खटिए स्वयम्सेवक

सुर्खेत: जाजरकोटमा गएको भूकम्पपछि पुनःस्र्थापनाका साथै पुनर्निर्माणका काम सुरु भएका छन् । भूकम्पका कारण ध्वस्त भएका संरचनाको पुनर्निर्माण सुरु गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का कार्यकर्ता जाजरकोटको माथिल्लो थाप्लेस्थित भूकम्पपीडितका भत्किएका घर व्यवस्थापन तथा अस्थायी टहरा निर्माणमा खटिएका छन् । शुक्रवारदेखि उनीहरूले काम थालेका हुन् ।

विपद् व्यवस्थापन समितिबाट तालिम प्राप्त ७५ जना स्वयम् सेवक परिचालन गरिएको जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमले जानकारी दिए । भेरी नगरपालिका वडा नं. ३ को माथिल्लो थाप्लेमा स्वयम्सेवकले हेल्मेट, ज्याकेट, पन्जा जस्ता सुरक्षा सामग्री लगाएर धमाधम काम गरिरहेका छन् । उनीहरूले भूकम्पले भत्किएका सरकारी कार्यालयका ढुङ्गा, माटो र काठहरू पन्छाउने काम गरिरहेका छन् । शुक्रवारदेखि खटिएको टोलीले यही मंसिर ८ गतेसम्म काम गर्नेछन् ।

नेकपा (एमाले) ले दिएको जानकारी अनुसार भूकम्पबाट अति प्रभावित भेरी र नलगाड नगरपालिका, बारेकोट र कुशे गाउँपालिकामा ६ सय र रूकुमपश्चिमको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा चार सय गरी एक हजार स्वयम्सेवकलाई १५ दिन परिचालन गरिने छ ।

यस्तै नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कार्तिक २३ गते भूकम्प प्रभावित क्षेत्रमा पुगेर स्थानीय स्रोतसाधन प्रयोग गरेर अस्थायी आवास निर्माणको नमुना बनाएका थिए । उनीहरूले खलङ्गा र चिउरीमा नमुना घर बनाएका हुन् । भेरी नगरपालिका वडा नं. ३ का प्रकाशजङ्ग शाहको भत्किएको घरनजिक अस्थायी आवास बनाइएको छ । जहाँ नेपाली कांग्रेसबाट निर्वाचित नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको थियो ।

हजारौँ स्वयम्सेवक परिचालन गरेर पुनर्निर्माणको कामलाई जनसेवामा परिणत गर्ने नेकपा (माओवादी केन्द्र) ले जनाएको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले भूकम्प प्रभावित क्षेत्रमा तीन हजार एक सय स्वयम्सेवक खटाउने निर्णय गरेको छ । विशेष रूपान्तरण अभियानको समीक्षात्मक बैठकका क्रममा शनिवार उक्त निर्णय गरिएको हो । अभियानअन्तर्गत यस अघि बसेको बैठकले भूकम्प प्रभावित क्षेत्रमा दुई हजार एक सय स्वयम्सेवक खटाउने निर्णयलाई संशोधन गरी शनिवारको बैठकले एक हजार थप गर्ने निर्णय गरेको केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले बताइन् । ‘प्रभावित क्षेत्रमा खटिने स्वयम्सेवहरूले भूकम्पपीडितहरूको अस्थायी आवास तथा पुनःर्निर्माण कार्यमा सहयोग गर्नुपर्नेछ,’ उनले भनिन्, ‘यसका लागि प्रभावित जिल्लाहरूबाट दुई हजार एक सय र बाँकी अन्य जिल्लाहरूबाट एक हजार स्वयम्सेवक परिचालन हुनेछन् ।’ सम्बन्धित जिल्ला इञ्चार्जहरूको निर्देशनमा नेतृत्वसहितको स्वयम्सेवक टोली खटाइने उनको भनाइ छ ।

भूकम्पबाट जाजरकोट, रूकुमपश्चिम, सल्यानलगायतका जिल्लाका एक सय पाँच वडा प्रभावित भएको बताउँदै उनले प्रत्येक वडामा २१ जनाको टोली सक्रिय रहने बताइन् । अध्यक्ष केसीका अनुसार भूकम्प प्रभावित क्षेत्रमा स्वयम्सेवक टोली यही मंसिर ७÷८ गतेबाट परिचालन गरिनेछ ।

प्रकाशित मितिः   ४ मंसिर २०८०, सोमबार ०८:३७