भूकम्पपीडितको कष्टकर दैनिकी

शीत नछेक्ने त्रिपालको ओत, स्वास्थ्य समस्या बढ्दै, पाँच जनाको मृत्यु

सुर्खेत: भूकम्पले घर भत्किएको दिनदेखि नै जाजरकोटको भेरी नगरपालिका वडा नं. ३ का ईश्वरजंग शाहको परिवार त्रिपाल टाँगेर बस्दै आएका छन् । चिसोले गर्दा उनका परिवारका सदस्यमा स्वास्थ्य समस्या देखिएको छ । दिनप्रतिदिन स्वास्थ्य समस्या बढ्दै गएको छ । ‘सरकारले सामान्य त्रिपाल मात्र उपलब्ध गराएको छ । हामीलाई अस्थायी बासस्थान आवश्यक छ’ शाहले भने । आफूहरूको दैनिकी थप कष्टकर बन्दै गएको उनको भनाइ छ ।

सोही वडा कि ७८ वर्षीया लक्ष्मीकुमारी शाहलाई केही दिनदेखि ज्वरो र रुघाखोकीको समस्या देखिएको छ । ‘छातीमा स्वाँस्वाँ बढेको छ । नियमित औषधि सेवन गरिरहेकी छु । कठ्याङ्ग्रिदो चिसो, त्रिपालमुनि बास छ, न्यानो कपडासमेत छैन’ उनले भनिन् । चिसोका कारण आफूहरू बिरामी पर्न थालेको लक्ष्मीले बताइन् ।

भूकम्पपीडित अधिकांशको परिवारका कोही न कोही सदस्य बिरामी छन् । बालबालिका, दीर्घरोगी र सुत्केरीमा स्वास्थ्य समस्या बढी देखिएको छ । दुई सातायताको त्रिपालमुनिको बासका कारण परिवारका १३ मध्ये ६ जना बिरामी परेको उपेन्द्रजंग शाहले बताए । ‘दुईलाई ज्वरो र दुईलाई निमोनिया देखिएको छ’ उनले भने, ‘सबैजसोलाई रुघाखोकीले सताएको छ । भूकम्पले घर भत्किँदा भएका लत्ताकपडा सबै घरमा पुरिएका छन् ।’ घरभित्र पसेर निकाल्न नसकिएको भन्दै उनले गतिलो ओढ्ने÷ओछ्याउने नहुँदा थप समस्या भइरहेको बताए । त्रिपाल टाँगे पनि राति परेको शीतले ओढेका कपडा सबै भिज्ने गरेका छन् । उनले न्याना कपडाको अभावमा बिहान उठ्दा हातखुट्टाका जोर्नी पूरै दुख्ने बताउँदै चिसोले नै बिरामी पारेको बताए । ‘त्रिपाल टाँगेर के गर्नु, हावा छिर्छ । चिसो त्यत्तिकै बढेको छ,’ उनले भने, ‘२४सै घण्टा आगो बाल्न सकिँदैन । निकै समस्या भइरहेको छ ।’ सरकारले दिएको राहत अपूरो भएको उनको भनाइ छ ।

सरकारले एक परिवारका लागि एउटा त्रिपाल र एउटा कम्बल मात्र दिइएको छ । जसले रातभरिको शीत र सिरेटो छल्न सकेको छैन । भूकम्प पीडित बिरामी पर्न थालेका छन् भने स्थानीय अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ ।

 

पाँच जनाको मृत्यु

त्रिपालमा बस्दै आएका पाँच जना भूकम्पपीडितको चिसोका कारण मृत्यु भएको छ । शुक्रवार दुई जना, गत बुधवार एक जना र गत शुक्रवार दुई जनाको चिसोका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा वृद्धवृद्धा छन् । भूकम्पले घर भत्किएपछि त्रिपाल टाँगेर बसेका उनीहरूको चिसोका कारण मृत्यु भएको हो ।

जाजरकोटस्थित बारेकोट गाउँपालिका वडा नं. ४ जिरीका ७९ वर्षीय नरेन्द्रबहादुर सिंह र बारेकोट वडा नं. १ रामीडाँडाका ७० वर्षीय डुमे पुनको शुक्रवार मृत्यु भएको हो । भेरी नगरपालिका वडा नं. २ का ८८ वर्षीय धुलेश्वर कार्कीको गत बुधवार मृत्यु भएको थियो भने गत शुक्रवार नलगाड नगरपालिका वडा नं. ४ लहास्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको हो ।

 

आवास बनाउन ५० हजार

जाजरकोट केन्द्रविन्दु भइ गएको भूकम्पबाट प्रभावितप्रति परिवारलाई अस्थायी आवास निर्माण गर्न सरकारले ५० हजार दिने भएको छ । प्रतिपरिवारलाई २५÷२५ हजार गरी दुई किस्तामा सो रकम दिने निर्णय भएको हो । अस्थायी आवास निर्माणका लागि तत्काल रकम र प्राविधिक पठाइने आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण जिसीले बताए । उनका अनुसार संघीय सरकारको निर्णयबमोजिम नै रकम वितरण गरिनेछ । ‘भूकम्प पीडितका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय सरकारसँग समन्वय गरेर संयमसेवक परिचालन गरेका छौँ’ उनले भने, ‘तत्काल अस्थायी आवास बनाउन सकिएन भने भूकम्पपीडित चिसोले कठ्याङ्ग्रिने डर धेरै छ ।’

विपद् कोषबाट रकम सिधै स्थानीय तहमा पठाउने र पालिकाले नै प्रभावितलाई प्रदान गरेर जतिसक्दो छिटो अस्थायी आवास निर्माण गरिने उनले बताए । बालबालिका, ज्येष्ठ नागरिक र सुत्केरी प्रभावित हुने भएकाले तत्काल अस्थायी आवास बनाउन प्रदेश सरकारले काम सुरु गरेको उनको भनाइ छ ।

६५ हजार भन्दा बढी घरमा क्षति

जाजरकोट भूकम्पले प्रदेशका ६५ हजारभन्दा बढी घरहरू क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । टहरा निर्माणका लागि ठूलो मात्रामा बजेट आवश्यक पर्ने जनाइएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक प्रतिवेदन अनुसार जाजरकोटको छेडागाड नगरपालिकामा एक हजार नौ सय ४५ घरहरू पूर्णरूपमा क्षति भएका छन् भने चार हजार पाँच सय ४५ घर आंशिक क्षति भएका छन् । कूल ६ हजार चार सय ९० घरधुरी विस्थापित भएका छन् । जाजरकोटकै भेरी नगरपालिकामा दुई हजार पाँच सय ३० घर पूर्णरूपमा क्षति भएका छन् भने चार हजार दुई सय ३८ घर आंशिक रूपमा क्षति भएका छन् । ६ हजार सात सय ६८ घरका नागरिकहरू भूकम्पका कारण विस्थापित भएका छन् ।

बारेकोट गाउँपालिकोटमा एक हजार ३५ घर पूर्णरूपमा ध्वस्त भएका छन् भने दुई हजार दुई सय ८६ घर आंशिक क्षति बनाएको छ । तीन हजार तीन सय २१ घरमा बस्दै आइरहेका नागरिकहरू विस्थापित भएका छन् । कुशे गाउँपालिकामा एक हजार पाँच सय चार घर पूर्णरूपमा क्षति हुँदा तीन हजार ९८ घर आंशिक क्षति भएका छन् । यहाँका चार हजार ६ सय दुई घरका नागरिकहरू विस्थापित भएका छन् । जुनिचाँदे गाउँपालिकामा तीन हजार नौ सय ७८ घरमा बस्दै आइरहेका नागरिकहरू विस्थापित भएका छन् । यो पालिकामा ६ सय ३४ घर पूर्णक्षति भएका छन् भने तीन हजार तीन सय ४४ घर आंशिक रूपमा क्षति भएका छन् ।

यस्तै रुकुमपश्चिमको चौरजहारी नगरपालिकाका एक हजार पाँच सय ५२ घर भूकम्पका कारण पूर्णरूपमा क्षति भएका छन् भने चार हजार पाँच सय ७४ घर आंशिक रूपमा क्षति भएका छन् । कूल ६ हजार एक सय २६ घरहरूमा बस्दै आइरहेका नागरिकहरू अहिले विस्थापित भएका छन् । त्रिवेणी गाउँपालिकामा एक हजार नौ सय ३५ घरधुरी विस्थापित भएका छन् । यहाँ एक हजार नौ सय ३५ घरधुरी पूर्णरूपमा क्षति भएका छन् भने एक हजार दुई सय ५८ घरहरू आंशिक क्षति भएका छन् । सानीभेरी गाउँपालिकाका तीन हजार सात सय ४१ घरधुरी प्रभावित भएका छन् । जसमध्ये एक हजार दुई सय ४६ घरधुरीमा बस्दै आइरहेका नागरिक पूर्णरूपमा विस्थापित भएका छन् ।

प्रकाशित मितिः   ३ मंसिर २०८०, आईतवार ०५:०५