गोठमा बस्न बाध्य भूकम्पपीडित

सुर्खेत: दैलेखको नौमुले गाउँपालिका वडा नं. ४ का कृष्ण गिरीको घर भूकम्पले चर्किएको छ । उनको परिवारले भैंसीगोठमा आश्रय लिएको आठ दिन पुग्यो । गोठमा गाईभैंसी, बाख्रा र कुखुरा पनि छन् । अहिलेसम्म उनले कुनै राहत पनि पाएका छैनन् । चिसो मौसम भएकाले निकै कष्टपूर्ण भइरहेको छ । गिरी भन्छन्, ‘डाँडाँमा सेतैँ हिँउ परेको छ । ओत लाग्ने घर भूकम्पले चर्कियो । अहिलेसम्म एउटा त्रिपालसम्म पाएका छैनौँ ।’

सोही वडाका रामबहादुर गिरीको घर पुरै नभत्किए पनि बस्न लायक छैन । चर्किएर जुनसुकै बेला भत्किन सक्ने जोखिम छ । उनले त्रिपाल नपाएर खुला आकाशमुनि चिसो रात बिताउन बाध्य भएको बताए । गाउँपालिकासँग त्रिपाल माग गरेपनि सुनुवाई नभएको गिरीको भनाइ छ । उनकाअनुसार चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिकहरूमा स्वास्थ्य समस्या बढ्न थालेको छ ।

वडा नं. १ की भविसरा जैसीको घर भुइँचालोले भत्काएको छ । उनको परिवार पनि गोठमा बस्दै आएको छ । जैसीले भनिन्, ‘सरकारले राहत दिन्छ भन्ने सुनेको थिएँ, हामीलाई राहत अझैसम्म दिएनन् । गोठमा नबसेर कहाँ जानु !’ गोठमा बस्दाको सबैभन्दा समस्या जाडोमा बालबच्चालाई चिसोबाट बचाउन र पशुपन्छीका रोगकिरा सर्ला कि भन्ने त्रास रहेको उनले बताइन् ।

भूकम्पले घरमा चिरा पारेपछि गाइगोठमा रात कटाइरहेको सोही वडाका धर्मराज गिरीले बताए । उनले भने, ‘आफू त जसोतसो बसौँला । गाई कहाँ राख्ने, बाख्रा कहाँ राख्ने ? अब हिउँ पर्ने बेला भयो, चिसो बढेको छ । बाँच्ने कसरी, बचाउने कसरी ? चिन्ता लागेको छ ।’ गाउँपालिकाबाट समेत राहत नपाएको उनले गुनासो गरेका छन् ।

दैलेखको नौमुले गाउँपालिकाका झन्डै दुई सय घरपरिवार गत शनिवारदेखि आकाशमुनि बस्न बाध्य छन् । आठवटै वडामा भूकम्पले भौतिक क्षति भएको नौमुले गाउँपालिकाका अध्यक्ष छवि सुवेदीले बताए । सरकारले नौमुलेलाई उपेक्षा गरेको सुवेदी बताउँछन् । उनका अनुसार पालिकामा मानवीय क्षति नभए पनि भौतिक क्षति भएको छ । भूकम्प गएको आठौँ दिन भइसक्दासमेत गाउँपालिकामा कुनै पनि निकायबाट सहयोग नपाएको पीडितहरूले गुनासो गरेका छन् । ‘यसरी हेर्दा क्षतिभन्दा जोखिम धेरै छ’ सुवदीले भने, ‘घर उभिएका मात्रै छन् । चर्किएका घर भत्किएका छैनन् भन्ने मात्रै हो ।’

समयमै उचित व्यवस्थापन हुन नसक्दा अत्यधिक चिसोका कारण भूकम्प पीडित मारमा पर्न थालेका छन् । भूकम्पले ग्रामीण बस्तीका घरहरूमा क्षति पु¥याएपछि भूकम्प पीडित घरवासविहीन बनेका हुन् ।

 

४७ हजार घर पुनर्निर्माण गरिने

यसैबीच कर्णाली प्रदेश सरकारले ४७ हजार घर पुनर्निर्माण गर्ने भएको छ । कार्तिक १७ गते राति गएको भूकम्पले क्षतिग्रस्त जाजरकोट र रूकुमपश्चिमसहितका ४७ हजार घर पुनर्निर्माण गरिने भएको हो ।

करिब ३७ हजार घरधुरी रहेको जाजरकोटका अधिकांश बस्ती भूकम्पको धक्काले कमजोर भएका छन् । तत्काल राहत पु¥याउन प्राथमिकता दिइरहेको सरकारले जाजरकोटका लागि मात्रै नभइ रूकुमपश्चिम, सल्यान, दैलेख, कालीकोट र जुम्लाका घरवास विहीनहरूको पुनस्थापना गर्ने भएको छ । अहिले चिसो मौसममा जसोतसो रात बिताइरहेकाहरूका लागि सबैभन्दा चिन्ता आफ्नो घर कसरी र कहिले बन्ला भन्ने नै छ । जाजरकोटका अधिकांश घर बस्नै नमिल्ने गरी भत्किएका छन् । संरचना निर्माण र पुनस्थापनाका लागि राजनीति नहोस् भन्ने पीडितको अपेक्षा छ ।

सरकारको प्रारम्भिक तथ्यांकअनुसार जाजरकोटमा नौ हजार सात सय ९४ घरको अस्तित्व नै छैन भने २४ हजार सात सय सात घरको पनि पुनर्निर्माण गर्नुपर्ने भएको छ । रूकुमपश्चिमा मात्रै १६ हजार सात सय ७० घर पूर्णरूपमा भत्किएका छन् भने दश हजारमा आंशिक क्षति भएको छ । दैलेख, कालीकोट, जुम्ला र सल्यानसहितका भूकम्प प्रभावित जिल्लाका गरी ४७ हजार आवासीय घरको पुनर्निर्माण गरिने प्रदेश सरकारले जनाएको छ । घर पुननिर्माणका लागि कार्यविधि निर्माण गर्न लागिएको आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए । उनका अनुसार तिहार लगत्तै अस्थायी टहरा निर्माण गरिनेछ भने दिर्घकालीन रूपमा घर पुननिर्माण गरिनेछ ।

 

प्रकाशित मितिः   २६ कार्तिक २०८०, आईतवार ०५:०५