सन्दर्भः भ्यालेन्टाइन डे, नागरिक स्वतन्त्रताको पक्षमा उभिएको कथा
प्रेमबहादुर शाही |
भनिन्छ ‘प्रेम हाँसो र आँशुसँग खेल्छ, जीवनका सबै थोक प्रेमको अङ्गालोभित्र आउँछन र जीवनका प्रत्येक कदम, प्रत्येक क्षेत्रमा यसले प्रभाव पार्छ ।’ त्यसैले प्रेमलाई राम्रोसँग जान्नु र अध्ययन गर्ने गर्नु पर्दछ । प्रेम दिवसलाई युवाहरूको प्रिय चाडको रूपमा मनाउन थालिएको छ । यो आउनु अघि नै युवाहरू प्रेमको रङ्गमा रंगिएका हुन्छन । आखिर भ्यालेन्टाइन डे कहिले मनाउन थालियो र यसको के कस्तो महŒव छ ? भन्ने बारेमा पछिल्लोे पिंढीहरूको ध्यान जान सकेको छैन । यसको वास्तविकता, महŒव र ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्न सान्दर्भिक छ । हजारौं वर्षअघि रोमनका राजा क्लोडियसले आफ्नो सन्देशमा कुनै पनि सैनिकले विवाह नगरुन् भन्ने उर्दी जारी गरेका थिए । सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । पादरी भ्यालेन्टाइन भने अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुशी हुन्छन् भन्ने मान्यता राख्थे । यी दुवै जनाको अलग–अगल विचारमा ठूलो विवादको विषय बनेको थियो ।
त्यहाँ प्रेम र विवाहलाई प्रतिबन्ध लगाइएका सम्राटको राजाज्ञा थियो । राजाज्ञाको उर्दीलाई अस्वीकार गरी भ्यालेन्टाइन पादरीले विवाह गराए । फलस्वरूपः राजाको निषेधाज्ञा तोडेको आरोपमा ई.पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झना नै भ्यालेन्टाइन दिवस मनाउने गरिएको हो । उर्दीलाई अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरेका थिए । त्यो दिन नै आज दिवसको रूपमा भ्यालेन्टाइनका रूपमा विख्यात भयो । पश्चिमेली सभ्यताको यो चाडले विस्तारै पूर्वेली देशमा पनि मनाउन थालियो । यो दिन युवाहरूको चाहना र मायाहरू व्यक्त गर्ने दिनका रूपमा मनाउने गरिएको छ । आजका युवाहरूले पश्चिमेली सभ्यता र फेसनलाई स्वीकार गरेका छन् । त्यसैगरी मदर्स डे, फादर्स डे, भ्यालेन्टाइन डे पनि सहज रूपमा स्वीकार गरेका छन् । पश्चिमेली सांस्कृतिले गर्दा आज हाम्रा पुराना मान्यता संस्कार र परम्परा खण्डित भइरहेका छन् । आधुनिकता र देखावटी पनको चकचकी बढ्दो छ । त्यसैमध्ये भ्यालेन्टाइन पनि एक हो । यो दिनलाई नै गर्लफ्रेन्ड र ब्वाई फ्रेन्ड बनाउने दिन हो भन्ने युवाहरूको जमात ठूलै छ । त्यसैले आजका युवा मस्तिष्कले मात्र होइन मनले पनि यही सोच्छन् र उनीहरू प्रेमको लागि जीवन नै त्याग गर्न पछि पर्दैनन् । जीवनका गोरेटाहरूमा अंकुश भन्दा खुशी माया र स्वतन्त्रता चाहेका हुन्छन् ।
समयको परिवर्तनसँगै भ्यालेन्टाइन दिवस मनाउने प्रचलन पनि भिन्ना भिन्नै रहेको छ । पहिला प्रेमी प्रेमिकाहरू आ–आफ्ना भावहरू व्यक्त गर्न प्रेम पत्रद्वारा हुन्थ्यो भने पछि गुलाफ र फूलका गुच्छाको चलन आएको छ । सन् १९८० देखि डायमन्ड कम्पनीहरूले विभिन्न डिजाइनमा खेलौना, मुटु आकारका चकलेट, अर्थात् धेरैले पछिल्लो समयमा गुलाफको फूल उपहार दिन मन पराउने भएकाले त्यही अनुरूपमा वस्तुहरू र फूलहरू उत्पादन गर्ने गरेको छ । सबैभन्दा उत्तम गुलाफको फूल मायाको प्रतिक भएकाले त्यही नै सबैभन्दा बढी प्रेमिकालाई उपहार दिने गरिएको छ । अहिलेसम्म भन्ने गरिन्छ ‘संसारको सबैभन्दा सुन्दर फूल गुलाफ हो जसले केवल प्रेमको भाव बोल्छ ।’ धेरै जनाको विचारमा छ यो केवल युवाहरूको माया प्रेम गर्न आजको दिन राम्रो मानिन्छ । प्रत्येक युगल जोडीले प्रेम गर्नसक्छन् तिनीहरू भविष्यमा श्रीमान् श्रीमती हुनसक्छन् यो दिन सबै प्रेमको चिनो दिने दिनको रूपमा हेर्ने गरिएको छ । यो दिनमा कसैले लोमो चुम्बनको रेकर्ड राख्ने गरेका छन् त, कसैले सबैभन्दा लामो प्रेम पत्र लेख्ने जस्ता विभिन्न कामहरू गर्ने गरेका छन् । जीवनका प्रत्येक कदममा प्रत्येक क्षेत्रमा प्रेमले पापी अनि अपराधीलाई समेत सुधार्ने गर्दछ । जसको प्रयोगले शत्रु पनि मित्र बन्छ । प्रेमले मानिसलाई चेतना मात्र होइन नयाँ जीवनसमेत दिन्छ । भ्यालेन्टाइन दिवस प्रेम, प्रणय र काम बासनाको प्रतिक मात्र हैन । त्यसैले त भनिन्छ प्रेम अन्धो हुन्छ । यो दिवसको जीवन साथीको रूपमा मात्र नभएर मानवअधिकार र प्रजातन्त्रसँग पनि जोडिएको छ । जनताको चाहना र मानवअधिकार विरुद्ध घोषणा गर्ने शासक र जनताको अधिकार खोस्नु हुन्न भन्ने पादरीको सङ्घर्षको ज्वलन्त उदाहरण हुन् । उनले त्यतिबेला जे गरे यो अहिलेको पनि यो सङ्घर्ष चलिरहेको छ । अर्थात् प्रजातन्त्र र मानवअधिकारको सङ्घर्ष निरन्तर जारी छ । के भ्यालेन्टाइनलाई यसरी पनि सम्झना सकिन्न ? समाज खुला होस् वा बन्द, मानिसका आकांक्षा कहीं न कहीबाट प्रकट भइरहेकै हुन्छ । बन्द समाजमा बस्ने मानिसहरूका आवाज बन्द हुनसक्छ तर भावना र चाहना बन्द हुँदैन ।
त्यसैले त कट्टर धार्मिक कानुन लादिएका मुलुकहरूमा पनि भ्यालेन्टाइन दिवस मनाइन्छ । आखिर प्रेम र प्रणयमा भ्यालेन्टाइन दिवसलाई नै किन रोजियो ? पश्चिमी सभ्यताको त्यो एउटा इतिहास पुरुषले स्थापित गरेको मान्यताले अहिलेसम्म किन स्मरणीय रह्यो भन्ने कौतुहलता जागृत भइ नै रहेको छ । के पूर्वीय समाजमा त्यस्ता दिवस मनाउने कुनै सन्दर्भ छैन त ? पक्कै पनि छन् । नेपाल र भारतमै प्रेम र समर्पणका अनेक कथा र गाथाले भरिएका सामग्री जति पनि छन् तर ती सबैभन्दा अलग छ । किनभने भ्यालेन्टाइनले शासक विरुद्ध सङ्घर्ष गरे, देह त्याग गरे प्रेम र प्रणयका लागि । त्यसैले अरु प्रेमका कथा भन्दा फरक छ भ्यालेन्टाइन । नागरिक स्वतन्त्रताको पक्षमा उभिएको कथा छ । आजभोलि भ्यालेन्टाइन शारीरिक सम्बन्धमा पुगेर टुङ्गिने गरेको छ । भ्यालेन्टाइनको दिन बसेको माया अर्को भ्यालेन्टाइन नआउँदै टुटेको पनि देखिन्छ र सुनिन्छ पनि । त्यसैले प्रेम र प्रणयलाई सस्तो ठान्नु हुन्न यो ईश्वरीय देन हो भन्ने त्यागी पादरी भ्यालेन्टाइनको सम्झना गर्नेहरूले कहिल्यै धोका र विश्वासघात गर्दैनन् ।
साझा बिसौनी संवाददाता ।