचमार्ग–१

‘लाइफ लाइन’कै ट्रयाक खोल्न ढिलासुस्ती

सुर्खेत: प्रदेशकै ‘लाइफ लाइन’का रूपमा हेरिएको कर्णाली करिडोरको ट्रयाक खोल्ने काममा ढिलासुस्ती भएको छ । एक दशक बितिसक्दासम्म पनि ट्रयाक निर्माणकै काम सकिएको छैन ।

करिडोर अन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सिमिकोटसम्म दुई सय ६८ किलोमिटर सडकखण्ड निर्माणमा ढिलासुस्ती भइरहेको छ । यो खण्डमा २४ प्रतिशत भौतिक प्रगति भएको छ भने हालसम्म २० प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । दुई सय ६८ किलोमिटर सडकमध्ये दुई सय ६६ किलोमिटर ट्रयाक खोल्ने काम सकिएको हिल्सा–सिमिकोट सडक आयोजनाले जनाएको छ ।

६ सय ८२ किलोमिटर कूल लम्बाइ रहेको करिडोरले बाँकेको जमुनाहदेखि सुर्खेत, दैलेख, कालीकोट, बाजुरा, हुम्लाको सिमकोट हुँदै चीनको सीमाक्षेत्र हिल्सासम्म जोड्दछ । एक दशक पहिले सडक निर्माण सुरु भएपनि कठिन भूगोलका कारण अझैसम्म पूर्णरूपमा ट्रयाक खोल्न सकिएको छैन । कडा चट्टान भएका खण्डमा ‘ब्लास्टिङ’ मा पनि लामो र झन्झटिलो प्रक्रिया रहेको आयोजना प्रमुख वीरेन्द्रबहादुर चन्दले बताए । ब्लास्टिङका लागि आवश्यक सामग्री सेनाबाट लिनुपर्ने हुँदा समय लाग्ने गरेको उनको भनाइ छ । चन्दले भने, ‘कठिन भूगोलका कारण अपेक्षित काम गर्न सकिएको छैन । सिमिकोटभन्दा माथि मौसमका कारण ६ महिनाभन्दा बढी काम गर्न सकिँदैन ।’

 

 

हुम्लाको माथिल्लो क्षेत्रमा ट्रयाक पनि खुलिसकेको छ भने हुम्लाभन्दा तल्लो क्षेत्रमा ठेक्का प्रक्रिया अघि बढाइएको छ । हुम्ला सलिसल्लाबाट सिमिकोट खण्डमा दुई किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको छ । खुलालुदेखि सलिसल्लासम्म स्तरोन्नतिको काम भइरहेको आयोजनाले जनाएको छ । यस वर्ष पनि स्तरोन्नतिका लागि ठेक्का हुने आयोजना प्रमुख चन्दले बताए । उनले भने, ‘अब दुई किलोमिटर सडकको ट्रयाक खोल्न मात्र बाँकी छ । सडकको ग्राभेललगायतका कामका लागि नयाँ ठेक्कासम्झौता गर्छौं ।’

करिडोरको शिलान्यास गरिएको दुई दशक बितेको छ । २०५७ सालमा नेपाल सरकारका तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेलले कर्णाली करिडोर शिलान्यास गरेका थिए । तर २०६९ चैत ८ गते हिल्सा–सिमिकोट सडक आयोजनाको कार्यालय स्थापना भएको थियो । उक्त कार्यालय बनेपछि मात्रै कालीकोटदेखि सिमिकोट सडक निर्माण अघि बढाइएको हो । आर्थिक वर्ष २०८३÷०८४ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यसअघि एक दशकभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०६९÷०७० देखि आ.व. २०७९÷०८० सम्मको म्याद निर्धारण गरिएको थियो । तर निर्धारित समयमा नै काम सम्पन्न हुन नसकेपछि आयोजनाको अवधि थपिएको हो ।

करिडोर निर्माण सम्पन्न भए हिल्सा–जमुनाहसम्म उत्तरदक्षिण जोड्ने सबैभन्दा छोटो दूरीको सडक बन्नेछ । आयोजना निर्माणमा एक अर्ब ३६ करोड खर्च भइसकेको छ भने हालसम्मको ठेक्का रकम दुई अर्ब ३० करोड ९२ लाख रहेको आयोजना प्रमुख चन्दले जानकारी दिए । करिडोर निर्माण सम्पन्न गर्न ६ अर्ब ६६ करोड ९९ लाख दश हजार लागत अनुमान रहेको छ । चालु आर्थिक वर्षमा सरकारले कर्णाली करिडोरको उत्तरी खण्ड सलिसल्लादेखि हिल्सासम्मको सडक निर्माणका लागि ३१ करोड दुई लाख २० हजार बजेट विनियोजन गरेको छ । यो खण्डमा सात वटा मोटरेवल पुल निर्माण भइरहेका छन् ।

 

१४ वटा पक्की पुल निर्माण हुने

कालीकोटदेखि हुम्लासम्मको दुई सय ६८ किलोमिटर लामो करिडोर निर्माणका क्रममा १४ वटा मोटरेवल पुल निर्माण हुने भएका छन् । जसमध्ये उत्तरी खण्डमा सात वटा पुल निर्माणकै चरणमा रहेका छन् भने दक्षिणी खण्डको पुल निर्माणको सम्झौता भइ अघि बढेका छन् । उक्त खण्डमा पनि सात वटा पुल निर्माण हुनेछन् ।

१४ वटा पुल निर्माणका लागि प्रत्येक पुलमा ६५ लाखका दरले बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा ६ करोड ५६ लाख बजेट विनियोजन भएको छ । पुल निर्माणमा बजेट अपुग हुनेगरेको आयोजनाले जनाएको छ । यसैबीच कर्णाली करिडोरको कामलाई अघि बढाउनका लागि एउटा बेलिब्रिज निर्माण सम्पन्न भएको छ । सलिसल्लामा अस्थायी बेलिब्रिज निर्माण गरिएको हो ।

प्रकाशित मितिः   ४ मंसिर २०८०, सोमबार ०८:४१